कोहलपुर ।
बाँकेको बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि १० वटा विद्यार्थी संघ, संगठन र समूह दर्ता भएका छन् ।
चैत १८ गते हुने निर्वाचनका लागि बिहीबार १० वटा विद्यार्थी संघ, संगठन र समूह दर्ता भएका हुन् । निर्वाचन समितिको कार्यालयमा बिहीबार १० वटा संघ, संगठन र समूह दर्ता भएको निर्वाचन अधिकृत शिशिरकुमार शर्माले जानकारी दिए । उनका अनुसार मतदाताको पहिलो नामावली समेत प्रकाशन गरिएको छ ।
आज शुक्रबार बिहान १० बजेदेखि २ बजेसम्म मतदाताको नामावली उपर संशोधन तथा दाबी विरोध र साँझ ५ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिने तालिका रहेको निर्वाचन अधिकृत शर्माले बताए । चैत १० गते बिहान ११ बजेदेखि ५ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको मनोनयपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।
चैत ११ गते बिहान ११ बजेदेखि ५ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । सोही दिन निर्वाचनमा भाग लिने संघ, संगठन र समूहले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसुची पेश गर्नुपर्नेछ ।
मनोनयन दर्ता भएका उम्मेदवारको पहिलो नामावली प्रकाशन चैत १२ गते बिहान ११ बजेसम्म रहेको निर्वाचन संयोजक दानबहादुर हमालले बताए । सोही दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म उम्मेदवारउपर दाबी विरोधमा उजुरी र ३ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्रको जाँच र उजुरीउपर निर्णय गर्ने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हमालले बताए ।
चैत १३ गते बिहान ११ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने, १२ बजेदेखि ४ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने अन्तिम समय र ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । चैत १५ गतेदेखि मौन अवधि सुरु हुने संयोजक हमालको भनाइ छ ।
मौन अवधि सुरु भएदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा संघ, संगठनको पक्ष र विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न तथा नाराबाजी जस्ता कुनै प्रकारले प्रचार प्रसार गर्न नपाइने निर्वाचन समितिको कार्यालयले जनाएको छ । चैत १८ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय रहेको छ । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत बाँकेमा एउटा मात्र आंगिक क्याम्पस कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस रहेको छ ।









प्रतिक्रिया दिनुहोस्