बाँके ।
नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइराला जस्तो अडिग र दूरगामी नेता मुलुकका लागि अहिले पनि आवश्यक रहेको नेपालगन्जमा भएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा बिहीबार नेपालगन्जमा आयोजित ‘गिरिजाप्रसाद कोइराला र लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्ने काँग्रेसी नेताहरूले गिरिजाप्रसाद कोइरालाकै अगुवाइँमा मुलुकमा शान्ति स्थापना भएको बताए ।
जंगलमा रहेका माओवादीलाई राजनीतिको मूलधारमा ल्याएर मुलुकमा शान्ति स्थापना गराउन कोइरालाको भूमिका अतुलनीय रहेको वक्ताहरूले बताएका थिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल वाल्मीकिले गिरिजाप्रसाद कोइराला दूरदर्शी नेता भएको भन्दै काँग्रेसमा त्यस्तै नेताको अभाव अहिले खड्किरहेको बताए । उनले लोकतान्त्रिक जनआन्दोलनका नायक कोइरालाकै कारण मुलुकमा सशस्त्र द्वन्द्वको अन्त्य भएको स्मरणसमेत गरेका थिए ।
नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले कोइरालाले मुलुक परिवर्तनका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । मजदुरहरूको हकअधिकार दिलाउन कोइरालाकै अगुवाइँमा मजदुर आन्दोलन भएको उनले स्मरण गरे । स्ववियु निर्वाचनको प्रसंग जोड्दै सभापति गौडेलले पार्टीलाई बदनाम गर्ने, नेता तथा कार्यकर्तामाथि अमर्यादित अभिव्यक्ति दिने कार्यकर्ताको लेखाजोखा पार्टीले गर्ने चेतावती समेत दिए ।
नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले कोइरालाको अगुवाइँकै कारण मुलुकमा लोकतान्त्रिक आन्दोलन सफल भएको दोहो¥याएका थिए । उनले काँग्रेस पराजय हुने अवस्थामा पनि संविधानसभाको निर्वाचन गराएर कोइरालाले देशलाई निकास दिएको उल्लेख गरे ।
महासमिति सदस्यहरूको तर्फबाट बोल्दै लुटबहादुर खत्रीले पार्टी भित्रको अस्वस्थ प्रतिस्पर्धा रोक्न सके काँँग्रेस बलियो पार्टी बन्ने बताउँदै त्यो शिक्षा कोइरालाको त्यागबाट सिक्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाली काँग्रेसका निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, जिल्ला कार्यसमितिका पदाधिकारी, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश क्षेत्रका पदाधिकारीहरू, पालिका सभापतिहरू, वडा सभापतिहरू लगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको काँग्रेस बाँकेका प्रेस सल्लाहकार निरज गौतमले जानकारी दिए । उनका अनुसार कार्यक्रममा नेपाली कांग्रेसका शिखर पुरुष स्वर्गीय कोइराला र पूर्व सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्