कोहलपुर (बाँके) ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण सुरु भएको छ । गाउँपालिकाभरीका नागरिकलाई निस्सा वितरण गर्ने अभियान अन्तर्गत वडा नम्बर ३ मा निस्सा वितरण कार्यक्रम सुरु गरिएको हो । यसअघि बैजनाथ गाउँपालिकाले वडा नम्बर ४ मा ३० जनालाई निस्सा वितरण गरेको थियो ।
सोही कार्यक्रम वडा नम्बर ३ मा पनि सुरु भएको बैजनाथ गाउँपालिकाले जनाएको छ । वडा नम्बर ३ मा बिहीबार एक औपचारिक समारोहकाबीच निस्सा वितरण कार्यक्रम सुरु भएको वडा नम्बर ३ का वडा सचिव तिलक केसीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा ३० जनालाई निस्सा वितरण गरिएको छ ।
७ जना भूमिहीन दलित, ८ जना भूमिहीन सुकुम्बासी र १० जना अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण गरिएको वडा सचिव केसीको भनाइ छ । ‘बिहीबारदेखि निस्सा वितरण कार्यक्रम सुरु भएको छ । अब वडामा विभिन्न टोलमा गएर निस्सा वितरण गर्नेछौँ । निस्सा वितरण अभियान चैत १८ गतेसम्म सञ्चालन हुन्छ ।’ मिसन टुडेसँग कुराकानी गर्दै वडा सचिव केसीले भने ।
निस्सा वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहीले बैजनाथका सबै वडामा क्रमश निस्सा वितरण गरिने बताए । उनका अनुसार नागरिकहरूका आवश्यकता र मुद्दालाई प्राथमिकता दिँदै गाउँपालिकाले निस्सा वितरण कार्यक्रम सुरु गरेको हो । वडा नम्बर ४ र ३ मा निस्सा वितरण सुरु गरिएको भन्दै अब केही दिनमा अन्य वडामा समेत कार्यक्रम सुरु गरिने अध्यक्ष शाहीको भनाइ छ ।
‘गाउँपालिकाले नागरिकका समस्या समाधानलाई प्राथमिकतामा राखेको छ । सोही अनुसार हामीले काम पनि गरिरहेका छौँ । निस्सा वितरण कार्यक्रम सुरु भइसकेको छ । सोही अनुसार हामी वडा वडामा पुगिरहेका छौँ’ अध्यक्ष शाहीले भने ।
उक्त अवसरमा बोल्दै भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जिल्लाका अन्य पालिका भन्दा बैजनाथ गाउँपालिकामा जनमैत्री कार्य भइरहेको बताए । अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्ने निस्सा वितरण कार्यक्रम सुरु गरेको भन्दै अध्यक्ष खनालले अन्य वडामा समेत छिटो भन्दा छिटो सुरु गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष खनालका अनुसार बाँके जिल्लामा रहेको भूमि सम्बन्धीको समस्या समाधान गर्ने आयोगको मुख्य प्राथमिकता रहेको छ । वडा नम्बर ३ को कार्यालयका अनुसार वडामा २ हजार १ सय जना भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्