सोमबारदेखि नौबस्ता औद्योगिक क्षेत्रमा निर्माण सुरु गर्ने सहमती



आइतबारसम्म स्थानीयहरूलाई सम्झाइबुझाई गर्न र काम अघि बढाउन सहमत गराउन राजनीतिक दल र जनप्रतिनिधिहरूसँग आग्रह गर्दै बाँकेका सिडिओ जोशीले भने, ‘सोमबारबाट काम अघि बढ्छ । सहयोग गर्न आउन चाहनेहरूलाई पनि म गाडीको व्यवस्था गर्छु । असहयोग गर्नेहरूका लागि पनि गाडीको व्यवस्था गर्छु, पुलिसको ।’

नेपालगन्ज ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने नौबस्ता औद्योगिक क्षेत्रमा सोमबारबाट बल प्रयोग गरेर भएपनि काम अघि बढाइने भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वपक्षीय छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सोमबारबाट जसरी भएपनि काम अघि जानकारी दिएका हुन् । आइतबारसम्म स्थानीयहरूलाई सम्झाइबुझाई गर्न र काम अघि बढाउन सहमत गराउन राजनीतिक दल र जनप्रतिनिधिहरूसँग आग्रह गर्दै जोशीले भने, ‘सोमबारबाट काम अघि बढ्छ । सहयोग गर्न आउन चाहनेहरूलाई पनि म गाडीको व्यवस्था गर्छु । असहयोग गर्नेहरूका लागि पनि गाडीको व्यवस्था गर्छु, पुलिसको ।’

औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउन खोज्दा अवरोध हुनेक्रम नरोकिएपछि निकास खोज्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओली बाँके आएर सर्वपक्षीय बैठकको आयोजना गरेका थिए ।

उक्त कार्यक्रममा बाँकेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवं जनप्रतिनिधि, सम्बद्ध सरोकारवाला तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । सहभागीहरूले औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउन ऐक्यबद्धता जनाएका थिए । तर, बैठकहरूमा सहमति गरेपनि फिल्डमा काम अघि बढाउन खोज्दा राजनीतिक दलकै कार्यकर्ताहरूको अवरोध हुने गरेको महाप्रवन्धक ओलीले बताएका थिए । उनले छलफलमा प्रश्न गरे, ‘मलाईँ काम गर्न दिने कि नाई ? हुन त दिन्छौँ, कसले रोकेको छ भनिहाल्नुहुन्छ । यहाँहरूको उपस्थितिमा त्यहाँ काम गर्ने वातावरण हुन्छ कि हुँदैन ?’

ओलीले पनि सोमबारसम्म पर्खिने र त्यसपछि औद्योगिक क्षेत्रसम्म पहुँच सडक निर्माणको काम अघि बढाउने भएकाले साथ दिन राजनीतिक दलहरूसँग आग्रह गरे । कार्यक्रममा बोल्दै औद्योगिक क्षेत्र पर्ने बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले जनतालाई सहमत नगराई बल प्रयोग गराउँदा असहज स्थिति आउन सक्ने भन्दै केही दिन समय दिनुपर्ने बताएका थिए । उनले ५५ दशमलव ६ बिगाह जग्गा नेपाल सरकारको नाममा ल्याउने काम पहिला गरेपछि काम अघि बढाउन सहज हुने बताएका थिए । हाल स्थानीयहरू बसिरहेको उक्त जमिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नामबाट सरकारको नाममा नामसारी गर्नुपर्ने माग रहेको उनले बताए ।

यता औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हाललाई औद्योगिक क्षेत्रको जमिनमा बसेको बस्तीलाई नचलाएर बाँकी भागमा सडक निर्माण गर्ने, निर्माण स्थल सम्याउने र तारजाली गर्ने काम अघि बढाउने लिखितरूपमा प्रतिबद्धता जनाएको छ । उक्त प्रतिबद्धताअनुसार काम अघि बढाउने विषयमा पछिल्लोपटक २०८१ कात्तिक ९ गते बाँकेका सरोकारवालाहरूको सर्वपक्षीय भेलाबाटै सहमति भएको विषयमा प्रजिअ जोशीले ध्यानाकर्षण गराएका थिए । ‘सडक निर्माणले बस्ती र औद्योगिक क्षेत्रको जमिन पनि छुटिन्छ । बस्ती नचलाउने भनेर लिखितरूपमा नै दिएको छ । अब ढिलो गर्न हुँदैन । बरु मेरो जागिर जान्छ, काम अघि बढाउने प्रयास चाहीँ गर्छु । त्यसमा साथ दिनुहोस्,’ उनले भने ।

काम अघि बढाउने विषयमा सहभागी सबै राजनीतिक दलमा प्रतिनिधिहरूले सहमती व्यक्त गरेका थिए । तर, स्थानीयहरूको मागमा पनि ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो । प्रजिअ जोशीले सोमबारबाट काम अघि बढाउने विषयमा सहभागिहरूले आपत्ति जनाएनन् । तर, गाउँपालिका अध्यक्षको भनाइले स्थानीय तहले काम अघि बढाउन सहयोग गर्नेमा आशंका भने उत्पन्न भएको छ । पहिले जग्गाको विवाद मिलाउन प्रयास गरेपछि मात्रै काम अघि बढाउनुपर्ने उनको आशय थियो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरन्जिवी ओलीले औद्योगिक क्षेत्रको विकल्प खोजिन लागेको भनेर समाचार आएपछि नेपालगन्ज तरंगित भएको बताए । तर, उनले १० वर्षसम्म काम नहुनुको जवाफ पनि दिनुपर्ने बताए । उनले कुनैपनि हालतमा औद्योगिक क्षेत्र बन्नुपर्ने बताउँदै काम अघि बढाउन आग्रह गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरू रत्न खत्री, भण्डारीलाल यादव, मिना श्रेष्ठ लगायत समेत सहभागी थिए । निर्माणको काम अघि बढाउन खोज्दा हुने अवरोध नरोकिएपछि नौबस्ता औद्योगिक क्षेत्रको भविष्य अनिश्चित बनेको छ । स्थानीयको अवरोध यथावत रहे नौबस्ताको विकल्पतर्फ सरकारले सोचिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक पदम ओलीले खुलासा गरिसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ८ गते शुक्रबार