शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
नेपालको राष्ट्रिय जनावर हो गाई । नेपाली समाजमा विभिन्न देवीदेवताको वाहनको रूपमा विभिन्न जनावरलाई पुज्ने प्रचलन छ । तिहारमा त काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्नेसमेत गरिन्छ । अझ हिन्दू धर्ममा गाईलाई गौमाताको रूपमा श्रद्धापूर्वक पूजा गरिँदै आइएको छ । तर पछिल्लो समय पूजा गरिने गाईको संरक्षण हुन सकेको छैन् । अझ पछिल्लो समय गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्ति नै मौलाएको छ । राष्ट्रिय जनावरको रूपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रूर हुन थालेको छ ।
त्यसको पछिल्लो दृष्टान्तका रूपमा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा घटेको एक घटनालाई लिन सकिन्छ । घटना हो, शनिबार अर्थात् चैत २ गते दिउँसोको । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको केही समयमै भाइरल हुन पुगेको भिडिओ निकै मर्मस्पर्शी छ । उक्त भिडिओ सबैभन्दा पहिलो पोष्ट गरेका हुन्, बाजुराका पत्रकार धनबहादुर बिसीले । फेसबुकमा अपलोड गरिएको ४ मिनेट ५३ सेकेण्डको भिडिओमा कालो रङको गाईलाई निमर्मतापूवर्क कुटेर कर्णाली नदी कटाइएको छ । पत्रकार बिसीले भिडिओको क्याप्सन लेखेका छन्, ‘यस्ता कुसंस्कार हाम्रा गाउँघरमा जस्ताका त्यस्तै छन् । गौदान गर्दा गाईलाई यसरी कुटी कुटी, हिर्काइ, हप्काइ, तर्साइ नदी कटाउँछन् ।’
अब भिडिओ बारे जानौँ,
भिडिओ बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ छाप्रे गाउँको हो । वडा नम्बर ६ का साउने सार्कीको मृत्यु भएको थियो । उक्त गाई सार्कीको घरमा पालिएको थियो । उनको मृत्युपछि गौदान गर्ने संस्कृति अनुसार कर्णाली नदीमा पार गर्न लागिएको बेला खिचिएको भिडिओ हो । जहाँ उक्त गाईलाई नदी कटाउन केही दर्जन मानिसहरूले निकै बलमिच्याइ गरेको देखिन्छ । निकै आत्तिएको गाई नदी पार गर्न मानिरहेको छैन । तर मानिसहरू ढुंगाले हान्दै, डोरीले हान्दै गरेको देखिन्छ ।
गाई कालो रङको छ । गाई नदीमा जान नै डराएको देखिन्छ । डराइरहेको गाईलाई उनीहरू जबरजस्ती नदी कटाउने मुडमा देखिन्छन् । उनीहरूले निरन्तर पीडा दिएपछि गाई नदीको बीच भागमा जान्छ । अबोध गाई फेरी किनारतिरै फर्किन्छ । उनीहरू त्यसैगरी कुट्न लखेट्न सुरु गर्छन् । गाई फेरी नदीको बीचमा जान्छ, किनारतिरै फर्किन्छ । भिडिओ हेर्ने जो सुकैलाई अत्यास लाग्छ । निकै क्रूर भिडिओले मानिसको मनै रुवाउँछ । भिडिओ सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि पक्ष र विपक्षमा बहस भइरहेका छन् । पशुअधिकारकर्मीले दोषीमाथि कारबाही हुनुपर्ने माग गरिरहेका छन् । आफ्नै पालिकामा भएको यस्तो क्रूर घटनापछि स्थानीय सरकार र सुरक्षा निकायले यस विषयमा चासो दिएको देखिन्छ ।
मिसन टुडेसँगको कुराकानीमा गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाही आफूले पनि भिडिओ हेरेको र भिडिओमा गाईमाथि ज्यादती भएको बताउँछन् । भिडिओ हेर्दा नदी कटाउन कै लागि उनीहरूले त्यस्तो व्यवहार नगरेको भए हुने जस्तो आफूलाई लागेको बताए । घटना नराम्रो भएको र यस्ता विषयमा सबैले ध्यान दिन आवश्यक रहेको अध्यक्ष शाहीले बताए । यस्तो चलन बीचमा रोकिएको भएपनि अहिले फेरी सुरु भएको उनको भनाइ छ । उक्त घटना घटेको वडाका वडाअध्यक्ष धनबहादुर सार्कीले पनि गाईलाई ढुंगाले हान्दै लखेट्दै गरेको देखेको बताए । उनका अनुसार गौदान यहाँको चलन नै हो । यस्ता प्रकारका कुरीति र कुसंस्कारहरू स्थानीय सरकारले रोक्ने प्रयास गरिरहेको वडाअध्यक्ष सार्कीले बताए । शिक्षाको कमी र अन्धविश्वासका कारण यस्ता कार्य रोक्ने प्रयास गर्दा स्थानीय आफूहरूमाथि आइलाग्ने गरेको उनले बताए ।
भिडिओ पोष्ट गर्ने पत्रकार बिसीले आफ्नो गाउँ ठाउँमा सामाजिक विकृति तमाम रहेको बताएका छन् । गाउँमा छाउपडी प्रथा, छुवाछुत प्रथा, धामीझाँक्री, बोक्सी, कप्टिनी जस्ता समाजका जटिल अन्धविश्वास अहिलेपनि विद्यामान रहेको पत्रकार बिसीको भनाइ छ । गाउँलेहरूले लखेटेको गाई भने सोही दिनको साँझ स्वर्गीय सार्कीको घरमा आइपुगेको स्थानीयले बताएका छन् । घटनापछि बाजुरा प्रहरी र जिल्ला प्रशासन कार्यालय बाजुराले घटनामा सलंग्नहरूलाई निगरानीमा समेत राखेको थियो ।
बाजुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीपकुमार गिरीले घटनापछि प्रहरीले गाईको खोजी गरेर पत्ता लगाएको बताएका छन् । उनका अनुसार उक्त गाईलाई प्रहरी र गाउँलेहरूको रोहवरमा अर्को व्यक्तिलाई पाल्ने जिम्मा दिइएको छ । प्रहरी नै उपस्थित भएर बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्री गाउँका प्रजन सार्कीलाई गाई पाल्ने गरी जिम्मा लगाइएको उनले बताए । हामीले गाईको खोज तलास ग¥यौँ । गाईलाई त्यस्तो गम्भीर चोट पटक देखिएन । त्यही भएर प्रहरीले सल्लाह गरी स्थानीय एक परिवारलाई पाल्ने गरी जिम्मा लगाइएको हो,’ डीएसपी गिरीले भने ।
प्रतिक्रिया दिनुहोस्