धनगढीमा नाली अतिक्रमणमा विभेद : खोलामा नपरेको संरचनालाई हटाउन उपमहानगरको पत्र



शेरबहादुर ऐर । कैलाली ।

खोला किनारमा ठुलठुला बाँस तथा विभिन्न प्रजातिका बोटविरुवाहरू छन् । त्यसैको छेउमा व्यक्तिले पक्की घर बनाई वर्षौँदेखि बस्दै आएकी छिन् । अहिले सोही घरलाई भत्काउन भनी धनगढी उपमहानगरपालिकाले पत्राचार गरेको छ । दृश्य हो धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा बस्दै आएकी स्थानीय चम्पा हमालको निवास ।

धनगढीले उनले निर्माण गरेको घरजग्गा खोलामा परेको भन्दै फागुन ९ गते घर भत्काउन भनी ३५ दिने सूचनासहितको पत्र बुझाएको छ । कैलाली खोलाको किनारमा थुप्रैका संरचना छन् । अधिकांशले सोही खोला अतिक्रमण गरी संरचना निर्माण गरेका छन् । तर, धनगढीले बनाएको मापदण्डका आधारमा नालीको भाग छोडेर उनले निर्माण गरेको घर भत्काउन भन्दा उनी चिन्तित छिन् । उनले भनिन्, ‘मैले खोला कुनै मिचेको छैन् । बरु जसले मिचेका छन् । तिनीहरूलाई भत्काउन भनी पत्र दिइएको छैन् । म बस्दै आएको घरको आधाभन्दा बढी खोलामा पर्छ भन्दै पत्र पठाएको छ । मैले यो घर भत्कायो भने कहाँ गएर बस्ने होला ?’

दुई छोरा, तीन नातिनातिनासहित उनी सो घरमा बस्दै आएका छिन् । ‘अहिले घर बनाउन पनि पैसा छैन् । भत्काउन पनि रकम छैन् । खोलामा मेरो संरचना पर्दैन । तर, मेरो घरको केही भाग ऐलानीमा पर्छ । अहिले धनगढीले त्यो भाग खोलामा पर्ने भन्दै भत्काउन पत्र दिएको छ । एउटा टहरा बनाउन पनि लाखौँ खर्च हुन्छ । अब कहाँबाट घर भत्काउने हो र कसरी छोरा तथा नातिनातिनालाई बासको व्यवस्थापन गर्ने होला ? धनगढीले मलाईनै उठिबास गराउने कार्य गरेको छ । हामी धनगढीको विकासमा सहयोग गर्छौँ तर, समय त दिनुप¥यो ।’ उनले भनिन् ।

धनगढीको भवन निर्माण तथा मापदण्ड २०७४ ले नालाको दश मिटर छोडेरमात्र स्थायी संरचना निर्माण गर्न स्वीकृति दिने व्यवस्था गरेको छ । सो अनुसारनै उनको संरचना दुरी कायम गरेर बनाइएको छ । तर, खोला अतिक्रमण गरी बनाइएका अन्य व्यक्तिका संरचना भने हटाउन सुरसार गरेको छैन् । सो वडामा सबैभन्दा नदी साँघुरो हुने गरी संरचना बनेको छ स्थानीय तेजबहादुर खड्काको । तर, उनलाई कुनै पत्र दिइएको छैन् । नगर प्रमुख गोपाल हमाल निकट उनको संरचनालाई नम्बरी जग्गा भन्दै खोला अतिक्रमणलाई बढावा दिने काम गरिएको छ । धनगढीले जग्गा नम्बरी भन्दै उनको संरचना भत्काउनमा सुरसार गरेको छैन् ।

धनगढीले खोला किनारमा रहेको सार्वजनिक जग्गामा आवश्यकता अनुसार हरियाली विकास साथै सडक तथा फुटपाथ निर्माण कार्य गर्ने भन्दै उनी बसेको घरलाई भत्काउन भनेको छ । सोही खोला किनारमा रहेका अन्य कुनै पनि व्यक्तिलाई धनगढीले संरचना भत्काउन भनी पत्र दिएको छैन । आफूलाई मात्र पत्र दिएपछि धनगढीले कुन मापदण्डका आधारमा आफ्नो घर भत्काउन भनेको र अन्यलाई नदिनुको कारणबार अनविज्ञ छिन् ।

‘खोला नालाको अधिकार क्षेत्र अतिक्रमण गरी पानीको बहाव रोकिने गरी निर्माण गरिएका भौतिक संरचनाहरू हटाइ पानीको बहावलाई यथावत कायम राख्ने र खोला किनारका सार्वजनिक जग्गाहरूमा आवश्यकता अनुसार हरियाली विकासका साथै सडक तथा फुटपाथ निर्माण कार्य गर्ने भन्ने उपमहानगरपालिकाको योजना रहेको छ’ धनगढीले उनलाई दिएको पत्रमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा कुनै पनि भौतिक संरचनाहरू निर्माण गर्दा सार्वजनिक जग्गा, बाटो, कुलो, मन्दिर, चोक, ढल, नाला, पोखरी आदि मिच्न नपाइने भन्ने व्यवस्था रहेकोले तपाइले अटेर गरी वा जानाजान संरचना निर्माण कार्य गरिसक्नु भएकोले उक्त निर्माण संरचना ३५ दिनभित्र भत्काई कुलोको क्षेत्राधिकार खालि गर्नुहोला ।’

धनगढीले चम्पालाईमात्र पत्र दिएपछि स्थानीयहरू पनि आक्रोशित छन् । स्थानीय इश्वर पालीले खोलामा नरहेको घरलाई भत्काउन भन्दा आक्रोशित देखिन्थे । उनले भने, ‘यो खोलामा थुप्रैले अतिक्रमण गरेर संरचना बनाएका छन् । तर, जसले खोलाको छेउसमेत छोएको छैन् । तीनकै घर भत्काउन भनेर पत्राचार गरेको छ । धनगढीले खोलाको मापदण्ड बनाएको छ ।

सो अनुसार यीनका संरचना खोलाको भागबाट टाढा रहेको छ ।’ उनले धनगढीले योजना अघि बढाउँदा सबै क्षेत्रमा एक प्रवृतिको व्यवहार गर्नुपर्ने बताए । उनले भने, ‘हरियाली विकास यही घरबाट मात्र गर्ने हो र ? योजना अघि बढाउनु छैन् । कोही व्यक्तिको घर भत्काउन सुरु गरेको छैन् । यिनको संरचना मात्र भत्काउन पत्र दिँदा धनगढीले उनीमाथि अन्याय गरेको छ । हामी यहाँ डोजर चलाउन दिँदैनौँ । धनगढीको डोजर यो खोलामा पस्न दिँदैनौँ ।’

स्थानीय डम्मर महताले सुरुवात बिन्दुबाटै अतिक्रमण हटाउन धनगढीले कार्य गर्नुपर्ने सुझाव दिए । उनले धनगढीले टोलभरीकै खोला अतिक्रमण भइ बनेका संरचना हटाउनुपर्ने बताए । उनले भने, ‘एकै उनलाई मात्र धनगढीले संरचना भत्काउन भनेको छ । यो त सरासर पूर्वाग्राही ढंगले धनगढीले उनको संरचना भत्काउन तम्सिएको देखिन्छ ।’

धनगढी नगर प्रमुख हमालले आफू निकटका व्यक्तिहरूले खोला अतिक्रमण गरी संरचना निर्माण गरेको भएपनि नम्बरी जग्गा भन्दै संरचना नभत्काउने र झन संरचना बचाउन तटबन्धन गरिदिने जस्ता कार्य गरिरहेका छन् । जसको ज्वलन्त उदाहरण नेकपा एमाले नेता धिमलाल जोशी, उनी समर्थक निरज थापाले बनाएको संरचना, पदम भट्टको जग्गा र तेज खडकाले खोला अतिक्रमण गरी बनाएका संरचनाले देखाउँछन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित धिमलाल जोशीले नाला अतिक्रमण गरि बनाएको संरचनाको संरक्षण गर्न उपमहानगरपालिकाले तटबन्धन गर्न लाग्दा स्थानीयहरूले रोकेका थिए । नाला अतिक्रमण हटाउने नाममा सो समयमा सो नाला वरपर रहेका बोटविरुवा, रूख, बाँसका झाडी र कटान रोक्न निर्माण गरिएको तटबन्धनमा डोजर चलाएर विनास गरिएको थियो ।

धनगढीको भवन निर्माण तथा मापदण्ड २०७४ ले ‘नदी वा मुख्य कुलोसँग जोडिएको जग्गामा निर्माणको लागि नदीमा ५० मिटर, नालामा १० मिटर, मुख्य कुलो ५ मिटर र कुलोमा दुई मिटर किनारदेखि दुरी छोडेरमात्र स्थायी निर्माण गर्न स्वीकृति दिइने’ उल्लेख छ । तर, धनगढी उपमहानगरपालिकाले सो नियम विपरीत कसैलाई संरक्षण त, कसैलाई घरबारविहीन हुने गरी डोजर चलाइरहेको छ । धनगढीले अतिक्रमण गर्ने व्यक्ति र संस्थालाई सार्वजनिक क्षेत्र खाली गर्न सूचना जारी गर्ने गरेको छ ।

सो आधारमा कतै डोजर चलाएर संरचना भत्काउने गरेको छ भने कतै केही नगरी चुपचाप बस्ने गरेको छ । धनगढी–४ को ठाकुर एग्रो इन्डष्ट्रीले नाला अतिक्रमण गरेको भन्दै डोजर चलायो तर, सो नालाको न त सुरुवात बिन्दु खोल्यो न त अन्तिम बिन्दुसम्म पु¥यायो । उपमहानगरपालिकाले नाला भन्दै ठाकुर एग्रोमा मंसिर १० गते डोजर लगाएको थियो । खोलानाला अतिक्रमण जुनसुकै अवस्थामा हटाउने बताउँदै आएको उपमहानगरपालिकाले न त पूर्ण रूपमा खोला अतिक्रमण हटाउन सकेको छ न त यकिन तथ्यांकनै राख्न सकेको छ । उपमहानगरपालिका इन्जिनियर द्धिजराज भट्टले उपमहानगरपालिकाका १९ वडाको खोलानालामा कति संरचना पर्छन् भन्ने अध्ययन भइरहेको बताए ।

मंसिर १० गते ठाकुरमा नाला खोल्न डोजर चलाएको धनगढीले तीन महिना बढी भइसक्दासमेत सो नालीभित्र परेका अन्य संरचनाहरू हटाउन सकेको छैन् । पूर्ण रूपमा अतिक्रमण हट्न नसकेको सुकुटी नालामा उपमहानगरपालिकाले अहिले पिल्लर गाड्ने काम गरिरहेको छ । तर, नाला अतिक्रमण गरेर निर्माण भएको एकीकृत समाजवादी पार्टीको भवन, आमाको माया छात्रावास लगायत नगर प्रमुख हमाल निकटका व्यक्तिहरूको संरचना नहटाई संरक्षण गर्ने कार्य भइरहेको स्थानीयहरू बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ५ गते मंगलबार