लिमीमा एचपिभी खोप पु¥याउन सकस



हुम्ला ।

हुम्लाको लिमीमा एचपिभी खोप पुु¥याउन सकस भएको छ । लिमी जाने दुई वटै नाका हिमपातका कारण बन्द भएपछि भ्याक्सिन पु¥याउन सकस परेको हो । ४ हजार ६७० मिटर अग्लो नारालेक र ५ हजार मिटर अग्लो न्यालुलेकमा बाक्लो हिमपातले आउजाउ नै बन्द भएकाले खोप अभियान सञ्चालन हुन नसकेको हो ।

जसले गर्दा लिमीका किशोरीहरू समयमै एचपिभी खोपबाट वञ्चित भएका छन् । सरकारले देशैभरका किशोरीहरूमा खोप लगाउने गरी अभियान सञ्चालन गरेपनि यहाँ खोप लगाउन सकिएको छैन् । नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँमा राष्ट्रिय अभियानका रूपमा सञ्चालन भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपिभी) सञ्चालन हुन सकेको छैन् ।

स्वास्थ्य सेवा कार्यालयका खोप कार्यक्रमका सम्पर्क व्यक्ति प्रेम पाण्डेले भ्याक्सिन ढुवानी गर्न नसकिने भएकोले लिमीमा खोप अभियान प्रभावित भएको बताए । तर जिल्लाभर अन्य ठाउँमा खोप अभियान सञ्चालन भएको उनले बताए ।
‘लिमी जाने दुवै नाका बन्द रहेको कारण स्वास्थ्यकर्मी लिमी मै भएको भएपनि भ्याक्सिन ढुवानी गर्न नसकिएको अवस्थाले खोप अभियान सञ्चालन गर्न नसकिएको हो’ उनले भने, ‘तर लिमीका लागि भ्याक्सिन भने गाउँपालिका स्वास्थ्य शाखाले कार्यालयबाट बुझेर लगि सकेको छ ।’

लिमीको सुनखानी आधारभूत विद्यालय हिउँदभर सञ्चालनमा रहेको थियो । उक्त विद्यालयमा कक्षा छ देखि आठसम्म अध्ययन गर्ने किशोरीहरू ६ जना मात्रै रहेको र विद्यालय बाहिरका दशदेखि चौध वर्ष उमेर समूहका किशोरीहरू लिमीमा नरहेको विद्यालयका शिक्षक विकल तामाङले बताए । अब लिमीमा आगामी २०८२ सालको बैशाख महिनामा एचपिभी खोप लगाउने तालिका रहेको कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ५ गते मंगलबार