कोहलपुर (बाँके) ।
नेपाल पिक्चर लाईब्रेरीको आयोजनामा ‘सार्वजनिक जीवनमा महिला : महिलावादी स्मृतिको एक पहल’ दोस्रो चरणको फोटो प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ । महिलाको सार्वजनिक जीवनमा सहभागिता र संघर्षलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी चैत्र भोलि र पर्सीसमेत नेपालगन्जको रामलिला मैदानमा सञ्चालन हुनेछ ।
प्रदर्शनीमा इतिहासमा सार्वजनिक जीवनमा भूमिका खेलेका महिलाहरू समावेश गरिएको छ । यो प्रदर्शनीमा नेपालका विभिन्न समुदायका महिलाको ऐतिहासिक योगदान, राजनीतिक भूमिका, मौखिक इतिहास, सामाजिक आन्दोलन र महिला सशक्तीकरणका महत्वपूर्ण पक्षहरूलाई चित्रण गरिएको छ ।
नेपाल पिक्चर लाइब्रेरीका सहसंस्थापक नयनतारा गुरुङ कक्षपतिका अनुसार सबै नागरिकहरूको सहज पहुँच पुगोस् भन्ने हेतुले खुला मैदानमा प्रदर्शनी आयोजना गरिएको हो । २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट सुरु भएको परियोजनाबाट संकलित फोटोहरू प्रदर्शनीमा राखिएको छ ।
यसअघि उक्त प्रदर्शनी काठमाडौँ, वीरगंज, जनकपुर र सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भईसकेको छ । दोस्रो चरण अन्तर्गत बाँकेको नेपालगन्जमा फोटो प्रदर्शनी सुरु भएको हो । यसअघि देशबाहिर नयाँ दिल्ली (भारत), कोची (भारत), इस्तानबुल (टर्की), सिंगापुर र ब्रेडा (नेदरल्याण्ड) लगायतका स्थानहरूमा पनि प्रदर्शनी गरिसकेको लाइब्रेरीले जनाएको छ ।
फोटो सर्कलकी सम्झना नेपालीले फोटोमा कुल ५७ वटा फोटो समावेश गरिएको बताइन् । उनका अनुसार पाँच वटा च्याप्टरमा फोटो समावेश गरिएको छ । जनता माझ महिला, टुकी मुनीको उज्यालोमा पढ्दै, महिलाका रचना, महिलाका लागि महिला र संसार डुल्दा थीममा फोटो प्रदर्शन गरिएको छ । फोटो प्रदर्शनीमा सहभागी साहित्यकार तथा प्राज्ञ सनत रेग्मीले प्रदर्शनीले नेपालका महिलाहरूले गरेका योगदान बारे महत्वपूर्ण जानकारी दिइएको बताए ।
उनका अनुसार यस्ता प्रकारका प्रदर्शनीमा नेपालगन्जका महिलाहरूले गरेका योगदानसमेत समेट्न जरुरी छ । यस्तै लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठले नेपालको इतिहासमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले देशको व्यवस्था परिवर्तनदेखि शिक्षा, स्वास्थ्य, राजनीति र सामाजिक क्षेत्रमा ठूलो योगदान दिएको बताएकी थिइन् ।
प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्वलाई स्थापित गर्ने अपेक्षा गरिएको नेपाल पिक्चर लाईब्रेरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्