कर्णाली खाद्यान्नमा पनि परनिर्भर



प्रदेश सरकार स्थापना भएदेखि कृषिमा अर्बौँ रकम लगानी भएको छ । तर कर्णालीको कृषि उत्पादन वृद्धि भने हुन सकेको छैन । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले तयार पारेको १० वर्षे कृषि रणनीतिमा उल्लेख गरिए अनुसार कर्णालीको कुल उपभोग्य खाद्यान्न यहाँको जनसङ्ख्यालाई अपुग छ ।नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेश खाद्यान्नमा पनि परनिर्भर रहेको छ । यहाँ वार्षिक २३ हजार ४३४ मेट्रिकटन खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीमा उत्पादित विभिन्न वस्तुु बिक्रीबाट कमाएको रकम स्थानीयले फेरी चामल, दाल, तरकारी, तेल लगायतका मसला तथा खाद्यान्न खरिदमै खर्च गर्दै आएका छन् । उत्पादन गर्ने किसानको हकमा खाद्यान्न खरिद बिक्री गर्दा आर्थिक रूपमा बराबर मात्रामा आएपनि अन्य जनसङ्ख्याले खाद्यान्न खरिद गरेरै खानुुपर्ने बाध्यता छ ।

प्रदेश सरकार स्थापना भएदेखि कृषिमा अर्बौँ रकम लगानी भएको छ । तर कर्णालीको कृषि उत्पादन वृद्धि भने हुन सकेको छैन । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले तयार पारेको १० वर्षे कृषि रणनीतिमा उल्लेख गरिए अनुसार कर्णालीको कुल उपभोग्य खाद्यान्न यहाँको जनसङ्ख्यालाई अपुग छ । प्रदेशको कुल उपभोग्य खाद्यान्न ३ लाख २० हजार ८९० मेट्रिक टन छ । तर जनसङ्ख्याको आधारमा ३ लाख ४४ हजार ३२४ मेट्रिक टन खाद्यान्नको आवश्यकता पर्छ । यसरी हेर्दा वार्षिक रूपमा २३ हजार ४३४ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको मन्त्रालयले जनाएको छ ।

विशेषगरी प्रदेशका सल्यान, दैलेख र सुर्खेतमा किसान खाद्यान्नमा आत्मनिर्भर रहेपनि बाँकी सात वटै जिल्लामा उत्पादन गर्ने किसान समेत खाद्यान्नमा आत्मनिर्भर छैनन् । तथ्याङ्क अनुसार कर्णालीका ३ लाख ५५ हजार २५५ कुल परिवार (घरधुरी) मध्ये ३ लाख २ हजार ६४० परिवार पूर्ण रूपमा कृषि पेसामा आबद्ध छन् । तर आधाभन्दा बढी अर्थात् ६९.५ प्रतिशत परिवारलाई आफ्नो कृषि उत्पादनले खान पुग्दैन ।

तथ्यांक अनुुसार सबैभन्दा बढि डोल्पा जिल्लामा खाद्यान्न अभाव छ । जहाँ ८६ प्रतिशत नागरिक खाद्य असुुरक्षामा छन् । त्यसपछि कालीकोटमा ७९ प्रतिशत, दैलेखमा ७८, हुम्ला ७३, रूकुम पश्चिम ७२, मुुगुु ७१, जाजरकोट ६९, सल्यान ६७, जुुम्ला ६५ र सुर्खेतमा ५६ प्रतिशित नागरिक खाद्यान्नमा असुरक्षित छन् ।

मन्त्रालयका अनुसार कर्णालीको कृषि उत्पादनबाट प्रतिव्यक्ति प्रतिवर्ष उपलब्धतालाई दृष्टिगत गर्दा खाद्यान्न १९८.३२ किलोग्राम, दलहन १३.११ किलोग्राम, तरकारी ८७.२८ किलोग्राम, आलु १२८.८९ किलोग्राम, फलफूल ४९.२५ किलोग्राम, मासु १४.८ किलोग्राम, दुध ६९.३२ लिटर र अण्डा १८ वटा छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले प्रतिव्यक्ति १२ किलोग्राम माछा, १४ किलोग्राम मासु, ९१ लिटर दुध र ४८ वटा अण्डा वार्षिक न्यूनतम आवश्यकता पर्छ भनेको छ । तर सो अनुसार कर्णालीमा सबै नागरिकले उपभोग गर्न पाएका छैनन् ।

कर्णालीको कुल क्षेत्रफल ३० लाख २० हजार ९०० हेक्टरमध्ये ९.५२ प्रतिशत भूभाग मात्र खेतीयोग्य छ । त्यसको ६९.७१ प्रतिशत क्षेत्रफल कृषि कार्यमा उपयोग गरिएको छ । भने ३०.२९ प्रतिशत बाँझो रहेको पाइएको छ । कर्णाली सरकारका कृषिमन्त्री विनोदकुुमार शाहका अनुसार प्रदेशमा खेतीयोग्य जमिन बाँझो रहनुको प्रमुख कारण सिँचाइ अभाव हो ।
तथ्याङ्क अनुसार कृषि कार्यमा उपयोग भएको जमिनमध्ये जम्मा १९.०६ प्रतिशत अर्थात् ३८ हजार २३३ हेक्टरमा मात्र वर्षभरि सिँचाइ सुविधा पुगेको छ । १५.१६ प्रतिशत अर्थात् ३० हजार ४०७ हेक्टरमा मौसमी सिँचाइ गरी ३४.२२ प्रतिशतमा मात्रै सिँचाइ सुविधा छ ।

जिल्लागत रूपमा हेर्दा जुम्लामा खेती गरिएको जमिनको ८.६३ प्रतिशतदेखि कालीकोटमा ४३.६४ प्रतिशतसम्म सिञ्चित जमिन छ । अधिकांश सिँचाइको स्रोतमध्ये खोलाबाट कुलो तथा नहर बनाएर सिँचाइ गरिएको छ । कृषि रणनीतिमा कर्णालीमा केही क्षेत्रफलमा बाँध, पोखरी र अन्य स्रोतबाट पनि सिँचाइ गर्ने गरिएको उल्लेख छ । यहाँ विशेष गरी कर्णाली, भेरी, हिमा, तिला, बबई, पराजुल खोला, शारदा, लुहाम खोला लगायतका नदी तथा खोला भए पनि यी नदीनालाको पानी खेतीका लागि समुचित उपयोग हुन सकेको छैन् ।

यस्तो छ, उत्पादनको सम्भावना 

कृषिमन्त्री शाहका अनुसार कर्णालीको भूगोलमा विद्यमान हिमाली, पहाडी र भित्री मधेस क्षेत्रमा विविध प्रकारका खाद्यान्न, दलहन, तेलहन, मसलाबाली, फलफूल, तरकारी, नगदेबाली र रैथानेबालीहरूको उत्पादनको राम्रो सम्भावना छ ।
सिँचाइ सुविधाको विस्तार, गुणस्तरीय कृषि सामग्रीहरूको उपलब्धता र उन्नत कृषि प्रविधिको उपयोगबाट उत्पादकत्व बढाउन सकिने सम्भावना रहेको उनले बताए ।

त्यसका लागि प्रदेश सरकारले रणनीतिक योजना बनाइरहेको छ । कुल खेती गरिएको जमिनमध्ये धान, मकै, गहुँ, फापर, कोदो र जौ बालीहरू लगाइएको क्षेत्रफल २ लाख ३० हजार २९९ हेक्टर छ । गत वर्ष उक्त हेक्टरमा ५ लाख ५२ हजार ९३० मेट्रिक टन उत्पादन थियो । प्रमुख खाद्यान्न बालीहरू धान, मकै र गहुँको राष्ट्रिय औसत उत्पादकत्वको तुलनामा कर्णालीको औसत उत्पादकत्व कम रहेको छ । सबैभन्दा बढी मकैको खेती गरिन्छ भने त्यसपछि गहुँ र धान खेती गरिन्छ । मकैको क्षेत्रफल ८६ हजार २५३ हेक्टर, गहुँ ७२ हजार १६९ हेक्टर र धान ४१ हजार ९०४ हेक्टर छ ।

नेपालको कुल अन्नबालीको क्षेत्रफलमा कर्णालीको हिस्सा ६.८८ प्रतिशत छ । भने उत्पादनको हिस्सा ५.०६ प्रतिशत छ । अन्नबालीको राष्ट्रिय औसत उत्पादकत्व ३.२६ मेट्रिक टन प्रतिहेक्टर छ । भने कर्णालीको औसत उत्पादकत्व २.४० मेट्रिक टन प्रतिहेक्टर छ । विगत २० वर्षको प्रवृति हेर्दा पनि क्षेत्रफलको आधारमा मकै, गहुँ र धान मुख्य अन्नबालीको रूपमा छन् । मकै र गहुँको क्षेत्रफलमा हालसालैका वर्षमा केही वृद्धि भएको देखिन्छ भने धानको क्षेत्रफलमा खासै फरक नआएको रणनीतिक प्रतिवेदनले देखाउँछ ।

कर्णाली प्रदेश स्थापना भएयता ७ आर्थिक वर्षमा मात्रै कृषि क्षेत्रका लागि १९ अर्ब २ करोड १६ लाखभन्दा बढी रकम खर्च भएको छ । यो प्रदेश सरकारले खर्च गरेको रकममात्रै हो । स्थानीय र केन्द्र सरकारबाट पनि कृषिमा थुप्रै लगानी भइरहेको छ । तर कृषि क्षेत्रमा रुपान्तरण भने आउन सकेको छैन् ।

कृषि प्रणाली परम्परागत र निर्वाहमुखी मात्र भएकाले प्रतिस्पर्धात्मक र व्यावसायिक रूपमा सशक्त हुन नसकेको हो । पछिल्लो समय किसानको जीवनस्तर सुधार्ने, आर्थिक वृद्धिलाई गति दिने र खाद्य सम्प्रभुता उन्मुख आत्मनिर्भरता हासिल गर्ने गरी प्रदेशले काम गर्न खोजेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ५ गते मंगलबार