१३ सयभन्दा बढीको निःशुल्क स्वास्थ्य चेकजाँच



कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ साझा चोकस्थित सहकारी संस्था लिमिटेड (साझा)ले ‘सहकारीमा सुशासनः प्रविधि र एकिकरण’ भन्ने मूल नाराका साथ गत फागुन २१ गतेदेखि सुरु गरेको निःशुल्क स्वास्थ्य शिविरमा तेह्र सयभन्दा बढी सर्वसाधारण नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गराएका छन् ।

साझाले सामाजिक उत्तरदायित्व अन्तर्गत बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका विभिन्न वडाहरूमा विभिन्न रोगसम्बन्धीका बिरामीहरूलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविरका साथै निःशुल्क औषधिसमेत वितरण गर्ने गरी फागुन २१ गतेदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको सहकारी संस्था लिमिटेड (साझा)का अध्यक्ष पारशनाथ थारूले जानकारी दिए ।

अध्यक्ष थारूका अनुसार हालसम्म एक हजार तीन सय ९५ जनाको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । बैजनाथ २ मा १२० जना, ३ मा १७१ जना, ४ मा १३७ जना, कोहलपुर ५ र ६ मा ९० जना, १ र २ मा ११२ जना, ३ र ४ मा १०७ जना, ७ मा १०३ जना, वडा नम्बर ८ मा १५६, वडा नम्बर ९ मा २०७, वडा नम्बर १० र ११ मा १९२ गरी कुल एक हजार तीन सय ९५ जना सर्वसाधारण नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो । बिरामीहरूलाई आवश्यक औषधिसमेत निःशुल्क रूपमै वितरण गरिएको उनले बताए ।

सम्बन्धित वडा कार्यालयहरूको समन्वय, कोहलपुरस्थित आरएम अस्पतालको प्राविधिक सहयोग र साझाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको साझाका लेखा संयोजक कालिबहादुर वलीले जानकारी दिए । वलीका शिविरमा सुगर, ब्लडप्रेसर, छाला, हाडलगायत जनरल रोगका बिरामीहरूको स्वास्थ्य चेकजाँच गरिएको हो ।

लेखा संयोजक वलीका अनुसार शिविर चैत ९ गतेसम्म सञ्चालन गरिनेछ । चैत ५ गते वडा नम्बर १२ र १३ का लागि मध्यवर्ती वनको कार्यालय, ८ गते वडा नम्बर १४ स्थित स्वास्थ्य चौकी र चैत ९ गते वडा नम्बर १५ स्थित वडा कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने संयोजक वलीले जानकारी दिए ।

आफ्नो कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण शेयर सदस्यहरूलाई जनरल स्वास्थ्य सेवा प्रदान गर्नका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको साझाले जनाएको छ । शिविरमा आरएम अस्पतालका स्वास्थ्यकर्मी एवम् विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिएको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ५ गते मंगलबार