कोहलपुर (बाँके) ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा कोहलपुर नगरपालिकाले अंक सुधार गरेको छ ।
आयोगद्वारा जारी गरिएको अन्तिम नतिजा अनुसार बाँकेका सात स्थानीय तहको अंक यथावत छ भने कोहलपुर नगरपालिकाले भने अंक सुधार गरेको हो । यसअघि सार्वजनिक नतिजामा जिल्लाको राप्ती सोनारी गाउँपालिका उत्कृष्ट ६०.०१ प्रतिशत अंक प्राप्त गर्दा कोहलपुर नगरपालिकाले सबैभन्दा कम ३५.२ प्रतिशत अंक प्राप्त गरेको थियो ।
आयोगले वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन मूल्यांकन वापत प्रदान गरिने अनुुदानका लागि प्रदेश सरकार र स्थानीय तहले कार्य सम्पादन सूचक वापत प्राप्त गरेको अंकको नतिजाको पुनरावलोकनका लागि स्थानीय तहलाई मौका दिएको थियो । आयोगद्वारा जारी संशोधित नतिजामा बाँकेका अन्य सात पालिकाको अंक यथावत रहँदा कोहलपुर नगरपालिकाले भने भारी अंक सुधार गरेको हो ।
पछिल्लो पटक प्रकाशित नतिजाका पुनरावलोकनका लागि आयोगले माघ ३ गते सूचना प्रकाशित गरेको थियो । सात दिने सूचना पश्चात २०८१ फागुन २५ गते प्रकाशित अन्तिम नतिजामा बाँकेको राप्ती सोनारी गाउँपालिका सबैभन्दा धेरै ६०.०१ प्रतिशत अंकसहित शीर्षस्थानमा यथावत छ । प्रथमपटक प्रकाशित कार्यसम्पादन मूल्यांकनमा बैजनाथ गाउँपालिका दोस्रो, खजुरा गाउँपालिका तेस्रो, डुडुवा गाउँपालिका चौथो स्थानमा थिए । यस्तै नरैनापुर गाउँपालिका पाँचौँ, नेपालगन्ज उपमहानगरपालिका छैटौँ, जानकी गाउँपालिका सातौँ र कोहलपुर नगरपालिका अन्तिम स्थानमा रहेको थियो ।
संशोधित नतिजामा बैजनाथ गाउँपालिका ५९.२७ र खजुरा गाउँपालिका ५८.०४, डुडुवा गाउँपालिका ५१.१, जानकी गाउँपालिका ४३.६, नरैनापुर गाउँपालिका ४८.७२ र नेपालगन्ज उपमहानगरपालिका ४६.८९ अंकसहित यथावत छन् । मूल्यांकनमा जम्मा ३५.२ अंक प्राप्त गर्दै बाँके जिल्लामै सबैभन्दा कम अंक प्राप्त गरेको कोहलपुर नगरपालिकाले संशोधित नतिजामा भारी अंक सुधार गरेको छ । संशोधित नतिजामा कोहलपुर नगरपालिकाले ५८.२१ प्रतिशत अंक प्राप्त गरेको हो ।
संशोधन नतिजामा कोहलपुर तेस्रो स्थानमा उक्लिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले अघिल्लोपटक प्रकाशित आयोगको नतिजा सन्तोषजनक नभएपछि आयोगले जारी गरेको सूचना अनुसार आवश्यक सूचक पूरा गरेर अंकमा सुधार आएको भन्दै खुसी प्रकट गरे । उनका अनुसार विभिन्न सूचकमध्ये शिक्षा, स्वास्थ्य र प्रशासनतर्फ केही सूचक पूरा नभएका कारण न्युन अंक आएको थियो । अहिले सबै सूचक पूरा गरेर अंक सुधार आएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्