कैलालीमा बढ्यो तस्करी, १२ करोडको सामान जफत



धनगढी ।

नेपाली बजारमा महंगीले आकाश छोइरहँदा भारतीय बजारबाट नेपाली बजारमा चोरी पैठारी गरी सामान भित्रिने क्रम बढेको छ । भन्सार कार्यालय कैलालीका अनुसार प्रहरीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ११ करोड ८० लाख ९८ हजार १२ रूपैयाँ बराबरको सामान बरामद गरी भन्सार कार्यालयको जिम्मा लगाएको छ ।

यो अवधिमा एक हजार तीन सय ४९ वटा तस्करी तथा चोरी पैठारीको मुद्दा दर्ता भएको भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०-८१ मा ११ करोड ८४ लाख चार सय ८६ रूपैयाँको मालसामान भन्सार छली ल्याइएका एक हजार चार सय ७६ वटा मुद्दा दर्ता भएको थियो । पछिल्लो समयमा प्रहरीले दैनिक रूपमा भन्सार छलीको सामान बरामद गरेर भन्सार कार्यालयलाई बुझाइरहेको छ ।

भन्सार कार्यालय मुद्दा फाँटका नायब सुब्बा पहलबहादुर केसीका अनुसार कपडा, चिनी, मिठाई, चकलेट, सुर्ती, बिँडी, मलखाद, मोबाइल, मोबाइल पार्टस्, आलु, प्याज, गहुँ, प्लाष्टिक झिल्ली, कुलर, ब्रोइलर कुखुरा, हार्डवेयरका सामान, ब्याट्री, सवारी साधनका पार्ट पुर्जा लगायतका सामानहरू बढी चोरी पैठारी हुने गरेका छन् । उनले चोरी पैठारीमा प्रयोग गरिएको मोटरसाइकल, गाडी समेत प्रहरीले भन्सार कार्यालयमा बुझाउने गरेको बताए ।

भारतसँग कैलालीको सीमाना जोडिएको क्षेत्रबाट मात्रै नभई कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका सीमाना जोडिएका नाका क्षेत्रबाट चोरी पैठारी हुन थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले सीमा नाकामा प्रहरीले सक्रियता बढाएको कारणले पनि भन्सार छलीका सामान बरामद हुने दर बढेको बताए । उनले भारतसँग सीमाना जोडिएको जिल्लाका हरेक नाकामा प्रहरी खटिएको बताए ।

उनले नाकामा खटिएको प्रहरीले दिनहुँ चोरी तस्करी गरी ल्याएको सामान बरामद गर्ने गरेको बताए । जिल्ला प्रहरीले गत आर्थिक वर्षमा सात करोड ९० लाख तीन हजार पाँच सय ९२ रूपैयाँको भन्सार छलीको मालसामान भन्सारमा बुझाएको थियो । सो वर्ष सबैभन्दा बढी बैशाख महिनामा भन्सार छली ल्याएको एक करोड २१ लाख एक हजार ९३६ रूपैयाँको मालसामान बरामद गरी भन्सारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

नेपाल प्रहरी बाहेक सशस्त्र प्रहरीले समेत भन्सार छलीका सामान फेलापारी भन्सार कार्यालयको जिम्मा लगाउने गरेका छन् । भन्सार कार्यालय कैलालीले पनि चाडपर्वको बेला बजारमा माग बढी हुने भएकाले व्यापारीहरूले बढी सामान आयात गर्ने गरेको र यो समयमा चोरी पैठारी पनि बढी हुने गरेको जनाएको छ । नायब सुब्बा केसीले प्रहरी कार्यालयले अहिले दैनिक जसो भन्सार छलीको सामान ल्याएर भन्सार कार्यालयमा बुझाइरहेको बताए । उनले चाडपर्वको बेला माग बढी हुने भएकाले स्वाभाविक रूपमा चोरी पैठारी पनि बढ्ने गरेको बताए ।

भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षमा फागुन मसान्तसम्म दर्ता भएका मुद्दामध्ये सात सय २० वटा मुद्दाको फैसला भएको छ । ती मुद्दाहरूमा छ करोड ४९ लाख ७४ हजार रूपैयाँको सामान तस्करी गरी ल्याएको अभियोगपत्र दर्ता भएको थियो । विभिन्न समयमा तस्करी गरी ल्याइएका र बरामद गरिएका विभिन्न चार सय ६० वटा सामानको लिलाम गरेको भन्सार कार्यालय कैलालीले जनाएको छ । यसबाट एक करोड दुई लाख ५३ हजार रूपैयाँ आम्दानी गरेको नायब सुब्बा केसीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ४ गते सोमबार