हुम्ला ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा ६ वटा पक्की पुल बनाइने भएको छ । कोरिडोरको हुम्ला खण्डको सलीसल्लादेखि स्याम्नेसम्म ६ वटा पक्की पुल निर्माण गरिने हिल्सा–सिमकोट सडक आयोजनाले जनाएको छ ।
हाल यो खण्डका खोलामा यातायातका साधन खोला तरेर वारपार गर्ने गरेका छन् । अब हिल्सा–सिमकोट सडक आयोजनाले पक्की पुल निर्माण गरेको खण्डमा सवारी आउजाउ गर्न सहज हुनेछ । सडकको अवस्था हेर्न सलीसल्ला पुगेका आयोजनाका योजना प्रमुख बलबहादुर नेपालीले ५० किलोमिटर सडकको दुरीमा ६ वटा खोलामा पक्की पुल निर्माण हुने बताए ।
उनका अनुुसार सर्केगाड र चंखेली गाउँपालिकाको सीमाना सलीसल्लादेखि सिमकोट गाउँपालिका–४ को स्याम्ने खोलासम्मको दुरीमा पुुल बन्नेछन् । यी सबै खोलामा हाल पुल निर्माण नभएका कारण यातायातका साधनले जोखिम मोलेर खोला तरेर वारपार गरिरहेका छन् । बर्खायाममा ती खोलामा पानी बढ्ने भएका कारण खोला तर्न कठिन छ । अब पक्की पुल निर्माण प्रक्रिया अगाडि बढाइएपछि स्थानीय खुसी भएका छन् ।
पक्की पुल निर्माण हुने खोलाहरूमध्ये सिमकोट गाउँपालिकाको स्याम्नेमा ५५ मिटर लम्बाइको पुल बन्नेछ । भने खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुखोलामा २२ मिटर लम्बाइको पुल निर्माण हुनेछ । यता खार्पुनाथ गाउँपालिकाकै सुनाखाडा खोलामा १०० मिटर लामो पुल निर्माण हुनेछ । त्यसैगरी सर्केगाड गाउँपालिकाको गिउसीखोलामा ३० मिटर र ठेलीखोलामा ३० मिटर लामो पुल बन्नेआयोजना कार्यालयले जनाएको छ ।
सर्केगाड गाउँपालिकाको केन्द्र सर्केगाडमा ४० मिटर लामो पक्की पुल निर्माण हुनेछ । सर्केगाड खोला ठुलो भएका कारण साना सवारीसाधन काठेपुल तर्दै आएका छन् । यो खोलामा पुल बनाउन सम्भाव्यता अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुदैछ । आगामी आर्थिक वर्षमा यी ६ वटै पुल निर्माणका लागि बजेटको व्यवस्था हुने र ठेक्का समेत लाग्ने निश्चित भएको छ ।
कोरिडोरको यो खण्डमा सलीसल्लामा बेलिब्रिज निर्माण गरिएको छ । भने खार्पुको दोजाम कर्णाली नदीमाथि पक्की पुल निर्माणाधीन अवस्थामा रहेको छ । यी खोलामा नयाँ पक्की पुल बन्न लागेकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् । अब यातायातका साधनलाई खोला तर्नुपर्ने बाध्यता चाँडै अन्त्य हुने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्