जब लेख्दालेख्दै परीक्षा स्थगन भयो…



नन्दराम जैशी । सुर्खेत ।

मध्यपश्चिम विश्वविद्यालयमा आइतबार बिहान साढे ६ बजे परीक्षा सुरु हुुनुुपर्ने थियो । तर प्राविधिक कारणवश ६ः४५ मा प्रश्नपत्र र उत्तरपुस्तिका विद्यार्थीका हातमा प¥यो । प्रश्नपत्र र उत्तरपुस्तिका वितरणपछि विद्यार्थीहरू धमाधम लेख्न थाले । करिब ३५ मिनेट बितिसकेको थियो । विद्यार्थीहरू लेख्दै थिए ।

विद्यार्थीहरूले उत्तरपुस्तिकामा प्रश्नको उत्तर लेखदैगर्दा जब एक्कासि परीक्षा स्थगन भयो भनेर सूचना आयो । विद्यार्थीहरू अचम्ममा परे । मध्यपश्चिम विश्वविद्यालयले परीक्षामा यसरी खेलाँची गरेपछि विद्यार्थीहरू पनि आक्रोशित भए । त्यसपछि विद्यार्थीहरू असन्तुष्ट बन्दै आलोचना गर्न थाले ।

स्ववियु चुनावलाई देखाएर सुरु भइसकेको ग्राजुएट स्कूल अफ ह्युमानिटीज एण्ड सोसल साइन्स अन्तर्गत स्नातक तहको पहिलो र सातौँ सेमेष्टरको परीक्षा स्थगन गरिएको हो । तर विद्यार्थीलाई भने पूर्वजानकारी गराइएको थिएन् । चुनावका नाममा विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको विद्यार्थीको गुनासो छ ।

पटक–पटक विश्वविद्यालयले परीक्षामा लापरबाही गर्ने गरेको विद्यार्थीको आरोप छ । ‘समयमै परीक्षा स्थगन भएको सूचना दिएको भए खर्च गरेर विश्वविद्यालय धाउन पर्ने थिएन् । मेरो जरुरी काम थियो । त्यो काम छोडेर पनि परीक्षा दिन आएँ’ एक विद्यार्थीले भने, ‘विश्वविद्यालयको हालत यस्तो छ, दुर्गमका विद्यालयको अवस्था कस्तो होला कल्पना गर्नुहुन्छ ? यो सामान्य कमजोरी होइन, ठूलो गल्ती हो ।’

मध्यपश्चिम विश्वविद्यालयले यसरी परीक्षामा गम्भीर लापरबाही गरेपछि सम्बन्धित सरोकारवालाले पनि आपत्ति जनाएका छन् । परीक्षामा लेख्दै गरेका विद्यार्थीलाई विश्वविद्यालयले अचानक परीक्षा स्थगन भएको जानकारी दिँदै चरम लापरबाही गरेको उनीहरू बताउँछन् । प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भइसकेपछि परीक्षा स्थगन हुँदा विद्यार्थीको समयमात्रै बर्बाद भएको छैन् प्रश्नपत्र र उत्तरपुस्तिका छपाइ तथा तयारीमा समेत आर्थिक घाटा तथा समयको खर्च भएको छ ।
विश्वविद्यालयका रजिस्ट्रार प्राडा शोभाखर कँडेलले स्ववियु चुनावकै कारण परीक्षा स्थगित भएको जानकारी दिए । उनका अनुसार यसअघि स्ववियु चुनावको कार्यतालिका सार्वजनिक भइसकेको थियो । त्यसैले पनि उक्त निर्वाचनका कारण परीक्षा स्थगन गर्नुपरेको उनले बताए ।

‘यसमा परीक्षा व्यवस्थापन कार्यालयको गल्ती छैन् । तर निर्वाचन समिति र परीक्षा व्यवस्थापन समितिबीचको समन्वय अभावले गर्दा समस्या भएको हो’ उनले भने, ‘परीक्षा स्थगन गरेको सूचनाबारे अघिल्लो दिननै सम्बन्धित विभाग प्रमुखलाई जानकारी गराइएको थियो । सम्बन्धित विभाग प्रमुखको समन्वय अभाव देखियो । तर यसबारे निर्वाचन समिति र परीक्षा व्यवस्थापन समितिले छलफल गरी निष्कर्ष निकालिसकेका छन् ।’

तर विश्वविद्यालयले परीक्षा स्थगित भएको विषयमा परीक्षा सुुरु भएपछि मात्रै आधिकारिक जानकारी गराएर औपचारिकता निभाए जस्तो गरेको छ । विश्वविद्यालयले हतारहतार गरी सूचना टाँसेको देखिन्छ । उक्त सूचना दर्ता, चलानी नै नगरी हतारमा सार्वजनिक गरिएको छ । जारी सूचनामा चैत्र ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं १ अनुसार स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएको छ तर यसको कारण भने खुलाइएको छैन् ।

मध्यपश्चिम विश्वविद्यालयले चैत १८ गते स्ववियु निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ । यसअघि पटकपटक स्ववियु चुनाव अवरुद्ध हुँदै आएको थियो । निर्वाचन समितिका संयोजक दीपेन्द्रबहादुर थापाका अनुसार चैत्र ७ गते संगठन दर्ता, १२ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

यस्तै चैत्र १५ गते रातिदेखि मौन अवधि सुरु हुनेछ भने १८ गते बिहान ७ बजेदेखि मतदान हुनेछ । यसअघि पटकपटक मुद्दा दायर हुँदा विश्वविद्यालयको चुनाव रोकिएको थियो । स्ववियु चुनावलाई लिएर कर्णालीमा राजनीतिक दलहरूले पनि आफ्नो प्रतिष्ठाको विषय बनाउन थालेका छन् । यसका लागि मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पसलाई लिइएको छ ।

दुवै प्रदेश राजधानीका ठूला क्याम्पस भएकाले सबैको चासो यी दुई वटा शैक्षिक संस्थामा हुुने गरेको छ । यही चैत्र ५ गतेका लागि तोकिएको सुर्खेत बहुमुखी क्याम्पसको चुनाव भने रोकिएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत बुधबार बेलुका क्याम्पस तोडफोड गरेपछि निर्वाचन समितिले असुरक्षाको विषयलाई ध्यानमा राख्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । विद्यार्थी कार्यकर्ताले ढुंगामुढा गरेपछि क्याम्पसको संरचनामा क्षति भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ४ गते सोमबार