कोहलपुर ।
नेकपा (एमाले) कोहलपुर नगर कमिटीले आइतबार बिएलई र एसईईको परीक्षाका सम्बन्धमा पत्रकार सम्मेलन गरेको छ । एमाले कोहलपुरले परीक्षामा कोहलपुर नगरपालिकाले सीसी क्यामेरा जडान गरेर विद्यार्थीहरूलाई डर त्रास देखाइ आतंकित पार्न खोजेको भन्दै आपत्तिसमेत जनाएको हो ।
पत्रकार सम्मेलनमा एमाले कोहलपुर नगर कमिटीका अध्यक्ष कुलबहादुर भट्टराईले अस्थायी सीसी क्यामेरा जडान गरेमा र वडाध्यक्ष परीक्षा केन्द्रमा खटाए कडा प्रतिवादमा उत्रिने समेत चेतावानी दिए । विगतदेखी नै स्थानीय सरकारले शैक्षिक हव बनाउने नाममा परीक्षाको समयमा मात्रै विद्यार्थीहरूलाई आतंकित पार्न र डर त्रास देखाउन सीसी क्यामेरा जडान गर्ने गरेको उनले आरोप लगाएका थिए ।
वर्षभर सीसी क्यामेरा बन्द रहने तर, परीक्षाको मुखमा देखाइने यस्ता रबैयाले शैक्षिक सुधार हुन नसक्ने अध्यक्ष भट्टराईले बताए । चैत र बैशाख महिना परीक्षाको महिना रहेकाले विद्यार्थीहरूले स्वतन्त्रपूर्वक परीक्षा दिन पाउनुपर्नेमा उनले जोड दिए ।
‘बिएलई, एसईई र कक्षा १२ लगायतका परीक्षामा स्थानीय सरकारले विद्यार्थीलाई आतंकित पार्ने काम गरिरहेको अनुभूति भएको छ । स्थानीय सरकारले सीसी क्यामेरा जडान गरेपछि जनप्रतिनिधि किन परीक्षा केन्द्रमा खटाउनु प¥यो ?’, उनले भने, ‘त्यहाँ परीक्षा केन्द्रमा गार्डहरू हुन्छन्, त्यसैले यस्ता गतल निर्णयहरू सच्याइनु पर्छ । गतल निर्णय लाद्न खोजिएको खण्डमा प्रतिवाद गर्छाैँ ।’
विगतका वर्षहरूमा पनि प्ररीक्षा प्राणाली सुधार्ने र शैक्षिक हव बनाउने नाममा बिएलई परीक्षामा कारबाही सिफारिस गरेका व्यक्तिलाई प्रवक्ता बनाएर नगरपालिकाले राखेको उनले बताए । कार्यालय सहयोगी बाहेक सबै दोषीलाई नगरपालिकाले पुरस्कृत गरेको आरोप समेत उनले लगाए ।
सकभर सीसी क्यामेरा जडान गर्न नहुने बताउँदै उनले गरेपनि सधैभर सीसी क्यामेरा नियमित सञ्चालन हुनुपर्ने माग आफूहरूको रहेको बताए । कहीँ पनि दुनियाँमा नभएको कुरा कोहलपुर नगरपालिकामा भएको भन्दै उनले व्यंग्य समेत गरे । कोहलपुरलाई शैक्षिक हव बनाउने हो भने सबै राजनीतिक दल, बौद्धिक व्यक्ति र शिक्षा क्षेत्रका विज्ञलाई एकठाउँ राखे मात्रै सम्भव रहेको उनले बताए ।
नगर अध्यक्ष भट्टराईले नगरपालिकाले लिने भनिएको कक्षा ५ को परीक्षमा समेत नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ५ सय शुल्क माग्नु र सामुदायिक विद्यालयका विद्यार्थीको निःशुल्क परीक्षा दिने कुरा विभेदपूर्ण रहेकाले सच्याइनुपर्ने बताए ।
तत्कालीन सिडिओ खगेन्द्रप्रसाद रिजाल र नगर प्रमुख पूर्णप्रसाद आचार्यको स्टाटसलाई गम्भीतापूर्वक हेरेको बताउँदै उनले दोषीलाई कारबाही हुनुपर्ने नगर अध्यक्ष भट्टराईले बताए । दुई जना चुपचाप हुनुको रहस्य एसईईको परीक्षा केन्द्र सेटिङमा बन्न नसकेर भत्किएको आरोप उनले लगाए ।
एमाले कोहलपुर नगर कमिटीले आसन्न हुने सम्पूर्ण परिक्षार्थीहरूलाई परीक्षा सफलताको शुभकामना व्यक्त गर्दै प्रेस विज्ञप्ति जारीसमेत गरेको छ । ‘कोहलपुरलाई शैक्षिक हव बनाउने तथा कक्षा ८ र १० को परीक्षालाई मर्यादित बनाउने नाममा कोहलपुर नगरपालिकाले अस्थाई सीसी क्यामेरा जडान गराउँदै वडाध्यक्षलाई परीक्षामा खटाउने हल्ला फिँजाइ निर्णयसमेत गरी परीक्षामा सम्मिलित हुने विद्यार्थीलाई अन्तिम समयमा मनोवैज्ञानिक डर त्रास देखाइ आतंकित गराउने कार्यप्रति हामी घोर आपत्ति जनाउँदछौँ ।’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
परीक्षाको बेला देखाइने रबैयाले बाल मष्तिस्कमा पार्ने प्रभावलाई मध्यनजर गर्दै यस्ता कामहरू तुरुन्त बन्द गरी बिना डर त्रास सहज रूपमा परीक्षा दिन पाउने विद्यार्थीहरूको अधिकारलाई सुनिश्चित गर्न माग गरिएको छ । विद्यार्थी तथा परीक्षामा खटिने शिक्षक, कर्मचारीहरूको मनोबल गिराउने कुनै हर्कत नगर्न र परीक्षामा अनुगमन भन्दै जनप्रतिनिधि खटाउने लज्जास्पद निर्णय सच्याउन आग्रह गरेको हो ।
उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘परीक्षा हलमा हुलका हुल मान्छे जाने परिपाटीको अन्त्य गर्न माग गर्दै यस्ता कदमहरू नसच्चिए नेकपा एमाले कडा प्रतिवाद गर्ने चेतावनी दिन चाहन्छौँ ।’
प्रतिक्रिया दिनुहोस्