बाँके जिल्लामा रहेका चार वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस, राप्ती सोनारी–६ स्थित जनसिद्धेश्वर बहुमुखी क्याम्पस र खजुरा–३ स्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । निर्वाचनमा प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरू मुख्य प्रतिस्पर्धामा रहेका छन् ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँकेका चार क्याम्पसमा एकैसाथ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत बाँकेस्थित चार क्याम्पसमा निर्वाचन हुन लागेको हो । बाँकेको सबैभन्दा पुरानो महेन्द्र बहुमुखी क्याम्पससहित, नेपालगन्ज नर्सिङ क्याम्पस, खजुरा–३ स्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस र राप्ती सोनारी–६ स्थित जनसिद्धेश्वर बहुमुखी क्याम्पसमा निर्वाचन हुन लागेको हो ।
जिल्ला सदरमुकामसमेत रहेको नेपालगन्जमा अवस्थित महेन्द्र बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिको कार्यालयका निर्वाचन संयोजक किरणराज रेग्मीका अनुसार निर्वाचनका लागि १५ वटा संगठन दर्ता भएका छन् । महेन्द्रमा पाँच जना सभापति पदका उम्मेदवारसहित ४÷४ जना सचिव र कोषाध्यक्षका उम्मेदवार चुनावी मैदानमा छन् । यसैगरी सदस्यहरूमा प्रत्यक्षतर्फ ३२ जना र समानुपातिकतर्फ ३८ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
महेन्द्रमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियु एकल रूपमा चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) नेतृत्वमा ६ वटा संगठनले संयुक्त प्यानल बनाएर नेविसंघ र अनेरास्ववियुलाई कडा चुनौती दिँदैछन् । स्ववियुको सभापति पदमा स्वतन्त्र उम्मेदवार मुकेशसिंह कुँवर र समावेशी विद्यार्थी समूहका निशान थारूले पनि उम्मेदवारी दिएका छन् । दुई प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सन्तोष रावल र नेकपा एमाले निकट अनेरास्ववियुले केशरजंग शाहलाई सभापति पदको उम्मेदवार बनाएको छ ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन, नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (वैद्य) निकट अनेरास्ववियू (क्रान्तिकारी) र नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)का तर्फबाट संयुक्त प्यानलको नेतृत्व हरेन्द्र विकले गर्दैछन् ।
नेवि संघबाट सचिव पदका लागि सत्यन्द्रप्रसाद श्रेष्ठ र कोषाध्यक्ष पदमा सिर्जना पौडेलले उम्मेदवारी दिएका छन् भने अनेरास्ववियुले चीरञ्जीवि बुढालाई सचिव र सुरेन्द्र रावललाई कोषाध्यक्षको उम्मेदवार बनाएको छ । हरेन्द्र विक नेतृत्वको संयुक्त प्यानलबाट सचिव पदका लागि दीपेन्द्र केसी र कोषाध्यक्ष पदका लागि विष्णु कनौजियाले उम्मेदवारी दिएका छन् । विक, केसी र कनौजिया तीन जना अखिल (क्रान्तिकारी)का तर्फबाट उम्मेदवार बनेका छन् । अखिल (क्रान्तिकारी)ले प्रत्यक्ष तर्फबाट सदस्य र समानुपातिकतर्फ अन्य प्यानलनमा रहेका अन्य संगठनका उम्मेदवारलाई सघाउने सभापति पदका उम्मेदवार विक बताउँछन् ।
यस्तै समावेशी विद्यार्थी समूहको तर्फबाट सचिव पदमा टेकराज कँडेल र कोषाध्यक्ष पदका लागि महेश शर्माले उम्मेदवारी दिएको निर्वाचन संयोजक रेग्मीले बताए । प्रत्यक्षतर्फका सदस्य पदका लागि संयुक्त प्यानल, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र समावेशी विद्यार्थी समूहबाट समान ८-८ जना चुनावी मैदानमा छन् । समानुपातिकतर्फ अखिल (क्रान्तिकारी) संयुक्त प्यानलका ९ जना, समावेशी विद्यार्थी समूह, नेपाल विद्यार्थी संघ र अनेरास्ववियुबाट समान १०-१० जनाको उम्मेदवारी परेको छ ।
महेन्द्रमा शिथिल अवस्थामा रहेको विद्यार्थी आन्दोलनलाई सक्रिय बनाउँदै विद्यार्थीका मुद्दामा केन्द्रित हुने उद्देश्यसहित आफू चुनावी मैदानमा होमिएको सभापति पदका उम्मेदवार विकले बताए । नेपाल विद्यार्थी संघबाट सभापतिका उम्मेदवार बनेका सन्तोष रावलले विद्यार्थीमैत्री क्याम्पस, क्याम्पसमैत्री विद्यार्थीको नारासहित महेन्द्रको मुहार फेर्ने लक्ष्य लिएर आफू चुनावी मैदानमा होमिएको बताए । विद्यार्थीको मुद्दामा केन्द्रित संगठनको पहिचान बनाएको अनेरास्ववियुका विद्यार्थी केन्द्रित मुद्दा उठान र समस्या समाधान गर्न सक्ने भरपर्दो उम्मेदवारका स्ववियुको नेतृत्वका लागि आफूले उम्मेदवारी दिएको अनेरास्ववियुका केशरजंग शाहको भनाइ थियो ।
यसैगरी, नेपालगन्ज नर्सिङ क्याम्पसमा हुने स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु एकल रूपमा चुनावी मैदानमा होमिएका छन् । नेपालगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुले देर्वाचना अधिकारीलाई सभापति पदको उम्मेदवार बनाएको छ भने इशा पौडेल सचिव र अस्मिता सिंह कोषाध्यक्ष पदको उम्मेदवार रहेका छन् । प्रत्यक्षतर्फ पाँच सदस्य र समानुपातिकतर्फ सात जनाले सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल विद्यार्थी संघले नेपालगन्ज नर्सिङ क्याम्पसमा सभापति पदका लागि सुरेसमा थारू, सचिव पदका लागि सचिवका खाँण ठकुरी र कोषाध्यक्ष पदका लागि सुस्मिता शाहीले उम्मेदवारी दर्ता गराएको नेविसंघ बाँकेका अध्यक्ष उपेन्द्र विष्टले मिसन टुडेलाई जानकारी दिए । अखिल (क्रान्तिकारी) त्यहाँ सचिव पदमा उम्मेदवारी दिएपनि उम्मेदवारको व्यक्तिगत समस्याका कारण निर्वाचनमा भाग नलिने अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष सुनिल बटालाले बताए । अघिल्लो निर्वाचनमा नेपालगन्ज नर्सिङ क्याम्पसमा अखिल (क्रान्तिकारी)बाट सभापतिमा दिपिका सोनी विजयी भएकी थिइन् ।
जनसिद्धेश्वर र ज्ञानोदयमा नेविसंघ र अनेरास्ववियुको गठबन्धन
राप्ती सोनारी–६ स्थित जनसिद्धेश्वर बहुमुखी क्याम्पस र खजुरा–३ स्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा प्रमुख सत्ताधारी दल नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले चुनावी गठबन्धन गरेका छन् । महेन्द्र बहुमुखी क्याम्पस र नेपालगन्ज नर्सिङ क्याम्पसमा एकल रूपमा चुनावी मैदानमा होमिएका नेविसंघ र अनेरास्ववियुले जनसिद्धेश्वर र ज्ञानोदयमा चुनावी गठबन्धन गरेका हुन् । यी दुई क्याम्पसमा दुवै संगठनले मुख्य पदमा भागबण्डा गरेका छन् ।
जनसिद्धेश्वरमा नेविसंघ र ज्ञानोदयमा अनेरास्ववियुले सभापति पदमा गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । जनसिद्धेश्वर बहुमुखी क्याम्पसको सभापति पदका लागि नेपाल विद्यार्थी संघकी निरा थारू उम्मेदवार बनेकी छन् । गठबन्धनका तर्फबाट अनेरास्ववियुका अमरेश कश्यपले सचिव र संगीता थारूले कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अनेरास्ववियु र नेवि संघबीचको गठबन्धनका तर्फबाट अनेरास्ववियुका सर्विन महतोले ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुराको स्ववियु सभापति पदमा उम्मेदवारी दिएका छन् । सचिवमा नेवि संघका सविन खत्री र कोषाध्यक्षमा ममता खत्रीको उम्मेदवारी परेको छ ।
खजुराको नेतृत्वको लागि शसक्त दाबी गरेका कृष्ण चन्द ठकुरीले बागी उम्मेदवारी दर्ता गराएका थिए । नेकपा एमाले खजुरा गाउँपालिका कमिटीका सचिव रोशन शाहीले ठकुरीका अनुसार अनेरास्ववियु बाँकेका सहसचिव तथा क्याम्पसका स्ववियु उपसभापति समेत रहेका ठकुरीले संगठनको निर्णय स्वीकार गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
जनसिद्धेश्वर र ज्ञानोदयमा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले नेपाल विद्यार्थी संघ र अनेरास्ववियुलाई एकल रूपमा चुनौती दिँदैछ । संयुक्त प्यानलमा चुनाव लडेपनि मुख्य तीन पदमा अखिल (क्रान्तिकारी) का उम्मेदवार छन् । जनसिद्धेश्वरमा अखिल (क्रान्तिकारी)का तर्फबाट सभापति पदका लागि माया थारू, सैयवान अलि मुकेरीले सचिव र प्रसिद्ध पुन मगरले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, ज्ञानोदयमा अखिल (क्रान्तिकारी)का तर्फबाट सभापति पदका लागि मो.आशिक साइले उम्मेदवारी दिएका छन् भने सचिव पदमा मञ्जु खत्रीको उम्मेदवारी परेको छ । संयुक्त प्यानलका तर्फबाट नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (वैद्य) निकट अनेरास्ववियू (क्रान्तिकारी)की सुनिता विकले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशैभरका क्याम्पसहरूमा भोलि मंगलबार स्ववियुको निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्