अराजकता मच्चाउने बालबन्दीहरूमाथि अनुसन्धान हुँदै



नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरमा रहेको जयन्दु बालसुधार गृहका २४ जना बाल बन्दीहरूमाथि बाँके प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । शुक्रबार र शनिबार बालसुधार गृहमा अराजकता मच्चाउने, एकअर्कामाथि हमलामा उत्रिने, लुटपाट गर्ने र आगजनी गर्ने बाल बन्दीहरूमाथि सम्बन्धित कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाइएको बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए । उनीहरूलाई बाँके प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।

‘कानुनको उल्लंघन गर्ने, हमला गर्ने, आगजनीमा उत्रिने र अराजकता मच्चाउने कामको नेतृत्व गर्नेहरूमाथि अनुसन्धान हुन्छ । सोही उद्देश्यले उनीहरूलाई हिरासतमा राखिएको छ,’ डीएसपी पातलीले मिसन टुडेसँग भने । यसैगरी अराजकता मच्चाउने काममा संलग्न ३५ जना बाल बन्दीहरूलाई जयन्दु बालसुधार गृहबाट बाँकेकै नौबस्तास्थित बालसुधार गृहमा स्थानान्तरण गरिएको पनि पातलीले जानकारी दिए । त्यसरी स्थानान्तरण गरिएकाहरू पनि बालसुधार गृहमा समूह निर्माण गरेर एकअर्कामाथि आक्रमण गर्ने, आगजनीमा उत्रिने र प्रहरीलाई अवरोध गर्ने काममा संलग्नहरू नै रहेका डीएसपी पातलीले बताए । प्रहरीका अनुसार तीमध्ये अधिकांश १८ वर्ष पुगेकाहरू रहेका छन् ।

बालसुधार गृहमा १८ वर्ष उमेर पूरा गरेका बन्दीहरूले समूह निर्माण गरेर एकअर्कामाथि आक्रमण गर्ने र अराजकता मच्चाउँदै आएका छन् । उनीहरूले शनिबार राती ६ जना बन्दीमाथि आक्रमण गरेका थिए । बिहान प्रहरी पुग्दा सुधारगृहको गेट पार गरेर सबैजसो बन्दीहरू बाहिर निस्केर नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई लखेटेका थिए । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिनुको साटो भाग्नुपर्ने अवस्था आएको थियो । उनीहरूले सुधार गृह प्रमुखको स्कुटरमा तोडफोड गरेका थिए । नजिकै टोलमा पसेर स्थानीय एक किराना पसलमा तीन लाख बढीको सामान लुटपाटसमेत गरेका थिए ।

उनीहरूले सुधारगृहको आफैँ बस्ने एउटा भवनको भुइँतलामा आत्मघाती आगजनी पनि गरेका थिए । भुइँतलाको ओढ्ने ओछ्याउनेदेखि लिएर सरसामानहरू जलाउने र तोडफोड गर्ने काम उनीहरूले गरेका छन् । अहिले स्थानान्तरण गरिएका र हिरासतमा रहेका बन्दीहरू बाहेकलाई तीन तले भवनको भुइँतला बाहेकको तलामा व्यवस्थापन गरिएको डीएसपी पातलीले जानकारी दिए ।

यसक्रममा ६ जना गम्भीर घाइते र २० जनाभन्दा बढी सामान्य घाइते भएका छन् । घाइतेहरू सबै उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । बालबालिकासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी नियमावली २०७८ र बालन्याय सम्पादनसम्बन्धी कार्यविधि २०८० मा रहेको व्यवस्थाले प्रहरीलाई बालसुधार गृहमा रहेका बन्दीहरूमाथि बल प्रयोग गर्ने छुट दिँदैन् । सादा पोशाकका प्रहरीले मात्रै भित्री सुरक्षा दिन मिल्ने कानुनी व्यवस्थाको दुरुपयोग गर्दै अराजक बन्दीहरूले पटक–पटक समस्या सृजना गर्ने गरेका छन् । समस्या समाधानका लागि प्रहरी पुग्दा अवरोध सृजना गर्ने गरेका छन् ।

बालबालिकासम्बन्धी ऐन २०७५ मा सानो उमेरमै कानुनी विवादमा परेका बन्दीहरूलाई उक्त कसुरमा तोकिएको अवधि पूरा नभै १८ वर्ष उमेर नाघेमा पनि अरु बन्दीबाट अलग रहनेगरी बालसुधार गृहमै राख्नुपर्ने व्यवस्था गरेको छ । त्यसरी १८ वर्ष पार गरेका बन्दीहरू नै अराजक क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ । साथै लागूऔषध पनि बालसुधार गृहभित्रै पुग्ने गरेको र दुव्र्यसनीहरूले पनि समस्या सृजना गर्ने गरेको सुरक्षाकर्मीहरू नै बताउँछन् । यस्तो अवस्थामा बालसुधार गृहमा रहँदै गर्दा गरेका कसुरमा कारबाही अघि बढाएर १८ वर्षभन्दा माथिका बन्दीहरूलाई कारागार पठाइनुपर्ने माग बालसुधार गृहमा रहेका बालकहरूका अभिभावकले गर्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ४ गते सोमबार