बाजुरा ।
वन पैदावार बस्तु बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गर्दै आएपनि करको दायरामा नआएका जिल्लाका सामुदायिक वनलाई प्यान नम्बर अनिवार्य लिनैपर्ने भएको छ ।
आर्थिक क्षेत्रलाई चुस्तदुरुस्त बनाउन सामुदायिक वनलाई प्यान नम्बर अनिवार्य गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य शेरबहादुर शाहीले एक कार्यक्रममा बोल्दै अब नेपाल सरकारको नीतिअनुसार देशभरका सामुदायिक वनलाई प्यान नम्बर अनिवार्य लिने व्यवस्था गरेकोले बाजुराका सबै सामुदायिक वनहरूले अनिवार्य प्यान नम्बर लिन अनुरोध गरेका छन् ।
डिभिजन वन कार्यालय बाजुरा र सामुदायिक वन उपभोक्ता महासंघलाई सो विषयमा सहजीकरण गर्न अनुरोध गरेका छन् । सामुदायिक वन महासंघका केन्द्रीय सदस्य शाहीले प्यान नम्बरले वन पैदावार बस्तु बिक्री गर्दा र अन्य कार्यक्रम गर्दा धेरै सहज हुने र वार्षिक आय व्ययसमेत पारदर्शी हुने भएकाले प्यान नम्बरको व्यवस्था गर्नु राम्रो भएको बताए । सामुदायिक वनहरूले पछिल्लो ३ वर्षको लेखापरीक्षण अनिवार्य गर्नुपर्ने र डिभिजन वन कार्यालयको सिफारीस लिएर प्यान नम्बर लिनुपर्ने जनाएको छ ।
यसपछि सामुदायिक वनले कार्यविधी अनिवार्य बनाउनुपर्ने नवीकरण र हरेक वर्ष कर तिर्नुपर्ने व्यवस्था सरकारको नीतिमै उल्लेख भएकोले यसको कार्यान्वयन गर्न र गराउन सरोकारवाला पक्षले लाग्नुपर्ने सामुदायिक वन उपभोक्ता महासघं नेपालले जनाएको छ । सामुदायिक वनले खोटो, काठ, जडीबुटी ढुंगा बिक्री गरेर एक सामुदायिक वनले वार्षिक ५ देखि ३५ लाखसम्म आम्दानी गर्दै आएका छन् तर उनीहरूले कर नतिर्ने गरेको डिभिजन वन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द डिसीले बताए ।
यसले गर्दा राजस्व संकलनमा कमी आएको छ । कर नतिर्दा आम्दानी भएको रकम दुरुपयोग हुने गरेको नागरिक अगुवाले बताएका छन् । ‘प्यान नम्बर लिने वित्तिकै कहाँ के मा खर्च भयो प्रष्ट हुन्छ र आर्थिक दुरुपयोग हुन पाउँदैन् भने सामुदायिक वनको आर्थिक कारोबारलाई थप पारदर्शी बनाउँछ ।’ उनले भने ।
सामुदायिक वनलाई व्यवस्थित, पारदर्शी गर्न प्यान नम्बर अनिवार्य गर्नु परेको डिभिजन वन कार्यालय बाजुराका प्रमुख डिसीको भनाइ रहेको छ । ‘यस्तो अवस्थामा सरकारी निकायबाट अनुदान एवम् सहयोग रकम उपभोक्ता वन समूहको कोषमा उपलब्ध गराउन र खर्च गर्न मिल्दैन,’ उनले भने, ‘जसका कारण वन पैदावारका कार्यक्रम प्रभावकारी हुन सक्दैनन् । यसले गर्दापनि प्यान अनिवार्य गर्नु परेको हो ।’
प्रतिक्रिया दिनुहोस्