राप्ती सोनारी गाउँपालिकाले मंगलबार ८औँ स्थापना दिवस भव्य रूपमा मनाएको थियो । कार्यालयमा आयोजित कार्यक्रममा दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान दिने २० जनालाई सम्मान गरियो । ठूलो भूगोल र जनसङ्ख्या भएको राप्ती सोनारी गाउँपालिका २०७३ फागुन २७ गते स्थापना भएको थियो ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाले ८औँ गाउँपालिका स्थापना दिवसको अवसरमा गाउँपालिकाका उत्कृष्ट कर्मचारी र सेवा निवृत्त कर्मचारीलाई सम्मान गरेको छ । ८औँ स्थापना दिवसको अवसरमा आयोजित भव्य समारोहकाबीच गाउँपालिकाका महिला उद्यमी, व्यवसायी, सामजिक क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्व, शिक्षक तथा सामाजिक संघ संस्थाहरूलाई सम्मान गरेको हो ।
‘समृद्ध राप्ती सोनारीको आधार ः शिक्षा, स्वास्थ्य, कृषि पयर्यटन र दिगो पूर्वाधार’ नारासहित मनाइएको स्थापना दिवस पारेर गाउँपालिकाले विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याएका २० जनालाई एकमुष्ट सम्मान गरेको थियो । सम्मानित हुनेहरूमा गाउँपालिकामा कार्यरत कर्मचारी, सेवा निवृत्त कर्मचारी, सहकारी, निर्माण व्यवसायीदेखि बडघर अगुवा, एकल महिला र सामाजिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तिसम्म रहेका छन् ।
गाउँपालिकाले गाउँपालिकामा कार्यरत कर्मचारीमध्येहरूबाट उत्कृष्ट महिला कर्मचारीका रूपमा सिनियर अनमी रिमान्ता शर्मा, पुरुषतर्फ गाउँपालिकामा कार्यरत प्राविधिक सहायक राममणी बस्नेतलाई सम्मान गरिएको छ । पशुपालन क्षेत्रमार्फत योगदान दिएकी कृष्णकुमारी थारू र कृषि क्षेत्रमा योगदान पु¥याउने प्रज्वल कृषि फर्मकी सञ्चालक बुद्धिकुमारी केसी रहेकी छन् । यसैगरी, एकल महिलासमेत रहेकी व्यवसायी सीमा थारू, व्युटी पार्लर व्यवसाय सञ्चालन गरिरहेकी फरक क्षमता भएकी २७ वर्षीया युवा उद्यमी अमृता रत्गई, सिलाइकटाई व्यवसायी गिता थारूलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
उनीहरूले व्यवसायमार्फत आत्मनिर्भरताको सन्देश दिएको, फरक क्षमता भएपनि व्यवसाय गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेको र डिजिटल माध्यमको समेत प्रयोग गरेर थारू संस्कृति संरक्षण र प्रचारपसारमा सहयोग गरेको भन्दै सम्मान गरिएको हो । यसैगरी थारू समुदायमा प्रचलित बडघर प्रथा अन्तर्गत लामो समय बडघर भएर सामाजिक मेलमिलाप र सद्भाव फैलाउन योगदान गरेका विष्णुबहादुर थारूलाई सम्मान गरिएको थियो । राप्ती सोनारी गाउँपालिकामा बागेश्वरी असहाय संरक्षण केन्द्र स्थापना गरेर असहायको अभिभावकत्व ग्रहण गरिरहेकी तारा ओली, अपांगताका क्षेत्रमा उल्लेख्य काम गरेका यमराज ओलीलाई स्थापना दिवसको अवसरमा प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
सोही अवसरमा गाउँपालिकाले अवकाश प्राप्त कर्मचारीहरूलाई समेत सम्मान गरेको थियो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ को कार्यालय सहयोगीको रूपमा अवकास प्राप्त कर्मचारी हेमा कुमारी डाँगीलाई (मरणोपरान्त), वडा नम्बर ७ का सेवा निवृत्त कार्यालय सहयोगी, रामनरेश दुबे, सेवा निवृत्त कर्मचारी बालानन्द पौडेल, देवबहादुर केसी र कम्युनिटी नर्स हेमाकुमारी पुनलाई समेत सम्मान गरिएको थियो ।
शिक्षातर्फ बाल विकास सहजकर्ता प्रियंका क्षेष्ठ, भुवर भवानी माध्यमिक विद्यालयका शिक्षक कैलासपति थारू र सिद्धेश्वर माध्यमिक विद्यालय राप्ती सोनारी ६ का गणेश खड्का सम्मानित भएका हुन् । सो अवसरमा संस्थागततर्फ नयाँ सिर्जनशील सहकारी र रक्षादेवी कन्ट्रक्सन प्रालिलाई पनि सम्मान गरिएको थियो ।
स्थानीय सरकार जनमुखी हुनुपर्नेमा जोड
राप्ती सोनारी गाउँपालिकाको ८औँ स्थापना दिवस समारोहमा बोल्ने अधिकांश वक्ताहरूले स्थानीय सरकारलाई जनमुखी सरकार बनाउनुपर्नेमा जोड दिए । दिवस समारोहलाई सम्बोधन गर्ने अधिकांश वक्ताहरूले जनताको घरदैलोको सरकारको रूपमा रहेको स्थानीय सरकार जनमुखी हुनुपर्नेमा जोड दिएका थिए । गाउँगाउँमा सिंहदरबार भन्ने नारालाई सार्थक बनाउन सबैभन्दा ठूलो भूमिका स्थानीय सरकारकै रहेको उनीहरूको भनाइ थियो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले नेपालको संविधानले तीन तहको सरकारको अवधारणा प्रस्तुत गरेको भन्दै जनताको नजिकैको सरकार स्थानीय सरकार रहेको बताए । जनतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्ने स्थानीय सरकार जनमुखी हुनुपर्ने सो कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका चौधरीको भनाइ थियो ।
‘बाँकेका स्थानीय सरकारले जनमुखी काम गरिरहेका छन् पूर्वाधार निर्माणदेखि अन्य क्षेत्रमा राम्रो काम भएको छ । जनता, जनप्रतिनिधि र कर्मचारी मिलेर स्थानीय सरकारलाई बलियो बनाउन आवश्यक छ,’ प्रमुख चौधरीले भने । जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सिता कार्कीले राप्ती सोनारी गाउँपालिकाले स्थापना दिवसको अवसरमा समाजमा रहेका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेर उदाहरणीय काम गरेको बताएकी थिइन् ।
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गाउँपालिकाले जनतालाई केन्द्रमा राखेर काम गरिरहेको बताएका थिए । सरोकारवाला समन्वय र सहकार्य गरेर अघि बढिरहेको उनले दाबी गरे । उनले भने, ‘हामीसँग सीमित स्रोत र साधन छ । जनताका अथाह आकांक्षा छन् । विविध समस्याका बीच राप्ती सोनारीको पूर्वाधार, विकास, स्वरोजगार सिर्जना र क्षमता विकासमा काम गरेका छौँ ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच समन्वय हुन आवश्यक रहेको बताए । उनका अनुसार स्थानीय तहका असल अभ्यासको प्रचारपसार हुन सकेको छैन । कर्मचारीले सेवा भावले काम गरिदिने र जनप्रतिनिधिले जनताको चाहना अनुसार कर्मचारीसँग मिलेर कानुनसम्मत रूपमा काम गरिदिने हो भने स्थानीय सरकार वास्तवमै नमुना हुने उनले बताए ।
राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिसासिंह थारूले राप्ती सोनारी गाउँपालिकाले गाउँगाउँमा सिंहदरबार भन्ने भनाइलाई चरितार्थ गरेको बताइन् । उनले भनिन्, ‘स्थापना दिवसको अवसरमा सम्मानित हुने व्यक्तिहरूलाई बधाई छ । उहाँहरूले गर्नु भएको संघर्षको उच्च कदर गर्दै सम्मान गरिएको हो । गाउँपालिकाले आगामी दिनमा पनि अन्य व्यक्तित्वहरूलाई प्रोत्साहित गर्नेछ ।’ आठ वर्षको अवधिमा राप्ती सोनारीमा विकास, पूर्वाधार, कृषि, पशुपालन र स्वास्थ्य क्षेत्रको धेरै विकास भएको उपाध्यक्ष थारूले बताइन् । ८औँ गाउँपालिका स्थापना दिवसको अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, सामाजिक अभियान्ता तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्