बैजनाथमा आफ्नै भवन बनाउँदै नमुना समाज



बाँके ।

१६ वर्षअघि स्थापना भएको सामाजिक संस्था नमुना समाज विकास केन्द्रले बाँकेको बैजनाथमा आफ्नै भवन निर्माण गर्ने भएको छ । बैजनाथ गाउँपालिका– ५ वनकटुवामा नमुना समाज विकास केन्द्रले आफ्नै भवन बनाउन लागेको हो । कार्यालय भवनको सोमबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले शिलान्यास गरेका थिए ।

नमुना समाज विकास केन्द्रका अध्यक्ष टिकाराम रिजालले वर्षौँदेखी भाडाको घरबाट कार्यालय सञ्चालन हुँदै आएकोमा संस्थाले अब आफ्नै भवन बनाउन लागेको बताए । संस्थाले विगत लामो समयदेखी ग्रामिण क्षेत्रमा सामाजिक कामहरू गर्दै आएको बताउँदै उनले अहिले भवन निर्माणको लागि प्रदेश सरकारले १० लाख रूपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री तिमिल्सेनाले भवन निर्माणका लागि आगामी वर्ष थप रकम विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले नमुना समाज विकास केन्द्रले समाजमा विकृति हटाउने, सामाजिक सद्भाव कायम गर्ने, सांस्कृतिक संरक्षणसँगै पछाडी परेका समुदायको पक्षमा काम गर्नुपर्ने बताए ।

यस्तै मन्त्री तिमिल्सेनाले संविधानविरुद्ध भइरहेको गतिविधिप्रति सबै दल एकजुट हुनुपर्ने दाबी गरे । देशभर पछि काठमाडौँ केन्द्रित हुँदै गएको राजा ल्याउने आन्दोलनलाई संकेत गर्दै उनले भने, ‘संविधानको रक्षा गर्न सत्ता र विपक्षी सबै एकजुट हुनुपर्छ । त्यसको विरुद्ध संविधान जारी गर्ने दलहरू एकजुट हुनुपर्नेछ ।’

मन्त्री तिमिल्सेनाले शिक्षाको गुणस्तर सुधार्न आफू लागिपरेको दाबी गरेका थिए । लुम्बिनीमा ८० हजारले परीक्षा दिँदा ३१ हजार मात्र पास भएको बताउँदै यति धेरै किन फेल भइरहेका छन्, त्यसको सोधीखोजी गरिरहेको उनले बताए ।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले सामाजिक विकासमा संघसंस्थाको योगदान महत्वपूर्ण रहने बताएका थिए । सामाजिक काम गर्ने संस्थालाई सरकारले उचित म्ूल्यांकन गर्न आवश्यक रहेको बताउँदै उनले आर्थिक, सामाजिक क्षेत्रमा नमुना समाज विकास केन्द्रले गरेको काम महत्वपूर्ण रहेको बताए ।

भवन शिलान्यास कार्यक्रममा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाया, वडा नम्बर ५ का अध्यक्ष देवबहादुर रावत, वडा नम्बर ३ का अध्यक्ष निखिल बैगार, वडा नम्बर ४ का अध्यक्ष प्रेमबहादुर शाही, वडा नम्बर ६ का अध्यक्ष भुपाल पुन मगर, वडा नम्बर ८ का अध्यक्ष भगन थारू, नेपाली कांग्रेस बैजनाथका सभापति देवबहादुर केसी, नेकपा एमाले बैजनाथका अध्यक्ष मनबहादुर खत्री, सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख उद्धव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २७ गते मंगलबार