निजामती सेवा ऐन संशोधनको माग गर्दै प्रदेश सभा घेराउ



धनगढी ।

थारू समुदायले सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन संशोधनको माग गर्दै आइतबार सुदूरपश्चिम प्रदेश सभा सचिवालय घेराउ गरेको छ । जनसङ्ख्या अनुसार समानुपातिक प्रतिनिधित्व हुने गरी आरक्षण कोटा बढाउनु पर्ने अडानसहित ऐन संशोधनको माग गर्दै घेराउ गरिएको हो ।

ऐन संशोधनको मागसहित थारू र रानाथारू समुदायका अगुवाले विभिन्न समय आन्दोलन गर्दै आएका थिए । संघर्ष समितिका संयोजक सानु चौधरीले प्रदेश लोकसेवा आयोगले निकालेको नवौँ तहको विज्ञापन तत्काल स्थगन गर्नुपर्ने बताइन् । उनले माग पूरा नभए चरणबद्धरूपले आन्दोलनमा उत्रिने चेतावनी दिइन् ।

स्थानीय तहमा कार्यरत करारका कर्मचारीलाई स्वतः स्थायी बनाउने गरी प्रदेश सरकारले बनाउन लागेको कानुनको विरुद्धमा उत्रेका विद्यार्थीहरूको पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाएको उनले बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २६ गते सोमबार