कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका–५ स्थित भेरी फ्युचर स्टार इङ्ग्लिस मिडियम स्कुलले शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । आइतबार बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाको प्रमुख आतिथ्यतामा शैक्षिक प्रर्दशनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष रोकायाले भेरी फ्युचर स्टर इङ्ग्लिस मिडियम स्कुलमा अध्ययनरत विद्यार्थीहरूले गरेको शैक्षिक प्रदर्शनीले मनै लोभ्याएको बताइन् । उनले विद्यार्थीहरूको चौतर्फी विकासका लागि स्कुलले अतिरिक्त क्रियाकलापका साथसाथै प्रयोगात्मक शिक्षालाई समेत जोड दिएको पाइएको बताइन् ।
शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरणले विद्यार्थीहरूको थप मनोबल बढ्नुका साथै उत्साह बढ्ने विश्वास लिएको बताउँदै उनले विद्यालयले गुणस्तरीय शिक्षा सँगसँगै संस्कार सहितको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिइन् । भेरी फ्युचर स्कुलले गए वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याई आफूलाई अब्बल प्रमाणित गरिसेको बताइन् । पछिल्लो समय युवाहरू कुलतमा फसेको प्रति चिन्ता व्यक्त गर्दै उनले अभिभावक समेत आफ्ना बालबालिकाप्रति सचेत हुन आग्रह गरिन् । आफ्नो बालबालिका कहाँ जान्छन् ? स्कुल जान्छन जाँदैनन् ? उनीहरूको संगत र साथिहरू कस्ता छन् ? लगायतका विषयमा अभिभावक जानकार भए कुलतबाट बचाउन सकिने उनको भनाइ थियो ।
बैजनाथलाई शैक्षिक हब बनाउनका लागि स्कुलले एक इट्टा थपेको नेशलन प्याब्सन बैजनाथका संयोजक कमानसिंह थापाले बताए । उनका अनुसार स्कुलले आफूलाई अन्य स्कुल भन्दा फरक रूपमा चिनाउन खोजिरहेको पाइएको जानकारी दिए । शैक्षिक प्रदर्शनी गर्न अन्य विद्यालयहरूले पनि यस स्कुलबाट सिक्नुपर्ने बताए । उनले स्कुलले बैजनाथमा पहिलोपटक नौलो अभ्यास गरेकोसमेत जानकारी दिए । विद्यार्थीहरू लगनशील, जागरुक हुने भएकाले नयाँ कुराहरू सिक्न र बनाउन उनीहरूलाई यस्ता शैक्षिक प्रदर्शनीले महत्वपूर्ण अर्थ राख्ने बताए ।
वर्षभर भए गरेका गतिविधिहरू स्कुलले प्रत्येक वर्ष शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै आएको स्कुलका प्रबन्धक थोमस ताम्राकारले बताए । कक्षा नर्सरी देखि १० कक्षा सम्मका विद्यार्थीहरूले शैक्षिक सत्रभर सिकेका कुराहरूलाई शैक्षिक प्रदर्शनीको माध्यमबाट प्रस्फुटन गरेको उनको भनाइ छ ।
बालबालिकाले गरेको शैक्षिक प्रदर्शनीले साँच्चिकै सबैको मन लोभ्याएको उनले बताए । शिक्षकहरूको अथाह प्रयास र मिहिनेतले शैक्षिक प्रदर्शनी उत्कृष्ट बनेको सबैले प्रतिक्रिया दिएको भन्दै खुसी व्यक्त गरे । स्कुलले शैक्षिक गतिविधि फरक ढंगले अघि बढाएको बताउँदै उनले सबैको साथ सहयोगले भेरी फ्युचर एउटा ताराका रूपमा उदाएको उनले दाबी गरे ।
सो अवसरमा विद्यार्थीहरूले विविध संस्कृति झल्काउने कला, शैक्षिक गतिविधिहरू प्रदर्शनी गरेका थिए । अभिभावकहरूले अवलोकन गर्दै खुसी व्यक्त गरेका थिए । २०८० मा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्