बाँकेमा करोडौँ कमाउने लोभमा १७ वर्षीया किशोरी बेच्ने प्रयास, एक महिलासहित तीन पक्राउ



आरोपित तेजु थारूले किशोरीका अभिभावकलाई तिम्रो छोरीलाई राम्रो हुने काम छ भनेर प्रलोभन देखाए । मोहम्मदले किशोरीको उचाइको नाप लिए, कल्पनाले महिनावारीबारे सोधिन् । अनि भित्री कोठामा उनीहरूले भने, ‘तिमीलाई कुटीमा पूजा गर्न लान्छौँ । तिमी र पुजारी मात्र हुन्छौ । तिमीले जे जति रूपैयाँ माग्छौ त्यति रूपैयाँ पाइन्छ । करोडौँ रूपैयाँ प्राप्त हुन्छ ।’ भाग्यवश उनीहरूबाट उम्किएर घर पुगेकी किशोरीको बयानपछि अभिभावकले प्रहरी गुहारेका हुन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ विसम्भरपुर गाउँकी १७ वर्षीया किशोरीलाई एक समूहले विभिन्न प्रलोभन देखाएर भारतमा बेच्ने प्रयास गरेको खुलेको छ । राप्ती सोनारी–७ स्थित एक विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया किशोरीका आमाबुवालाई ‘तिम्रो छोरीलाई फाइदा हुने काम छ’ भन्दै प्रलोभन देखाएर भारतमा बेच्ने प्रयास गरेको खुलेको हो । आफूहरूलाई झुक्याएर प्रलोभनमा पारी आफ्नै गाउँका दुई जनासहित तीन जनाले छोरीलाई बेचेर करोडौँ रूपैयाँ कमाउने मनसाय राखेर अमानवीय कार्य गरेको भन्दै किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेमा किटानी जाहेरी दर्ता गराएका छन् । पीडित किशोरीकी आमाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फागुन २४ गते तीनजनाविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

छोरीलाई बेचेर करोडौँ कमाउने मनसायले गैरकानुनी कसुर गरेको आरोप लगाउँदै पीडितकी आमाले राप्ती सोनारी–६ मोहनपुर गाउँकी अन्दाजी २९ वर्षीया कल्पना रायमाझी, राप्ती सोनारी–७ बस्ने अन्दाजी ४६ वर्षीय चिजमान भन्ने तेजु थारू र बाँके डुडुवा गाउँपालिका वडा नम्बर ३ हलबलडोली गाउँ बस्ने अन्दाजी ३५ वर्षीय लल्लु भन्ने मोहम्मद इसरारुल हक खाँविरुद्ध किटानी जाहेरी दर्ता गरेकी हुन् ।

जाहेरीमा भनिएको छ, ‘उनीहरूले भारतमा बेच्न लैजाने क्रममा भागेर अर्को घरमा लुकी ज्यान बचाउन सफल भएकी छन् । पछि पनि तीनै जना खोजतलास गर्दै हाम्रो घर आएका रहेछन् । सो कुरा गाउँघरका मानिसहरूमार्फत सुनी थाहा पाएकी हुँ ।’ सो घटनाका विषयमा ती किशोरीले अभिभावक र कोही कसैलाई पनि जानकारी गराएकी थिइनन् । उक्त दिनदेखि छोरी डराएको जस्तो, कोही कसैसँग नबोल्ने र एकान्तमा टोलाउने गरेको आमाले बताइन् । उनका अनुसार २४ गते बिहान ८ बजेतिरको समयमा छोरी तिमीलाई के भएको हो, नडराई सबै कुरा भन भनेर सोधपुछ गर्दा सबै कुरा जानकारी भएको हो ।

‘मेरी नाबालिका छोरीलाई भारतमा लगी बेचबिखन गर्ने, अनैतिक कार्यमा लगाउने लगायत उद्देश्यले ललाइफकाइ भारत लगिरहेको अवस्थामा छोरी भागेर ज्यान बचाइन् । निज अन्यायीहरूलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसापसार (नियन्त्रण) ऐन २०६४ बमोजिम हदैसम्मको सजाय जरिवाना गरी पाउँ ।’ किटानी जाहेरीमा भनिएको छ । इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेले किटानी जाहेरी दर्ता भएको पुष्टि गरेको छ ।

यस्तो छ, घटनाको नालीबेली

२०८१ फागुन २१ गते राती १० बजे राप्ती सोनारी–७ का ४६ वर्षीय तेजु थारू बालिकाको घर पुग्छन् । घरमा रहेका किशोरीका अभिभावकले तेजुलाई सोध्छन् के कति कारणले आएको हो ? ‘तिम्रो छोरीलाई राम्रो फाइदा हुने काम छ । तिम्रो छोरीलाई मेरो घरमा लिएर आउ’ तेजु भन्छन् । केही विशेष होला भनेर उनीहरूले छोरीलाई लिएर तेजुको घरमै पुग्छन् । उनीहरू त्यहाँ पुग्दा मोहम्मद इसरारुल हक खाँ र कल्पना रायमाझी पहिलेदेखि नै आएर त्यहाँ बसिरहेका थिए । १७ वर्षीया किशोरी त्यहाँ पुग्ने वित्तिकै मोहम्मदले उनको उचाइ लिए, कल्पनाले महिनावारीबारे सोधिन् । त्यसपछि कल्पनाले भनिन्, ‘सहकारीमा काम लगाइदिन्छु । तिम्रो नम्बर देउ । भोलि बिहान मेरो घरमा आउनु होला ।’

२२ गते बिहान किशोरीकी आमा काम विशेषले गाउँ बाहिर गएकी थिइन् । बिहानै ८ बजेतिर कल्पनाले फोन गरेर उनलाई तेजुको घरमा बोलाइन् । किशोरी तेजुको घर पुग्दा मोहम्मद र कल्पना त्यहीँ थिए । उनीहरूले तेजुको घरको भित्री कोठाभित्र लगेर पुनः नाप लिई १ ट्याब्लेट औषधी खुवाउँछन् । तीनै जनाले किशोरीलाई भन्छन्, ‘तिमीलाई भारतको बहराइच जिल्ला नानपारा बेगमपुरस्थित कुटीमा पूजा गर्न लैजान्छौँ । तिमी र पुजारी मात्र बन्द कोठामा हुन्छौ । उक्त समयमा तिमीले जे जति रूपैयाँ माग्छौ त्यति रूपैयाँ पाइन्छ । करोडौँ रूपैयाँ प्राप्त हुन्छ । उक्त रूपैयाँ आधा आधा भागबण्डा गरौँला ।’ त्यही बेला तेजुले कल्पना र मोहम्मदलाई सोध्छन्, ‘यो केटीको ज्यान गयो भने के गर्ने ?’ मोहम्मद इसरारुल हक खाँ भन्छन्, ‘एकजनाको ज्यान गएर के हुन्छ र अन्य मानिसको ज्यान बच्छ, एकजनाको ज्यान जाँदैमा केहीपनि हुँदैन ।’

तीनै जनाका कुरा सुनिरहेकी किशोरी निकै डराउँछिन् । उनी उक्त घरबाट भाग्छिन् । अर्काको घरमा लुकेर ज्यान बचाउँछिन् । बेचिनबाट मुस्किलले जोगिएर उनी जब घर पुग्छिन् । उनी पहिलाको भन्दा फरक व्यवहार गर्न थाल्छिन् । आफ्नी छोरीमाथि भएको त्यत्रो घटनाबारे अनभिज्ञ हुन्छन् उनका अभिभावक । जतिबेला छिमेकीहरूले तीन जनाले घर खानतलासी गरेको कुरा सुनाउँछन् । त्यसपछि मनमा चिसो पसेपछि अभिभावकले छोरीलाई सोध्दा यस्तो रहस्य खुलेको हो ।

घटना गम्भीर प्रकृतिको छ, कारण खोज्दैछौँ : प्रहरी

इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेले पीडित परिवारले किटानी जाहेरी दर्ता गरेको पुष्टि गरेको छ । ‘हामीलाई सुन्दापनि अचम्म लागेको छ । घटना गम्भीर प्रकृतिको छ । तथ्यमा आधारित भएर यसको मूल कारण खोज्दैछौँ,’ प्रहरी निरीक्षक टोपेन्द्रबहादुर बुढाले भने । उनका अनुसार घटनामा सलंग्न रहेका भनिएका तीनै जनालाई पक्राउ गरिएको छ । कार्यालयमा जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले आरोपित तीनै जनालाई राप्ती सोनारी–७ स्थित एकै स्थानबाट पक्राउ गरेको प्रहरी निरीक्षक बुढाले मिसन टुडेलाई जानकारी दिए ।

‘तीनै जनालाई नियन्त्रणमा ल्याइएको छ । पक्राउ लगत्तै अनुसन्धान प्रक्रिया सुरु भइसकेको छ । तीनै जनाविरुद्ध म्याद थप गरिएको छ ।’ उनले भने । गम्भीर प्रकृतिको घटनाका आरोपितलाई पक्राउ गरेर प्रारम्भिक बयान लिनुका साथै अन्य कानुनी प्रक्रिया पूरा गरेर विस्तृत अध्ययनको कार्य भइरहेको उनको भनाइ छ । विस्तृत अनुसन्धानपछि सबै कुरा खुल्दै जाने र पीडित बालिका सुुरक्षित रहेको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २६ गते सोमबार