नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशका ८ जना महिला उद्यमी सम्मानपत्र र जनही नगद १-१ लाख रकमसहित सम्मानित भएका छन् । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कर्णाली सरकारले उनीहरूलाई सम्मान गरेको हो ।
उनीहरू स्थानीय स्रोत, साधनको उपयोग गरी उद्योग स्थापना गरेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आएका छन् । ८ जना महिला उद्यमीलाई आर्थिक विकास र समृद्धिमा योगदान पु¥याएको भन्दै प्रदेश सरकारले जनही १-१ लाख नगदसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको हो ।
सम्मानित हुने उद्यमी महिलाहरूमा जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित सृष्टि एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योगकी सञ्चालक नारायणी चौलागाईं, डोल्पाको जगदुल्ला गाउँपालिका–३ स्थित करुणा घरेलु तथा अल्लो उद्योगकी सञ्चालक ललिता थापा र हुम्लाको सिमकोट गाउँपालिका–५ स्थित लक्ष्मी सिलाई कटाई उद्योगकी सञ्चालक लछु भण्डारी रहेकी छन् ।
त्यस्तै सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१० स्थित दिदीबहिनी बाख्रा फार्मकी सञ्चालक गीताकुमारी पुनमगर, कालिकोटको रास्कोट नगरपालिका–५ स्थित शाही पोल्ट्री फार्मकी सञ्चालक सीता शाही, दैलेखको नारायण नगरपालिका–६ स्थित विन्दु सिलाई कटाई उद्यमकी सञ्चालक विन्दुकुमारी उपाध्याय रहेका छन् । यस्तै मुगुको छायाँनाथ रारा नगरपालिका–२ स्थित सविना टेलर्सकी सञ्चालक सविना रोकाया र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित देउती होजियारी उद्योग एण्ड ट्रेडिङ सेन्टर प्रालिकी सञ्चालक सुजाता पाण्डे सम्मानित भएका हुन् ।
दिवसमा सम्मानपछि बोल्दै जुम्लाकी उद्यमी नारायणी चौलागाईंले कर्णालीका अधिकांश महिलाका नाममा जग्गा नहुँदा उद्योग दर्ता गर्न समस्या हुने गरेको बताइन् । ‘प्रविधिको युगमा पनि आवश्यक मेसिन तथा उपकरणहरू सहजै प्राप्त हुँदैनन् । प्राप्त भएपनि महँगो हुँदा उत्पादनशील उद्योगहरू विस्तार गर्न समस्या भइरहेको छ’ उनले भनिन्, ‘प्रदेश सरकारले यसतर्फ पनि ध्यान दिई विषेश अनुदान दिन आग्रह छ । जसले गर्दा महिला उद्यमीलाई उत्पादनमा हौसला प्राप्त हुनेछ ।’
कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री बिजया बुढाले दुर्गम क्षेत्रमा सबै महिलाहरूले अझैपनि अधिकारका लागि संघर्ष गर्नुपर्ने बाध्यता रहेको बताइन् । ‘अधिकार मागेर नभई अब खोसेर लिनुपर्ने बाध्यता पनि छ । अझैपनि कर्णालीका महिलाहरूलाई समाजमा हेर्ने दृष्टिकोण फरक छ’ उनले भनिन्, ‘कर्णालीका दुर्गम क्षेत्रहरूमा महिलाहरूले आफ्ना हक अधिकारका लागि निरन्तर संघर्ष गर्नुपरेको छ । तर अब कुनैपनि क्षेत्रमा महिला पछि पर्न हुँदैन । महिलाले सञ्चालन गरेका उद्यममा सरकारले लगानी गर्नुपर्छ ।’
पछिल्लो समय महिलाहरूलाई गरिने व्यवहारमा केही सकारात्मक परिवर्तन आएपनि अझै समानता हासिल गर्न धेरै परिश्रम गर्नुपर्ने मन्त्री बुुढाले बताइन् । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश सरकारको लक्ष्य १ जिल्ला १ महिला उद्यमीलाई सम्मान गर्ने योजना रहेपनी जाजरकोट र रूकुमपश्चिमका उद्यमीहरूको तोकिएको प्रक्रिया पूरा नभएकाले हाल ८ जिल्लाका उद्यमीलाई मात्रै पुरस्कृत गरिएको जानकारी दिए । ‘बाँकी दुई जिल्लाका उद्यमीलाई पनि छिट्टै आवश्यक प्रक्रिया पूरागरी सम्मान गरिनेछ’ उनले भने, ‘आगामी बजेटमा प्रदेश सरकारले प्रदेशभरका प्रत्येक स्थानीय तहमा यस्तोखाले कार्यक्रम लागुगर्नेछ । यदि यसो गर्न नसकिएपनि प्रत्येक निर्वाचन क्षेत्रसम्म भएपनि यो कार्यक्रम विस्तार गर्ने तयारी छ ।’
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकारीहरूले पनि आगामी बजेट निर्माणमा पूर्वाधारका साथै मानव संसाधन विकासलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले प्रदेश सरकारले महिला उद्यमशीलतालाई अझै प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रमले कर्णाली प्रदेशका उद्यमशील महिलाहरूलाई थप प्रेरणा दिने विश्वास गरिएको छ । महिला उद्यमीलाई प्रदेश सरकारले गरेको यो सम्मानलाई आम नागरिकले सकरात्मक कार्यक्रम रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्