कोहलपुर (बाँके) ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले हरेक वर्ष प्रदान गर्दै आएको ‘पूर्णिमा साहित्य रत्न–२०८०’ साहित्यकार प्राडा देवी नेपाललाई प्रदान गरिएको छ । शनिबार कोहलपुरमा आयोजित एक कार्यक्रममा नेपाललाई २५ हजार ५ सय ५५ रूपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो । सोही अवसरमा ‘तुलसीराम स्मृति पुरस्कार–२०८०’ बाट नेपालगन्जका पुराना साहित्यकार गणेश जिसीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी ७ हजार ७ सय ७७ रूपैयाँ रहेको छ । साहित्यकार नेपाल र जिसीलाई प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले पुरस्कार प्रदान गरेका थिए ।
‘पूर्णिमा साहित्य रत्न’ वि.स.२०६९ मा स्थापना गरिएको थियो । वि.स.२०७० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको पूर्णिमा साहित्य रत्नबाट हालसम्म ९ जना सम्मानित भइसकेका छन् । पूर्णिमा साहित्य प्रतिष्ठानको सबैभन्दा बढी राशी भएको पुरस्कारबाट अहिलेसम्म स्वर्गीय प्रेमप्रकाश मल्ल, सनत रेग्मी, दिनेश अधिकारी, माया ठकुरी, श्रेष्ठ प्रिया पत्थर, प्राडा रामप्रसाद ज्ञवाली, नयनराज पाण्डे, महेशविक्रम शाह लगायत सम्मानित भइसकेका छन् ।
‘पूर्णिमा साहित्य रत्न–२०८०’ बाट पुरस्कृत नेपालकोे जन्म २०३० बैशाख १८ गते पाँचथर जिल्लामा भएको हो । १६ वर्षको उमेरदेखि २०४६ सालमा ‘किसान’ शीर्षकमा कविता छपाएर साहित्य यात्रा सुरु गरेका थिए । वि.स. २०५७ सालमा प्रकाशित ‘श्रद्धाञ्जली’ खण्डकाव्य नेपालको पहिलो प्रकाशित कृति हो । उनका हालसम्म २७ वटा साहित्यिक कृति प्रकाशित छन् । देवी नेपालले हालसम्म ४ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन् । उनले अहिलेसम्म राष्ट्रिय पुरस्कारको हकमा युवा वर्ष मोती पुरस्कार (२०६७), वाणी पुरस्कारसमेत प्राप्त गरेका छन् ।
कार्यक्रममा बोल्दै सष्ट्रा सम्मान कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रतिनिधि सभा सदस्य ढकालले साहित्य समाजको ऐना भएको बताए । उनले साहित्यका माध्यमबाट समाज परिवर्तनको भूमिका खेल्न सकिने बताए । पश्चिम नेपालमा नयाँ प्रतिभा पहिचान र अग्रजहरूको सम्मानका क्षेत्रमा पूर्णिमाले राम्रो भूमिका खेलेको प्रतिनिधि सभा सदस्य ढकालले बताएका थिए ।
पूर्णिमाको पक्की संरचना निर्माणका लागि आफ्नो तर्फबाट सतप्रतिशत सहयोग रहने उनको भनाइ थियो । ‘पूर्णिमाले साहित्यमार्फत कोहलपुरलाई चिनाएको छ । साहित्य क्षेत्रको संस्थागत विकास हुन आवश्यक छ । अहिले पूर्णिमाले नयाँ पक्की भवन बनाउन सुरु गरेको थाहा पाएको छु । मेरो कार्यकालभित्रै उक्त भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ प्रतिनिधि सभा सदस्य ढकालले भने ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुस्कर रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानले सुरु गरेको संघर्ष सङ्गातीको दोस्रो श्रृङख्ला कार्यक्रमको आयोजना गरिएको थियो । ‘संघर्ष सङ्गाती’को दोस्रो श्रृङखलामा प्राडा जनार्दन आचार्य र किरण आचार्यले जीवन संघर्र्ष, उपलब्धि, शिक्षा र साहित्य सम्बन्धी अन्तर संवाद गरेका थिए । छन्द कवि प्राडा देवी नेपालले केही चर्चित कविताहरू सुनाएको कार्यक्रममा बाँकेका दर्जनौँ साहित्यकारहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्