‘मार्च ८’ अर्थात महिला दिवसलाई उत्सवका रूपमा मनाउनुपर्ने लुम्बिनी प्रदेश सांसद सञ्जुकुमारी चौधरीले बताएकी छन् । सांसद चौधरीले शनिबार ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर कोहलपुर नगरपालिका महिला बालबालिका शाखाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।
उनले वर्षको एक पटक मनाइने दिवस खुसीले सेलिब्रेसन गरेर मनाउनु पर्नेमा जोड दिइन् । प्रत्येक वर्ष झैँ यसवर्ष पनि विभिन्न क्षेत्रमा आवद्ध महिलाहरूको सहभागितामा दिवस मनाउँदै आएको बताइन् । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै आएको उनले जानकारी दिइन् ।
दिवस महिलाहरूको हक, अधिकार, समानता र सामाजिक न्यायका लागि निरन्तर गरिएको संघर्षलाई सम्मान गर्दै थप उपलब्धिका लागि संकल्प गर्ने अवसर समेत रहेको उनले बताइन् । संविधानले पनि महिलाको हक अधिकार सुनिश्चत गरेपनि कार्यकारी भूमिकामा बाध्यतात्मक रूपमा महिलाको प्रतिनिधित्व रहने गरेको भन्दै दुःखेसो पोखिन् ।
सांसद चौधरीले पहिलाको भन्दा केही अधिकार महिलाले पाएपनि जति पाउनुपर्ने हो अहिले पनि प्राप्त गर्न नसकेको बताइन् । महिलाहरूले सक्रियताका साथ पाएको अधिकार उपयोग गर्न सक्नुपर्ने उनले जनाइन् । अहिले विभिन्न क्षेत्रको प्रतिनिधित्व महिलाले गर्नु यो मार्च ८ को आन्दोलनको उपज रहेको सांसद चौधरीको भनाइ थियो ।
सामाजिक, आर्थिक र राजनीतिक रूपमा अझै पछाडि परेका छौँ कि भन्ने मनोविज्ञानलाई अन्त्य गर्न सबै एकजुट हुनुपर्ने कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए । संविधान र कानुनहरू थुप्रै बनेपनि सोही अनुसारको व्यवहारमा लागु भएको छ कि छैन भन्ने आजको मुख्य कुरा रहेको उनको भनाइ छ ।
महिला अधिकारका मुद्दाहरू र मागहरू मात्र नभई कर्तव्यहरू पनि रहने नगर प्रमुख आचार्यले बताए । समाजलाई गतिशील ढंगबाट अघि बढाउन आ–आफ्नो ठाउँबाट सबै जिम्मेवारी भएर लाग्नुपर्नेमा उनले जोड दिए । दिवसको शुभकामना दिँदै उनले नगरपालिकाले पनि महिलाहरूलाई सक्षम बनाउन सशक्तीकरण लगायतका तालिमहरू प्रदान गर्दै आएको बताए ।
कोहलपुर नगरपालिकाले विशेषगरी महिलालाई सशक्त बनाउने कुरामा जोड दिएको नगर उपप्रमुख संगिता सुवेदीले बताइन् । कार्यक्रमको अध्यक्षसमेत रहेकी सुवेदीले महिलाले पनि पुरुषसरह ज्याला पाउनुपर्नेमा जोड दिइन् । कार्यक्रमको शुभकामना दिँदै उनले सबै छोरीलाई शिक्षित बनाउन जरुरी रहेको बताइन् ।
दिवसका अवसरमा गत शुक्रबार नगरपालिका क्षेत्रभित्र रहेका महिलाहरूको सहभागितामा भलिबल प्रतियोगिता, अपांगता भएका महिलाहरूका लागि ह्विलचियर प्रतियोगिता र समग्र महिला सहभागिताका लागि कुर्सी दौड प्रतियोगितामा उत्कृष्ट भएकालाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्