कोहलपुर गोल्डकपका फाइनलिष्टलाई जंगल सफारी



कोहलपुर (बाँके) ।

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनल पुगेका दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराइएको छ । गोल्डकपको फाइनलमा प्रवेश गरेका राइजिङ स्टार फुटबल क्लब, नवलपरासी र आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लबका खेलाडीलाई जंगल सफारी गराइएको हो ।

दुवै टोली उपाधिको लागि फाइनल भिड्नु अघि दुवै टिमका खेलाडीहरूलाई पूर्व निर्धारित कार्यक्रम अनुसार राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराइएको आयोजक कोहलपुर रेसिङ साहारा क्लबले जनाएको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीका अनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत खड्गवार हात्तिसारमा एकजना विदेशी खेलाडीसहित १८ जनालाई सफारी गराइएको थियो ।

उनले खेलाडीहरूलाई विश्रामका साथै स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निकुञ्ज भ्रमण गराइएको जानकारी दिए । खेलाडीहरूले हात्तिसारमा चितल, निलगाइ, बँदेल र चौका हेरेका थिए । राइजिङ स्टार फुटबल क्लब, नवलपरासीका खेलाडीहरूका अनुसार, प्राकृतिक वातावरणमा समय बिताउँदा नयाँ ऊर्जा प्राप्त भएको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार