प्रतियोगिताका खेलहरू दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, रूपन्देहीको सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा हुनेछन् । लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भोलि प्रतियोगिताको उद्घाटन खेल हुने आयोजक क्यानले जनाएको छ ।
शिवु खनाल । दाङ ।
लुम्बिनी प्रदेशका तीन मैदान खेल सञ्चालन हुने प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलि आइतबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघका अनुसार प्रतियोगिताका खेलहरू दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, रूपन्देहीको सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा हुनेछन् । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीसहित १० टिम सहभागी हुने क्यानले जनाएको छ ।
यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता लमहीमा सम्पन्न भएको थियो । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव तथा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानका संयोजक कैलाश रोकाले प्रधानमन्त्री कप पुरुष क्रिकेटमा ४७ खेलमध्ये लमहीमा १४ खेल हुने जानकारी दिए । अन्य खेल सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा हुनेछन् । भोलिदेखि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुनेछ ।
प्रतिष्ठित मानिएको यो प्रतियोगितालाई लक्षित गर्दै प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेल मैदान तयारीको अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि मैदान सम्याउने, पिच निर्माण, दर्शक दीर्घा व्यवस्थापन, सुरक्षा संरचना र अन्य भौतिक पूर्वाधार मर्मत सम्भारका कार्य सकिएको संयोजक रोकाले बताए । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरूङले खेलाडीलाई दक्ष बनाउन र प्रतिस्पर्धामा ल्याउन क्यानको आयोजनामा प्रतियोगिता हुन लागेको बताए । रातो बल र सेतो पोसाकमा खेलिने क्रिकेट प्रतियोगिता ५० ओभरको हुनेछ ।
उनका अनुसार प्रतियोगितामा नेपालका विभिन्न प्रदेश तथा विभागीय टिमका उत्कृष्ट खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । स्थानीय तह र खेलप्रेमीहरू पनि प्रतियोगिताप्रति उत्साहित देखिएका छन् । नेपाल क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप मजगैँयाका अनुसार प्रतियोगितामा दर्शकको सहभागिता उत्साहजनक बनाउन टिकट व्यवस्थापन, सुरक्षा योजना र स्वास्थ्य सहायता सेवाको तयारी पनि भइरहेको छ । प्रतियोगिता हेर्न लमही, भैरहवा, बुटवललगायतका स्थानबाट दर्शकको ठूलो उपस्थिति हुने अपेक्षा गरिएको उनले बताए ।
लमहीका युवा प्रेम पुलामी भन्छन्, ‘हाम्रो मैदानमा यति ठूलो प्रतियोगिता हुन लागेको छ । हामी सबै खुसी छौँ । मैदान मर्मत सम्भार लगायतका विभिन्न काम भइरहेकाले अब छिट्टै तयारी पूरा हुन्छ भन्ने विश्वास छ ।’
प्रतिक्रिया दिनुहोस्