‘फुटबल संस्कृति’ विकास गर्दै कोहलपुर गोल्डकप



गोल्डकपले कोहलपुरमा फुटबलप्रेमीहरूलाई जमघट हुने र खेल हेर्ने अवसर नै जुराइदिएको छ । ९३ वर्षीय वृद्धदेखि बालबालिकासम्म कोहलपुर गोल्डकप भइरहेको तेह्र बिगाह मैदानसम्म पुगिरहेका छन् । कोहलपुर अहिले फुटबलमय भइरहेको छ भन्दा फरक पर्दैन । प्रवेश शुल्क तिरेरै नै फुटबल खेल हेर्न मानिसहरू मैदानमा पुगिरहेका छन् ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

दैलेख घर भइ हाल कोहलपुरमा बसोबास गर्दै आएका ९३ वर्षीय खुमबहादुर शाही कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपका नियमित दर्शक हुन् । उनी कोहलपुरमा फागुन १७ गतेदेखि गोल्डकप सुरु भएको दिनदेखि नियमित खेल हेर्न मैदान पुगिरहन्छन् । फुटबल आफ्नो मनपर्ने खेल रहेको उनी बताउँछन् । गोल्डकपका नियमित दर्शक मध्येका एक उनी इच्छा र चाहना हुने हो भने फुटबल हेर्न उमेरले रोक्दैन भन्ने उदाहरण बनेका छन् । ‘म सधैँ हेर्न आउँछु । मलाईँ फुटबल एकदमै मन पर्छ । सधैँ हेर्न आउँछु । सबैले राम्रो खेलेका छन् । खेलाडी ठिक छन्’ शाही भन्छन् ।

कोहलपुरमा गोल्डकप आयोजना हुँदा आफूलाई खुसी लागेको उनले बताए । आयोजकले आफूजस्ता वृद्धहरूलाई प्रवेश निःशुल्क गरेका कारण फुटबल हेर्न सहज भएको समेत शाहीले जानकारी दिए । यसैगरी कोहलपुर–११ का १० वर्षीय आयुष ठकुरी पनि गोल्डकपका नियमित दर्शक हुन् । फुटबलप्रेमी उनी हरेक दिन हुने खेल हेर्न आइरहन्छन् । भविष्यमा फुटबल खेलाडी बन्ने उद्देश्य राखेका उनी कोहलपुरमा फुटबल आयोजना हुँदा सिनियर खेलाडीहरूले खेलेको हेर्ने अवसर मिलेको बताउँछन् । उनका अनुसार विदेशी खेलाडीसमेत आउँदा खेलका विषयमा जान्ने अवसर मिलेको छ । साना खेलाडीहरूको समेत प्रतियोगिता गर्न आवश्यक रहेको उनले बताए ।

फरक प्रसंगमा उनले मिसन टुडेसँग भने, ‘दाई हजुरको कुन मिडियाबाट हो । मेरो फोटो आउँछ मिडियामा । हाल्दिनु है जसरी पनि । म मेरो अभिभावकलाई देखाउँछु ।’ यस्तै, कोहलपुर–१३ का वडाध्यक्ष डम्बरबहादुर खड्काको मनपर्ने खेल हो, फुटबल । उनी कोहलपुर र जिल्लास्तरमा हुने फुटबल प्रतियोगिताहरूमा पुग्छन् । आफूलाई सानैदेखि फुटबल खेल मनपर्ने भएकोले अहिलेपनि व्यस्त समयलाई व्यवस्थापन गरेर फुटबल हेर्न पुग्ने गरेको उनी बताउँछन् । कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताका खेल हेर्न नियमित पुगिरहेका हुन्छन्, वडाध्यक्ष खड्का ।

आफूमा रहेको फुटबल प्रेम र नयाँ खेलाडीको हौसलाका लागि उनले सोमबार भएको प्लानिङ ब्वाईज युनाइटेड क्लब, काठमाडौँ र राईनो फुटबल क्लब, गण्डकीबीचको खेलमा स्पोन्सर गरेका थिए । विजयी टोलीलाई प्रदान गरिने म्यान अफ द म्याचको लागि वडाध्यक्ष खड्काले नगद् पाँच हजार रूपैयाँ सहयोग गरे । वडाध्यक्ष खड्का भन्छन्, ‘फुटबल मलाईँ असाध्यै मनपर्ने खेल हो । म सानोमा विद्यालयमा पढ्दा फुटबल खेल्थे । अहिलेपनि फुटबल प्रतियोगिता भएपनि हेर्न छुटाउँदिन् ।’ अर्जेन्टिनाको राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान, विश्वकप विजेता तथा समकालीन फुटबलका विश्व प्रसिद्ध खेलाडी लियोनल मेस्सी खड्काका मनपर्ने खेलाडी हुन् । नेपालका खेलाडीमा राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य प्रिति राई उनका मनपर्ने फुटबल खेलाडी हुन् । कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा सञ्चालन भइरहेको तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताले कोहलपुरमा फुटबलको सांस्कृतिक विकास गरिरहेको उनको भनाइ छ । कोहलपुरलाई फुटबल सहरको रूपमा चिनाउन र नयाँ खेलाडी उत्पादनको लागि स्तरीय रंगशाला आवश्यक रहेको जोड दिँदै उनले कोहलपुर नगरपालिकाले तेह्र बिगाहमा फुटबल रंगशाला निर्माण गर्ने नीति लिएको वडाध्यक्ष खड्काले बताए ।

यस्तै, कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी लक्ष्मणराज पौडेल फुटबल प्रेमी हुन् । व्यवसायी र राजनीतिकर्मीसमेत रहेका पौडेल विश्वमा सबैभन्दा बढी हेरिने र खेलिने फुटबल नेपालमा विकासको चरणमा रहेको बताउँछन् । उनका अनुसार मोफसलमा अहिले थुप्रै गोल्डकपहरू भइरहेका छन् । यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन र खेल संस्कृतिको विकास गर्न भूमिका खेल्ने पौडेलले बताए । ‘कोहलपुरमा गोल्डकपको सुरुवात भएको छ । यसलाई निरन्तरता दिन आवश्यक छ । यसलाई कोहलपुरको पहिचानका रूपमा स्थापित गर्नुपर्छ ।’ उनले भने ।

९३ वर्षीय शाही, १० वर्षीय बालक, वडाध्यक्ष खड्का र व्यवसायी पौडेल त प्रतिनिधि पात्रमात्र हुन् । कोहलपुर गोल्डकपले कोहलपुरमा फुटबलप्रेमीहरूलाई जमघट हुने र खेल हेर्ने अवसर नै जुराइदिएको छ । मोफसलमा आयोजना गरिएको कोहलपुरमा शुल्क तिरेरै खेल हेर्न आउनुलाई सकारात्मक मान्न सकिन्छ । तीन वर्षअघि देखि सुरु भएको गोल्डकपले कोहलपुरमा पैसा तिरेरै भएपनि फुटबल हेर्न आउने माहोल सिर्जना गरिदिएको छ । कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री कोहलपुरलाई खेलकुद पर्यटन सहरका रूपमा विकास गर्ने, ग्रासरुटका बालबालिकाहरूलाई नियमित प्रशिक्षण दिएर उनीहरूलाई भविष्यमा राम्रो खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताउँछन् । उनका अनुसार क्लबले स्थापनाकालदेखि वडा र नगरस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको थियो ।

‘यो गोल्डकपको तेस्रो संस्करण हो । अहिलेसम्म आइपुग्दा कोहलपुरमा फुटबलको माहोल सिर्जना भइरहेको छ । आगामी दिनलाई यसलाई निरन्तरता दिने लक्ष्य छ ।’ उनले अगाडि थपे । कोहलपुर नगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका क्षेत्रीले कोहलपुरमा फुटबलको विकास गर्न स्थानीय सरकारको निकै राम्रो भूमिका खेलेको बताउँछन् । यसैगरी बाँकेका जिल्लाका अन्य स्थानीय सरकार र अन्य सरोकारवालाको समेत गोल्डकप सफल बनाउन सहयोग रहेको उनको भनाइ छ । बाँकेको कोहलपुरमा वि.स.२०७९ सालदेखि सुरु भएको हो, कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता ।

कोहलपुर–२ स्थित कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा गोल्डकप सुरु भएको थियो । हालसम्म प्रथम कोहलपुर गोल्डकप, मुख्यमन्त्री कोहलपुर गोल्डकप सफलतापूर्वक सम्पन्न भइसकेका छन् । फागुन १७ देखि कोहलपुरमा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप सञ्चालन भइरहेको छ । गोल्डकपको तेस्रो संस्करणसम्म आइपुग्दा गोल्डकप कोहलपुरमा फुटबलको माहोल सिर्जना गर्ने प्रमुख माध्यम बनेको छ । गोल्डकपले वृद्धवृद्धा, महिला, बालबालिका, युवायुवतीदेखि राजनीतिककर्मी, व्यवसायीहरूलाई फुटबलमा जोड्न भूमिका खेलेको छ ।

कसले जित्दा गोल्डकपको उपाधि ? 

घरेलु मैदानमा भइरहेको ‘तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप’को फाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लब पाहुना टोली राईजिङ स्टार फुटबल क्लब नवलपरासीको सामना गर्दैछ । कोहलपुर गोल्डकपमा पहिलोपटक फाइनल प्रवेश गरेको आयोजक कोहलपुर रेसिङ साहारा क्लबलाई घरेलु मैदानमा उपाधि जित्ने अवसर छ । यस्तै, पाहुना टोली राईजिङ स्टार फुटबल क्लब नवलपरासी पनि आयोजकबाट उपाधि खोस्ने लक्ष्यमा छ । दुवै टोली कुनैपनि प्रतियोगितामा पहिलोपटक फाइनलमा आमनेसामने हुँदैछन् ।

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनल पूर्व शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तान र टिम कोचले आफूले उपाधि जित्नको लागि खेल्ने दाबी प्रस्तुत गरेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै राईजिङ स्टार फुटबल क्लब नवलपरासीका टिम म्यानेजर धर्मेन्द्र अग्रहरीले आफ्नो टोलीले ट्रफी लिने उद्देश्यसहित फाइनल खेल्ने बताए । उनले आफ्नो टोली शसक्त रूपमा खेल्ने र उपाधि जित्ने आशा व्यक्त गरे । ‘हामी फाइनलका लागि पूर्ण रूपमा तयार छौँँ । मुख्य लक्ष्य नै उपाधि जित्ने हो । जित्नकै लागि खेल्ने छौँँ’ म्यानेजर अग्रहरीले पत्रकारहरूसँग भने । उनले आयोजकको प्रशंसा गर्नसमेत भ्याए । आयोजकको व्यवस्थापन पक्ष असाध्यै राम्रो भएको भन्दै कोहलपुर गोल्डकप बाँकेमा फुटबलको विकासका लागि कोशेढुंगा सावित हुनेसमेत उनले बताए ।

यस्तै, नवलपरासीका कप्तान विनोद केवटले आयोजक क्लबलाई दर्शक र घरेलु मैदानको सहजता भएपनि आफ्नो टिम एकताबद्ध भएकाले निर्धारित समयमै जित्ने गरेर फाइनल खेल्ने बताए । आयोजक कोहलपुर रेसिङ साहारा क्लबका कोच रामजित चौधरीले पहिलोपटक फाइनल प्रवेश गरेको र उपाधि जित्ने विश्वास व्यक्त गरे । उनले आफ्नो क्लबसँग अनुभवी, नयाँ र विदेशी खेलाडीको राम्रो संयोजन रहेको दाबी गरेका थिए ।

आफ्नो टोली उत्कृष्ट लयमा रहेको भन्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन आतुर रहेको कोच चौधरीको भनाइ थियो । ‘पहिलोपटक फाइनल पुगेका छौँ । विपक्षी टोली पनि उत्कृष्ट छ । हामी भने जित्ने गरेर खेल्छौँ’ उनले भने । उनले पनि निर्धारित समयमै खेल जित्ने गरेर आफ्नो टोलीले खेल्ने दाबी प्रस्तुत गरे । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि जित्ने आफूहरूको एकमात्र लक्ष्य रहेको कोहलपुर रेसिङ साहारा क्लबका कप्तान निराजन शाहीले बताएका थिए । उक्त अवसरमा बोल्दै कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री दुवै टोलीलाई जितको अग्रिम शुभकामना व्यक्त गरेका थिए ।

गोल्डकपको तेस्रो संस्करण भव्य र सभ्य रूपमा सम्पन्न गर्न भूमिका खेल्नेहरूलाई उनले धन्यवाद प्रकट गरे । उनका अनुसार अनुसार विजेता र उपविजेता टोलीले नगद् पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपका खेल संयोजक कर्ण बस्नेतका अनुसार फाइनल खेल हेर्नका लागि प्रति व्यक्ति एक सय रूपैयाँ टिकटको व्यवस्था गरिएको छ । वृद्धवृद्धा र बालबालिकाको हकमा फाइनल खेलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार