नेपालगन्ज ।
नेपालगन्जमा बृहत ट्राफिक नियम पालनासम्बन्धि सचेतनामूलक कार्यक्रमहरू गरिएका छन् ।
शुक्रबार एकाबिहानै नेपालगन्जमा ¥याली निकालियो भने दिउँसो माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । सुरक्षित यात्रा नेपाल बुटवलको आयोजना एवं नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा ती सचेतनामूलक कार्यक्रमहरू गरिएका थिए ।
नागरिकलाई सुरक्षित, सहज र मर्यादित यात्राका लागि प्रेरित गर्ने उद्देश्यले बृहत ¥याली निकालिएको आयोजक सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलबासेले जानकारी दिए । सचेतनामूलक ¥यालीमा विभिन्न विद्यालयबाट विद्यार्थीहरू सहभागी थिए ।
जिल्लाका सरोकारवालाहरू पनि सहभागी ¥याली वीपी चोकबाट सुरु भई धम्बोझी चोकमा पुगेर समापन भएको थियो । त्यसक्रममा जेब्रा क्रसिङ्ग कसरी गर्ने, जेब्रा क्रसिङ्गमा हुने लापरवाहीले निम्त्याउने दुर्घटनाका विषयमा कृत्रिम घटना अभ्यास समेत गराएर प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले प्रत्येक नागरिकले इमान्दारीपूर्वक सडक अनुशासन पालना गर्नुपर्नेमा जोड दिँदै सुरक्षित र मर्यादित यात्रा गर्न आह्वान गरे । विष्टले नेपालगञ्जमा ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गइरहेको पनि दाबी गरे । कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल प्रमुख ट्राफिक प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री लगायत सहभागी थिए ।
शुक्रबारै नेपालगन्जमा सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकाय र नागरिकको भूमिका विषयक माध्यमिक तह स्तरीय खुला बक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको थियो ।
२० वटा विद्यालय सहभागी प्रतियोगितामा भेरी इङलिस बोर्डिङ स्कुलका एन्जल कठायत प्रथम, फुल्टेक्रा माविका विशाल केसी द्वितीय र गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुरकी राधिका बुढामगर तृतीय र मंगलप्रसाद मावि सविना खरेल सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए ।
उनीहरूलाई आज कोहलपुरमा आयोजित एक औपचारिक कार्यक्रममा पुरस्कार वितरण गरिने जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ । कार्यालयका अनुसार कार्यक्रम कोहलपुर नगरपालिकाले सभाहलमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्