संविधान संशोधन हुन्छ, सरकार ढल्दैन : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाचौं अधिवेशनको चौधौं बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिर साैजन्य प्रधानमन्त्रीकाे सचिवालय / रासस

नन्दराम जैशी । सुर्खेत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन हुने तर सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन् । ‘संविधान कसैको आकांक्षा पूरा गर्ने माध्यम होइन । विकास र जनभावना पुुरा गर्न समयअनुुकुुल संविधान संशोधन गर्नुुपर्छ । सोही अनुसार संविधान संशोधन हुन्छ ।’ शुक्रबार कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली भने ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार बनाउँदा दोस्रो बुुँदामा संविधान संशोधन उल्लेख गरिएको स्मरण गराउँदै उनले निर्णय कार्यान्वयनमा दुवै दल प्रतिबद्ध रहेको उल्लेख गरे । अहिलेको सरकार दुुई तिहाइको रहेकोले अरुले भनेजस्तो सरकार तत्काल नढल्ने उनले बताए । उनले भने, ‘यो सरकार ढल्नेवाला छैन । देश संकटमा जान थालेपछि बाध्य भएर दुई ठूला दल मिलेर सरकार बनाउनुु परेको हो । दुई दलको समझदारी पालना हुुन्छ । २०८४ सम्म यो सहमति टुुट्नेवाला छैन् । त्यसमा हामी प्रतिवद्ध छौँ । विभिन्न तवरबाट हाम्रो संस्कार, संस्कृति तथा राष्ट्रिय एकतामाथि धावा बोल्ने प्रयास भइरहेको छ । नागरिकहरू यस्तो लहलहैमा भन्दा यथार्थतामा जानुुहोस् । विकास र सुुशासनको मार्गमा सरकार अघि बढेको छ । कुनै स्टन्टबाजी गर्न सरकार बनेको छैन् । काम गर्न सरकार बनेको हो । काम गरेर देखाउँछौ ।’

‘व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने छ । यो गलत हो । नेपालीको सरदर आयुु वृद्धि भएको छ । बाल मृत्युुदर अन्त्य हुनुु लगायतका धेरै प्रगति भएका छन्’ उनले थपे, ‘पानी ल्याउन घन्टौँ हिड्नुुपथ्र्यो घरघरमा धारा र पानी आएको छ । गाउँगाउँ सडक पुुगेर गाडी चलेका छन् । यस्ता धेरै विकास भएका छन् । तर विकास नै भएन भनेर भ्रम फैलाउने काम गलत हो ।’

कर्णाली प्रदेश सभामा प्रधानमन्त्रीले देशको समसामायिक विषयवस्तुु, पछिल्लो राजनैतिक घटनाक्रम र अबको विकल्पबारे आफ्नो धारणा राख्दै १ घण्टा बढी सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनुुका साथै वीरेन्द्रनगरस्थित कर्णाली प्रादेशिक रंगशालाको अनुगमन गरेका थिए ।

चाँडै सत्य निरुपण र बेपत्ता छानबिन आयोग गठन

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता सम्बन्धि छानबिन आयोग छिट्टै गठन गर्ने उद्घोष गरेका छन् । शुक्रबार कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्दै उनले यी दुई आयोग छिट्टै गठन गर्ने तयारीमा सरकार लागिपरेको दाबी गरे । ‘यी दुई आयोग गठन गर्ने प्रयास भएपनि विविध कारणले विगतमा गठन गर्न सफल भएनौँ । अब तुरुन्तै गठन गर्दै छौँ । घाइते र सहिदका पीडामा मल्हम पट्टि लगाउन हामी लागि परेका छौँ’, उनले भने, ‘हामी त्यत्तिकै चुप्प लागेका छैनौँ । त्यत्तिकै हामीलाई यी अवसरहरू प्राप्त भएका होइनन् । हल्ला होइन अब काम गरेर देखाउँछौ ।’

मन्त्री र पदका लागि नभएर जो जहाँ छौँ त्यहाँबाट यो देशको मुहार फेर्ने अभियानमा लाग्न प्रधानमन्त्रीले सुुझाव दिए । ‘आफ्ना आफ्ना ठाउँबाट गर्नुपर्ने काम कर्तव्य पारदर्शी तरिकाले भ्रष्टाचार नगरेर र भ्रष्टाचार गर्न नदिएर हामी अघि बढ्छौँ । यही संकल्पका साथ जिम्मेवारीमा आएका छौँ’, उनले थपे, ‘पहिलो चरणमा पूर्वाधार विकास नभइ देश विकास सम्भव छैन् । त्यसका लागि आवश्यक योजनाहरू बनाएर सरकारले काम गरिरहेको छ । यसका लागि सडक, विद्युत, सिँचाइ लगायत भेरी बबई डाइभर्सन जस्ता ठूलाठूला आयोजनाहरू अघि बढाएका छौँ ।’

देश विकासका लागि तीन वटै तहका सरकार मिलेर जानुुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । तीन वटै सरकारले एक अर्काको राम्रो कामको सिको गर्दै कमजोरी सच्याउँदै जानुुपर्ने उनको भनाइ छ । उनले भने, ‘एक अर्कामा विकासका समस्याहरू के छन् ? सेयर गर्ने, कसरी योजना व्यवस्थापन गर्न सकिन्छ ? वास्तविक स्रोतको अनुमान, व्ययको अनुमान लगाएत तारगेट तोकेर योजनाबद्ध ढंगले काम गरौँ ।’ कर्णाली प्रदेश आफ्नो हिसाबले विकासको अत्यन्तै सुन्दर सम्भावना भएको प्रदेश रहेको उनले बताए । कर्णालीमा कृषि, फलफूल, पशुुपालन, औषधि जडिबुुटीको प्रशस्त सम्भावना रहेको भन्दै यहाँ उर्जा उत्पादनका लागि राम्रो सम्भावना रहेको बताए ।

‘कर्णालीको पानी खेर गइरहेको छ । तर विद्युत् उत्पादन छैन् । बनेका योजनापछि अघि बढ्न सकेका छैनन् । अब त्यस्ता योजना अघि बढाउने छौँ’, उनले भने, ‘कर्णालीका प्रशस्त सम्भावना रहेकाले ठाउँ अनुसारको विकास गर्न आधुनिक तवरले प्रदेश सरकार अघि बढोस् । केन्द्र सरकार कर्णालीको साथमा छ । त्यसमा ढुुक्क हुुनुुहोस् । राम्रोसँग काम गर्नुहोस् ।’ कर्णाली प्रदेश धार्मिक र ऐतिहासिक प्रदेश रहेको उनले उल्लेख गरे ।

उनले भने, ‘यहाँका पूूर्खाहरूको इतिहास हेर्दा एउटा उत्पती नै यहीँ भएको हो भन्ने छ । भने अर्को पश्चिमबाट ४-५ हजार वर्षअघि आएको भन्ने छ । यहाँका खस राज्यहरू अन्यन्त्र भन्दा पहिले राज्यको रूपमा विकास भए । खस राज्यको इतिहास नेपालका पुुराना इतिहासमध्ये एक महत्वपूूर्ण इतिहास हो । यो ठाउँको विकास गर्न नसकिने भन्ने छैन् । अन्त राज्य स्थापना नहुुँदा यहाँ राज्य स्थापना भएको ठाउँ हो । खस राज्यका मान्छे महाभारतको युुद्ध लड्न गएका थिए । यो विशेष भूमीलाई विकास गरेर नमूना बनाउन सकिन्छ ।’

दैलेखमा पेट्रोलियम पदार्थ रहेको शुुभ संकेत देखिएको भन्दै देशभर रहेका फलाम लगायतका खानी उत्खननमा सरकारले जोड दिएको उनले बताए । साथै प्रधानमन्त्री कृषि आधुुनिकिकरण जस्ता प्रधानमन्त्री अघि जोडेर राखिएका कार्यक्रमहरू सच्याएर प्रधानमन्त्री नाम हटाउने उनको भनाइ छ । जाजरकोट भूकम्पको समयमा र भूकम्पपछि पुननिर्माणमा सरकारले सीमित स्रोत साधनकाबीच उदाहरणीय काम गरेको उनले दाबी गरे । भूकम्पमा ४८ हजार घर क्षति भए भनेर सो अनुुसार राहत रकम वितरण भएको उल्लेख गर्दै त्यो तथ्यांक गलत हुनसक्ने अनुमानपछि फेरी एकिन विवरण संकलन भइरहेको बताए ।

उनले भने, ‘हाल कर्णालीका सबै जिल्ला सदरमुुकाममा गाडी पुुगेको छ । अब पक्की र पक्का सडक बनाउने योजना छ । देशभर शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायत क्षेत्रमा पूर्वाधार विकासको प्रगति राम्रो भएको छ । थप प्रगतिका लागि आवश्यक नीति तथा कार्यक्रम बनाउँदै छौँ । कृषिमा नुुन बाहेक अन्य सबै वस्तुमा आत्मनिर्भर बन्ने गरी उत्पादन प्रर्वद्धनमा जोड दिन अभियान चलाउँदै छौँ । ७ प्रदेशमा ८ वटा ठुला उद्योग स्थापनाका लागि प्रक्रिया अघि बढेको छ । खेतीयोग्य जग्गा खेर फालिरहेका छौँ । अब बाँजो जमिनमा उत्पादन बढाउन र युवालाई स्वदेशमै स्वरोजगार बनाउन अभियान चलाउँछौ ।’

हर्न बजाएर प्रधानमन्त्रीको विरोध

प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत आउँदा सडक खाली गराएपछि स्थानीयले सवारी साधानको हर्न बजाएर विरोध जनाएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री आउने भएपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । सुरक्षाको कारण देखाउँदै करिब २० मिनेट यातायात बन्दका साथै बाटो हिँड्ने यात्रुलाई समेत कडाइ गरिएको थियो ।

गणतन्त्रमा पनि प्रधानमन्त्री आएकै कारण सडक बन्द गराउने काम गलत भएको भन्दै त्यसको विरोधमा सवारी चालकहरूले लगातार हर्न बजाएर विरोध गरेका थिए । ‘प्रधानमन्त्री आउँदा सडक नै बन्द गर्नुुपर्ने अवस्था राम्रो होइन, एउटा रुटबाट प्रधानमन्त्री आएपनि अर्को रुट सडकमा सवारी आउजाउ गर्न दिनुुपथ्र्यो’ स्थानीय लक्ष्मी गौतमले भने, ‘त्यसैमा झन् हिड्ने मान्छेलाई समेत रोक लगाइयो । यो त अति हो । गणतन्त्रमा पनि राणाशासनभन्दा कडा भयो ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रधानमन्त्री आउनेबेलामा सुरक्षा व्यवस्था कडाइ गरिँदा सवारी रोक्नपरेको हो । त्यही बेला हतारमा भएकाहरूले हर्न बजाएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार