व्यक्तिको जग्गा बचाउन पुलभन्दा साँघुरो सडक



पहिले एक पटकमा एउटा मोटरसाइकल पार हुने पक्की कल्भर्ट थियो । अहिले २० फिटभन्दा बढी चौडा पुल बनेको छ । त्यसमाथि बाटो एकातिर छ । पुल अर्कैतिर निर्माण गरिएको स्थानीयहरू बताउँछन् । पुल तरेर सोझो पारी जाँदा व्यक्तिको जग्गामा पुगिन्छ । बांगो बाटोमा पुल भने सोझो निर्माण गरिएको छ । अझ पुल भन्दा त्यहाँ छेउको घर तल छ ।

शेरबहादुर ऐर । कैलाली ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ र ५ जोड्न सुकुटी नालामा पुल निर्माण गरिएको छ । उक्त पुलभन्दा वडा नम्बर १ हुँदै ५ नम्बर वडामा जाँदा बनिरहेको सडक साँघुरो रहेको छ । धनगढी उपमहानगरपालिकाको भवन मापदण्ड २०७४ मा ‘पुराना बस्तीहरूमा रहेका ४ मिटरभन्दा कम चौडाइ भएका बाटोहरूलाई सुधार गरी चौडा गर्ने क्रममा २० फिटसम्म चौडा गर्न नसकिएमा ४ मिटरसम्म चौडा गर्ने गरी प्लटको सीमानालाई सडकको केन्द्र रेखाबाट २ मिटर पर हटाइ त्यस्तो प्रवेशको माध्यमको चौडाइलाई ४ मिटर बनाइने छ र स्थायी निर्माण कार्य गर्न उक्त सारिएको सीमानाबाट ५ फिट सेटब्याक छाड्नु पर्नेछ’ उल्लेख गरिएको छ ।

तर, धनगढीले २०८० साल मङ्सिरमा जारी गरेको जग्गा प्लटिङसम्बन्धी कार्यविधिले सडकको चौडाइ १० मिटर कायम गरेको छ । धनगढी उपमहानगरपालिकाले व्यक्तिको जग्गा बचाउन गरेको यो गिज्याउने नमुना विकासबाट धनगढी नगर प्रमुख गोपाल हमालको नियत प्रष्ट देखिन्छ । पहिले बाटो बन्छ कि पुल ? यसको सोझो उत्तर छ– ‘पहिले बाटो अनि पुल ।’ त्यसो भए बाटो ठूलो हुन्छ कि पुल ? सहज जवाफ छ– ‘सके दुईटै बराबर । नभए बाटो ठूलो । पुल सानो ।’
धनगढी उपमहानगरपालिका–१ पुरानो पौष्टिक आहार कार्यालयदेखि पुलसम्मको सडक पुल अनुसारकै बनाइएको छ । तर, वडा नम्बर ४ तारानगरको सडक चौडा गर्ने उपमहानगरपालिकाले सुरसार गरेको छैन् ।

त्यहाँ सडक आठ फिटको पनि छैन् । पहिले एक पटकमा एउटा मोटरसाइकल पार हुने पक्की कल्भर्ट थियो । अहिले २० फिटभन्दा बढी चौडा पुल बनेको छ । त्यसमाथि बाटो एकातिर छ । पुल अर्कैतिर निर्माण गरिएको स्थानीयहरू बताउँछन् ।

पुल तरेर सोझो पारी जाँदा व्यक्तिको जग्गामा पुगिन्छ । बांगो बाटोमा पुल भने सोझो निर्माण गरिएको छ । अझ पुल भन्दा त्यहाँ छेउको घर तल छ । यो पुल धनगढी उपमहानगरपालिकाको इन्जिनियरिङ र विकासको अद्भुत मोडेल जस्तै बनेको छ ।

बाटोको ठेगान छैन । पुल बनिसक्यो । पुल पारी औषधी व्यवसायी निरज थापाको घर छ । थापा नगर प्रमुख हमालका समर्थक हुन् । उनकै सुविधाका लागि नगर प्रमुख हमालले यो पुलको निर्माण गराउनमा जोडतोड गरेका थिए । एक करोड ५८ लाख नौ हजार आठ सय ८२ रूपैयाँ लागतमा निर्माण गरिएको पुल २०८० साल मंसिर ८ गते सम्झौता भइ यसै वर्ष पुस ३० गते सम्पन्न गर्नेगरी शाजेन्द्रश्वर–प्वाइन्ट जेभीले ठेक्का सम्झौता गरेको थियो ।

नगर प्रमुख हमालले धनगढीमा विकासका नाममा पहिले व्यक्तिका घरहरू भत्काए । र, नीजि सम्पत्तिमाथि डोजर चलाए । तर आफ्ना समर्थकलाई जोगाउन कुनै कसर बाँकी नराखेका हमालले यहाँपनि आफ्ना कार्यकर्ता थापालाई पुल निर्माण गरेर मात्र नगरपालिकाको बजेट चढाएनन् । उनको घरको सुरक्षाका लागि लाखौँ रूपैयाँ तटबन्धमा खर्च गरेका छन् ।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका बासिन्दा मक्किएको काठे पुलमा तर्दै आएका छन् । वर्षा याममा खोलामा बाढी पस्दा आवातजावत बन्द हुन्छ । त्यहाँ भने पालिकाको ध्यान गएको छैन् । पालिकाभित्रै त्यस्ता दर्जनौँ टोल र बस्ती छन्, जहाँ अहिले पनि आवातजावत गर्न कल्भर्टसम्म छैन् ।

तारानगरमा खोलाको अतिक्रमण हटाउने नाममा व्यक्तिको जमिन, जंगल र खोलामा डोजर चलाएका नगर प्रमुख हमालले खोला अतिक्रमण पक्की घर र पर्खाल निर्माण गरेका आफ्ना समर्थक पदमराज भट्टलाई जोगाएका छन् । भट्टको घर क्षेत्रमा डोजर चलेन । त्यस्तै खोलामा निर्माण गरिएको थापाको घर र पर्खालमा चल्दै गरेको डोजर हमालको निर्देशनमा रोकियो । र, पछि तिनै थापाको घरको सुरक्षाका लागि हमालले तटबन्ध निर्माण गरिदिए ।

तारानगरमा दर्जनौँ घरसँगै जोडिएको खोलामा चलेको डोजरले व्यक्तिका करेसाबारी र जंगलमा चल्यो । कतिपयका पक्की संरचनामाथि नगरपालिकाको डोजर चल्यो । तर आफ्ना कार्यकर्तालाई जोगाउने क्रममा केही अरु पनि जोगिए । जस्तो कि पालिकाको डोजर थापाको घरमा पुगेर रोकियो । थापालाई जोगाउँदा नगर प्रमुख हमालको निशानामा रहेका रविनकान्त पन्तको घरसम्म डोजर नै पुगेन ।

पन्त भन्छन्, ‘मेरो जग्गा खोलामा पर्छ भनेर बढीनै प्रचार गरियो पछि अमिन आएर नापजाँच गर्दा कुनै संरचना खोलामा थिएनन् । जसकाकारण सुकुटी नालामा अतिक्रमण हटाउने कार्यले सुस्तता पायो ।’ उता पदमराज भट्टलाई जोगाउँदा उनीसँगै पारीपट्टी खोला अतिक्रमण गरेको आरोप लागेका धु्रव जोशी पनि जोगिए । भट्ट र जोशीले खोला क्षेत्र मिचेर पक्की संरचना बनाएका छन् ।

चुनावमा आफूलाई भोट नदिने वा फरक मत राख्नेमाथि छानीछानी प्रतिशोध साँधिरहेका नगर प्रमुख हमालले निर्वाचित भएको अढाइ वर्षमा आफ्ना समर्थक र आफूलाई चुनावमा सहयोग गर्नेहरूलाई जोगाउन कुनै कसर बाँकी राखेका छैनन् । र, अरुलाई भने उनले पलायन हुन बाध्य पारिरहेका छन् ।

पुल बनाउनु भन्दा पहिले सडक बन्नु पर्ने हो, तर धनगढी उपमहानगरपालिकामा कहीँ नभएको विकास भयो, पुल त बन्यो, बाटोको ठेगान छैन । व्यक्तिको घर र सम्पत्तिमाथि डोजर चलाएर तारानगरको सत्कार चौकदेखि राष्ट्र बैंक पछाडिसम्मको सडक १४ मिटर चौडा बनाउने अडानमा रहेका नगर प्रमुख हमालले पुल निर्माण गरेको क्षेत्रको सडकलाई पुलभन्दा साँघुरो नै राखेर आफ्ना सहयोगी र समर्थकहरू जोगाउने छन् कि ? उनीहरूको घर भत्काउने छन्, त्यो भने हेर्न बाँकी छ ।

हमालको न्यूनतम मापदण्ड अनुसार १० मिटर (३३ फिट) चौडा सडक हुनुपर्नेछ । आफू र आफ्ना कार्यकर्ताको घर जोड्ने सडक १२ देखि २० फिट चौडा पनि हुनु नपर्ने । अरुको घर भत्काएर सडक चौडा गर्ने हमालको नियम नै छ । नगर प्रमुख हमाल समर्थक निरज थापाले आफ्नो संरचना खोलामा नपर्ने दाबी गरेका छन् । धनगढीले नै खोलाको चौडाइ १० मिटर कायम गरेको छ । खोलामा पर्ने थुप्रैका जग्गा नम्बरी भइसकेका कारण आफ्नै नियम उपमहानगरपालिकाले लागु गर्न नसकेको उपमहानगरपालिकाका कर्मचारीहरू बताउँछन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गजेन्द्रबहादुर शाही (गज्जु)ले भने, ‘अमिन लगाएर खोलाभित्र रहेका संरचना नापजाँच गर्दा थुप्रैका जग्गा नम्बरी भइसकेको छ । त्यसकारण अहिले उपमहानगरपालिकाले थप नदी अतिक्रमण हुन नदिन चिन्ह राख्ने कार्य गरिरहेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २३ गते शुक्रबार