आठबिसकोट जोड्ने सडक निर्माण कार्य अलपत्र



रूकुमपश्चिम ।

जिल्लाको आठबिसकोट नगरपालिकाको केन्द्र जोड्ने चिसापानी–राडीज्यूला मुख्य सडक निर्माणको काम अलपत्र छ । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले तोकिएको समयावधिमा काम नगर्दा नगरपालिकाको ‘लाइफलाईन’ मानिएको यो सडक निर्माण कार्य अलपत्र अवस्थामा छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार सडक निर्माणको जिम्मा पिएस जिएसएचसी जेभी काठमाडौँले लिएको छ । तर सडक निर्माणको लागि सम्झौता भएको लामो समयसम्म पनि काम सुचारु नगर्दा सडक निर्माणको काम अलपत्र परेको हो । निर्माण कम्पनीको अटेरीले ४ वर्षमा पनि आयोजनाको काम हुन नसकेको आठबिसकोट नगरपालिका प्रमुख रबि केसीले बताए । उनका अनुसार सडक निर्माण अलपत्र अवस्थामा हुँदा स्थानीयबासी, यात्रु तथा यातायात व्यवसायीले सास्ती भोग्नुपरेको छ ।

ठेकेदार र पूर्वाधार कार्यालयबीच २०७८ जेठ ३ गते ३३ करोड ४८ लाख ८९ हजार ८७३ रूपैयाँमा आठबिसकोट नगरपालिका ११ चिसापानीदेखि पालिकाको केन्द्र राडीबजार सम्मको ८ किलोमिटर सडक निर्माण गर्ने सम्झौता भएको थियो । जसअनुसार चिसापानी, राडी नदुवा मुसिकोट माछिमी सडक कालोपत्रेको लागि पनि सम्झौता भएको थियो ।

निर्माण कम्पनीलाई नगरपालिकाको तर्फबाट समयमै सडक निर्माणका लागि पटक पटक लिखित तथा मौखिक रुपमा अनुरोध गर्दा पनि अटेरी गरिरहेकोले पूर्वाधार विकास कार्यालयमा ध्यानाकर्षण पत्र बुुझाइएको नगर प्रमुख केसीले जानकारी दिए । निर्माण व्यवसायीबाट काम गर्नुको साटो विभिन्न वहानामा म्याद थप गर्ने काम मात्रै भएको उनको तर्क छ ।

निर्माण व्यवसायीले समयमै काम नगर्दा सवारी आवागमन अवरुद्ध हुने गरेको, मर्मत सम्भारको क्रममा नगरपालिकाको लाखौँ बजेट खर्च हुने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । निर्माणको जिम्मा पाएको ठेकेदारलाई तोकिएको समयमानै काम सम्पन्न हुने अवस्था सिर्जनाको लागि पूर्वाधार कार्यालयमा ध्यानाकर्षणपत्र पेश गरिएको नगर प्रमुख केसीले बताए । ध्यानाकर्षण पत्रको बेवास्ता भएमा ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयका विरुद्ध नगरपालिकाले संघर्ष गर्ने चेतावनी दिएको छ ।

यता पूर्वाधार विकास कार्यालयका अनुसार अहिलेसम्म ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । कार्यालयको तर्फबाट तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन गरिएको छ । कार्यालय प्रमुख रामचन्द्र बिसीले २०८२ जेठ २० गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको उल्लेख गर्दै तोकिएको समयमा काम हुने सम्भावना पनि न्यून रहेको बताए ।

सडक निर्माणको काम अलपत्र हुँदा आठबिसकोटबाट जिल्ला सदरमुकाम मुसीकोट, काठमाडौँ, नेपालगन्ज, दाङ, सुर्खेत जाने यात्रुहरूले सास्ती पाउने गरेका छन् । वर्षौँसम्म बाटोको अवस्थामा सुधार नहुँदा स्थानीयले समेत दुःख पाउँदै आएपनि नगरपालिकाले चासो दिन थालेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २३ गते शुक्रबार