आज एमयूको दीक्षान्त समारोह



सुर्खेत ।

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतबाट आज ८८५ जना विद्यार्थी दीक्षित हुँदैछन् । आज हुन गइरहेको तेस्रो दीक्षान्त समारोहबाट उनीहरू दीक्षित हुन लागेका हुन् । कुल दीक्षित हुने ३ हजार ८४१ विद्यार्थीमध्ये ८८५ जनाले मात्रै प्रत्यक्ष सहभागिता जनाउने मध्यपश्चिम विश्वविद्यालय प्रशासनले जनाएको छ ।

स्नातक तहमा २ हजार १८९, स्नातकोत्तरमा १ हजार ६३३ र दर्शनाचार्य तहमा १९ विद्यार्थी दीक्षित हुनुुपर्नेमा दीक्षान्त समारोहमा सहभागी हुन ८८५ जनाले मात्र फाराम भरेका थिए । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको हातबाट विद्यार्थीहरू दीक्षित हुनेछन् । दीक्षान्त समारोह आज शुक्रबार बिहान ११ बजे सुर्खेतस्थित केन्द्रीय प्रशासनिक भवन परिसर कुइनेपानीमा हुनेछ ।

दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिनेछ । स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट ३ जनालाई उपकुलपति पदक प्रदान गरिनेछ । त्यस्तै, स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जना गरी ३५ जना विद्यार्थीले प्रमाणपत्रसहित विशेष पदक प्राप्त गर्नेछन् । विश्वविद्यालयका अनुसार मानविकी तथा सामाजिक विज्ञान, शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि तथा पत्रकारिता संकायका विद्यार्थीहरूले दीक्षित हुने छन् ।

विश्वविद्यालयका डिन लिलाधर तिवारीका अनुसार सन् २०२२, २०२३ र २०२४ को पासआउट ब्याचबाट ३ हजार ८४१ जनालाई नै दीक्षित गर्ने तयारी थियो । तर दीक्षान्त समारोहमा सहभागी हुन ८८५ जनाले मात्र फाराम भरेका हुुन् । २०६७ सालमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा विभिन्न संकायका स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहका विद्यार्थीलाई दीक्षित हुनेछन् ।

विश्वविद्यालय प्रशासनका अनुसार समारोहमा प्रधानमन्त्रीसँगै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति विद्या भट्टराई लगायतको उपस्थिति रहनेछ । समारोहमा प्रमुख अतिथिका रूपमा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति तथा जवाहरलाल नेहरू विश्वविद्यालय भारतका प्रा.डा.महेन्द्र पी. लामाको समेत उपस्थिति रहनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २३ गते शुक्रबार