वीरेन्द्रनगर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्दैछन् । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने सभामा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यसूचि छ ।
सभामा प्रधानमन्त्रीले देशको समसामायिक विषयवस्तु, पछिल्लो राजनैतिक घटनाक्रम र अबको विकल्पबारे सम्बोधन मार्फत आफ्नो धारणा राख्नेछन् । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आइतबार ओलीलाई सम्बोधनसम्बन्धी पत्र हस्तान्तरण गरिसकेका छन् । काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर प्रदेश सभामा सम्बोधनका लागि निम्तोपत्र हस्तान्तरण गरेका थिए ।
यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभामा पनि विशेष सम्बोधन गरेका थिए । यस्तै सुर्खेतमा आजै हुने मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा पनि प्रधानमन्त्री ओली सहभागी हुनेछन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीको हातबाट ८८५ जना विद्यार्थी दीक्षित हुँदैछन् भने स्नातकोत्तर तहमा सर्वोत्कृष्ट ३ जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट ३ जनालाई उपकुलपति पदक प्रदान गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्