कोहलपुर (बाँके) ।
कोहलपुर रेसिङ साहारा क्लब बाँके र राइजिङ स्टार फुटबल क्लब नवलपरासी बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा काँक्रेविहार फुटबल क्लब सुुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै राइजिङ स्टार फुटबल क्लब नवलपरासी फाइनल प्रवेश गरेको थियो ।
राइजिङ स्टार फुटबल क्लब नवलपरासीलाई जिताउन पहिलो हाफको २९औँ मिनेटमा जर्सी नम्बर १९ विदेशी खेलाडी फाकुन्ले अवयोमी बोलसियुनले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेल अवधिभर निकै आक्रामक रूपमा खेल खेलेका उनले नै पेनाल्टीमा विजयी गोल गरे ।
निर्धारित खेलको ७८औँ मिनेटमा काँक्रेविहार फुटबल क्लब सुर्खेतका धनसिंह विकले बराबरी गोल फर्काएका थिए । तर, काँक्रेविहार पेनाल्टीमा अभागी ठहरियो । निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा काँक्रेविहारलाई ५–३ ले पराजित गर्दै राइजिङ स्टार फुटबल क्लब फाइनल प्रवेश गरेको हो । यसअघि आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरिसकेको छ ।
राइजिङ स्टार फुटबल क्लब नवलपरासीलाई जिताउन जर्सी नम्बर ३ का अभि लामा, जर्सी नम्बर ४ का रोशन धिमाल, जर्सी नम्बर ७ का चेतन थारू, जर्सी नम्बर १४ का रोशन पहारी र जर्सी नम्बर १९ का फाकुन्ले अवयोमी बोलसियुनले गोल गरे । यस्तै, काँक्रेविहार फुटबल क्लब सुुर्खेतका जर्सी नम्बर ८ का सुदेशविक्रम सिंह विश्वकर्मा, जर्सी नम्बर ११ का धनसिंह विश्वकर्मा, जर्सी नम्बर ३२ का सुमित रावतले गोल गरे ।
जर्सी नम्बर ३० का नविन ओली गोल गर्न असफल रहे ।
खेलको म्यान द म्याच राइजिङ स्टार फुटबल क्लब नवलपरासीका फाकुन्ले अवयोमी बोलसियुन घोषित भए । उनले नगद पाँच हजार रूपैयाँ प्राप्त गरे । उनलाई राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराई, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी र कोहलपुर उद्योण वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले संयुक्त रूपमा प्रदान गरेका थिए ।
म्यान अफ द म्याच घोषित भएपछि मिडियासँगको कुराकानीमा राइजिङ स्टार फुटबल क्लब नवलपरासीका फाकुन्ले अवयोमी बोलसियुनले आफ्नो टिमलाई जिताउने भूमिका खेल्न पाउँदा खुसी लागेको बताए । खेल जित्न निकै गाह्रो भएको उनले बताए । विपक्षी टोलीले राम्रो खेल प्रदर्शन गरेको उनको भनाइ थियो ।
अब फाइनलमा जित्नको लागि खेल्ने बोलसियुनले बताए । यस्तै राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष पौडेलले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता बाँके जिल्लाकै गौरव भएको प्रतिक्रिया दिए । उनका अनुसार गोल्डकपका कारण बाँकेको खेल क्षेत्रमा जुर्मुराएको छ ।
गोल्डकपमार्फत नयाँ खेलाडी उत्पादन र प्रोत्साहन भएको अध्यक्ष पौडेलको भनाइ थियो । ‘गोल्डकपको आयोजकले निम्तो दियो । मैले आजको खेल पूरै हेरेँ । निकै राम्रा खेलाडीहरू आएका रहेछन् । कोहलपुरमा राम्रो प्रतियोगिता सुरु भएको छ । प्रतियोगितालाई निरन्तरता दिन स्थानीय सरकारको तर्फबाट के भूमिका खेल्नुपर्छ । म सधैँ तयार छु’ अध्यक्ष पौडेलले भने ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले प्रतियोगिता निकै मर्यादित रूपमा सञ्चालन भइरहेको बताए । उनका अनुसार प्रतियोगिता अवधिभर कुनै अप्रिय घटना भएनन् । अब शान्तिपूर्ण र मर्यादित फाइनलको तयारीमा आयोजक जुट्ने अध्यक्ष क्षेत्रीले बताए । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताका संयोजक कर्ण बस्नेतका अनुसार सेमिफाइन संस्करण पूरा भएसँगै दुई वटा टोली फाइनल प्रवेश गरेका हुन् ।
उनले आज शुक्रबार ग्याप रहेको बताए । भोलि फागुन २४ गते फाइनल खेल हुने र गोल्डकपको भव्य समापन हुने उनले बताए । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि प्रतियोगिता सुरु भएको हो । घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रूपैयाँ र द्वितीय हुने टिमले चार लाख रूपैयाँ पुरस्कार पाउनेछन् । अब फागुन २४ गते दिउँसो कोहलपुर–२ स्थित तेह्र बिगाह खेल मैदानमा आयोजक कोहलपुर रेसिङ साहारा क्लब र राइजिङ स्टार फुटबल क्लब नवलपरासीबीच फाइनल भिडन्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस्