नेपालगन्ज ।
बाँकेको डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहमा रहेका बालबन्दीहरूले आक्रमण गरी तीनजना प्रहरीलाई घाइते बनाएका छन् ।
सुर्खेतबाट पुर्पक्षका लागि उक्त बालसुधार गृहमा राख्न तीनजना बालबन्दीहरू ल्याएर आएका ती प्रहरीहरूमाथि बालबन्दीहरूले बुधबार आक्रमण गरी घाइते बनाएका हुन् । बालबन्दीहरूको आक्रमणबाट घाइते हुनेहरूमा असई दीपक शाही, वरिष्ठ हवल्दार वीरमान जेठारा र प्रहरी जवान गोविन्द महतारा रहेका छन् ।
घाइते प्रहरीहरूको नेपालगन्ज मेडिकल कलेजमा प्रारम्भिक उपचार पश्चात प्रहरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार बालकहरूलाई लिएर बालसुधार गृहमा पुगेका सादा पोशाकका प्रहरीहरूलाई एक्कासी धरपकड गर्दै इट्टा तथा ढुंगाले प्रहार गरेका थिए । घाइते प्रहरीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको डिएसपी पातलीले मिसन टुडेलाई जानकारी दिए ।
उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको उनले बताए । सुर्खेतबाट ल्याइएका तीन जनासहित कानुनी विवादमा परेका दुई सय ५७ जना बालक तथा बन्दीहरू उक्त बालसुधार गृहमा रहेका छन् । जसमा कानुनी विवादमा फस्दा बालक रहेका तर अहिले १८ वर्षभन्दा बढी उमेर भैसकेका बन्दीहरू समेत छन् । तिनै बढी उमेरका बन्दीहरूले पटक–पटक उच्छृंखलता मच्चाउने गरेका छन् । बन्दी सार्दा होस् या नयाँ बन्दी ल्याउँदा उनीहरू विरोध जनाउन थाल्छन् । सुधार गृहमा समूहहरू निर्माण गरी एक अर्कामाथि आक्रमणमा उत्रिने गरेका छन् ।
अर्काेतिर, कानुनी विवादमा परेका बालबालिकाहरूलाई बालसुधार गृहमा राखी सुधारको प्रयास गर्ने र शिक्षा दीक्षासमेतको व्यवस्था गर्नेगरी बालसुधार गृह सञ्चालनमा ल्याइएको भएपनि उनीहरू आधारभूत अधिकारबाट बञ्चित छन् । सुधार गृहमै लागूऔषधको पहुँच हुने गरेको र त्यस्ता लागूऔषध प्रयोगकर्ताबाट सानो उमेरका बालकहरू असुरक्षित भएर बस्नुपर्ने अवस्था रहेको बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्