कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ साझा चोकस्थित सहकारी संस्था लिमिटेड (साझा)ले ‘सहकारीमा सुशासनः प्रविधि र एकिकरण’ भन्ने मूल नाराका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
साझाले सामाजिक उत्तरदायित्व अन्तर्गत बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका विभिन्न वडाहरूमा विभिन्न रोगसम्बन्धीका बिरामीहरूलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविरका साथै निःशुल्क औषधीसमेत वितरण गर्ने गरी बुधबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको साझाका लेखा संयोजक कालीबहादुर ओलीले जानकारी दिए ।
सम्बन्धित वडा कार्यालयहरूको समन्वय, कोहलपुरस्थित आरएम अस्पतालको प्राविधिक सहयोग र साझाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको ओलीले जानकारी दिए । ओलीका अनुसार बुधबार पहिलो दिन बैजनाथ गाउँपालिका वडा नम्बर २ स्थित स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा सुगर, ब्लडप्रेसर, छाला, हाडलगायत जनरल रोगका १३२ जना बिरामीहरूको स्वास्थ्य चेकजाँच गरिएको छ । बिरामीहरूलाई आवश्यक औषधीसमेत निःशुल्क रूपमै वितरण गरिएको ओलीले बताए ।
लेखा संयोजक ओलीका अनुसार फागुन २२ गते बैजनाथ वडा नम्बर ३ स्थित स्वास्थ्य चौकी, २३ गते वडा नम्बर ४ स्थित स्वास्थ्य चौकी, २४ गते कोहलपुर वडा नम्बर ५ र ६ का लागि सिद्धार्थ मावि, २५ गते वडा नम्बर १ र २ का लागि वडा नम्बर २ को स्वास्थ्य चौकी, २६ गते वडा नम्बर ३ र ४ का लागि वडा नम्बर ४ को स्वास्थ्य चौकी, २७ गते वडा नम्बर ७ का लागि वडा कार्यालयमा स्वास्थ्य शिविर सञ्चालन हुने छ ।
त्यसैगरी फागुन २८ गते कोहलपुर ८ स्थित स्वास्थ्य चौकी, चैत ३ गते वडा नम्बर ९ को कार्यालय, ४ गते वडा नम्बर १० र ११ का लागि वडा नम्बर १० को स्वास्थ्य चौकी, ५ गते वडा नम्बर १२ र १३ का लागि मध्यवर्ती वनको कार्यालय, ८ गते वडा नम्बर १४ स्थित स्वास्थ्य चौकी र चैत ९ गते वडा नम्बर १५ स्थित वडा कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने संयोजक ओलीले जानकारी दिए ।
आफ्नो कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण शेयर सदस्यहरूलाई जनरल स्वास्थ्य सेवा प्रदान गर्नका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको साझाले जनाएको छ । शिविरमा आरएम अस्पतालका स्वास्थ्यकर्मी एवम् विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्