पब्लिक प्राइभेट पार्टनरसीप : नमुना विद्यालयका लागि पञ्चवर्षीय गुरुयोजना सार्वजनिक



बैजनाथ–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नौलापुर र कोहलपुर–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलबीच पब्लिक–प्राइभेट पार्टनरसीपका माध्यमबाट लागु गरिने पञ्चवर्षीय गुरुयोजना (२०८२–२०८६) आगामी शैक्षिक सत्रदेखि लागु हुनेछ । गुरुयोजना लागु गर्न १८ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको बैजनाथ–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नौलापुरलाई बाँके जिल्लाकै नमुना विद्यालय बनाउनका लागि पञ्चवर्षीय गुरुयोजना सार्वजनिक गरिएको छ । आगामी पाँच वर्षमा स्कुललाई नमुना विद्यालयको रूपमा स्थापित गर्ने उद्देश्यसहित पञ्चवर्षीय गुरुयोजना (२०८२–२०८६) सार्वजनिक गरिएको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नौलापुर पञ्चवर्षीय गुरुयोजना (२०८२–२०८६) प्रस्ताव गरिएको थियो । कूल १८ करोड २९ लाख रूपैयाँँ लागत लाग्ने अनुमान गरिएको गुरुयोजना बाँकेको कोहलपुर–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलसँग पब्लिक प्राइभेट पार्टनरसीपका माध्यमबाट गुरुयोजना लागु हुनेछ ।

बुधबार विद्यालयमा आयोजित बृहत अभिभावक भेला तथा शैक्षिक प्रदर्शनी कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नौलापुर र गोरखा युनाइटेड पब्लिक स्कुलबीच पब्लिक प्राइभेट पार्टनरसीपका माध्यमबाट कार्यान्वयन गरिने गुरुयोजनाका विषयमा बैजनाथ गाउँपालिका शिक्षा समितिका सदस्य केशरबहादुर आलेले गुरुयोजना प्रस्तुत गरेका थिए ।

पब्लिक प्राइभेट पार्टनरसीपका माध्यमबाट दुवै विद्यालय मिलेर नमुना विद्यालय कसरी बनाउने भन्ने विषयमा गुरुयोजना प्रस्तावका रूपमा प्रस्तुत गर्दै गुरुयोजना सम्पन्न भइसकेको र आगामी शैक्षिक सत्र २०८२ सालदेखि लागु हुने जनाएका थिए । गोरखा युनाइटेड पब्लिक स्कुलका संस्थापकसमेत रहेका आलेका अनुसार उक्त गुरुयोजनामा नमुना विद्यालयको परिकल्पना, शैक्षिक सुधार योजना, आर्थिक व्यवस्थापन, निर्माण समिति र अभिभावकको सहभागिता जस्ता महत्वपूर्ण विषय समेटिएको छ । सोही विषयमा केन्द्रित गरेर गुरुयोजना लागु हुने आलेले उक्त अवसरमा जानकारी दिए ।

नमुना विद्यालयको परिकल्पना शीर्षकअन्तर्गत साढे दुुई बिगाह क्षेत्रफलमा फैलिएको स्कुलको जग्गाको दक्षिण क्षेत्रमा सरकारी नियम अनुसार तीन वटा भवन बन्नेछन् । ‘तीन तलाको उक्त भवनमा ३६ वटा कोठा बन्नेछन् । हाल विद्यालयमा ५ सय जना विद्यार्थी छन् । पञ्चवर्षीय योजना अनुसार आगामी पाँच वर्षमा २५ सय विद्यार्थी बनाउने उद्देश्य राखिएको छ । हाल विद्यालयमा रहेका पुराना पक्की भवन यथावत रहनेछन् । टिनका तला विस्थापित गरेर पक्की बनाइनेछ । सम्पूर्ण पक्की संरचना रातो रङको हुनेछ । २ सय जना अट्ने बृहत् सभा हल निर्माण गरिनेछ । कक्षा कोठामा अनिवार्य शैक्षिक सामग्री व्यवस्थापन, स्मार्ट बोर्ड, आइटी लगायत रहेका छन् ।,’ नमुना विद्यालयका परिकल्पनाकारसमेत रहेका आलेले भने ।
सबैभन्दा महत्वपूर्ण कार्यक्रमका रूपमा विद्यार्थीहरूको जीविकोपार्जनका लागि पढ्दै कमाउँदै कार्यक्रम लागु गरिनेछ । फुटबल, भलिबल र बास्केटबल खेल्न मिल्ने मैदान र विज्ञान प्रयोगशाला तथा लाइबे्ररीसमेत निर्माण गरिनेछ । प्रस्तुत सबै योजना शिक्षा मन्त्रालयले निर्माण गरेको शिक्षा क्षेत्रको (२०२१–२०३०)मा आधारित भएर नमुना विद्यालयको पञ्चवर्षीय निर्माण गरिएको छ ।

विभिन्न शिक्षाविद्हरूसँग बसेर छलफल र सुझावपश्चात निर्माण गरिएको योजना शैक्षिक सत्र २०८२ देखि लागु हुनेछ । अहिलेको शिक्षा व्यवसायिक र प्रयोगात्मक हुनुपर्ने मान्यतालाई आत्मसात गर्दै नमुना विद्यालयको गुरुयोजना निर्माण गरेर अघि बढाइएको उनको भनाइ थियो । सोही अनुसार संस्थागत विद्यालयको रूपमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुल र सरकारी लगानीमा सञ्चालित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबीच पब्लिक प्राइभेट पार्टनरसीप गरिएको थियो ।
गुरुयोजना कार्यान्वयनका लागि सात सदस्यीय निर्माण समिति हुनेछ ।

गुरुयोजना अनुसार समितिको अध्यक्ष बैजनाथ गाउँपालिकाका अध्यक्ष, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नौलापुरको प्रधानाध्यापक सदस्य–सचिव, बैजनाथ–४ का वडाध्यक्ष कोषाध्यक्ष रहने उल्लेख गरिएको छ । यसैगरी गरी सदस्यका रूपमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नौलापुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, गोरखा युनाइटेड पब्लिक स्कुलको अध्यक्ष वा खटाइएको व्यक्ति, बैजनाथ गाउँपालिकाको शिक्षा शाखा प्रमुख र शैक्षिक कन्सलटेन्ट रहने आलेले जानकारी दिए । विद्यालय अवस्थित रहेको निर्वाचन क्षेत्रको संघीय सांसद, प्रदेश सभा सांसद र वडा नम्बर ४ वा पालिकामा शैक्षिक क्षेत्रमा योगदान गरेका व्यक्तिहरूबाट छनोट गरिएको सदस्य गरी तीन सदस्यीय सल्लाहकार समिति गठन गरिने आलेले बताए ।

कार्यक्रममा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बैजनाथ गाउँपालिकाको शैक्षिक उन्नति र विकासका लागि नमुना विद्यालयको मास्टर प्लान अनुसार स्थानीय सरकार अघि बढ्न तयार रहेको बताए । ‘बैजनाथ गाउँपालिकामा नमुना कार्यक्रमका रूपमा योजना आएको छ । यो योजना कार्यान्वयन गर्नका लागि स्थानीय सरकार सहयोग गर्न तयार छ । योजना लागु गरेर नौलापुर स्कुललाई बाँके जिल्लाकै नमुना विद्यालय बनाउन सम्पूर्ण एकजुट हुनुको विकल्प छैन ।’ अध्यक्ष शाहीले भने ।

वर्तमान समयको आवश्यकता व्यवसायिक र प्रयोगात्मक शिक्षा रहेको भन्दै पञ्चवर्षीय गुरुयोजना कार्यन्वयनका लागि स्थानीय सरकार हरदम तयार रहेको उनको भनाइ थियो । बैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर शाहीले विद्यालय नमुना बनाउन विद्यार्थी सङ्ख्या बढाउन सम्पूर्ण सरोकारवालाहरूको भूमिका महत्वपूर्ण रहेको बताए । वडा नम्बर ४ मा तीन वटा सामुदायिक विद्यालय रहेको र ती सबै विद्यालयलाई नमुना बनाएर प्रविभिमैत्री, प्राविधिक र रोजगारमूलक शिक्षा लागु हुन आवश्यक रहेको बताए ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक बलबहादुर खत्रीले स्कुलको बृहत् हित र शैक्षिक विकास गरेर नमुना विद्यालय बनाउन गोरखा फाउन्डेसनसँग सहकार्य गर्न लागेको बताए । उनका अनुसार विद्यालयलाई बैजनाथ गाउँपालिकाकाकै नमुना सामुदायिक विद्यालय बनाउने उद्देश्य रहेको छ । ‘स्थापनाकालदेखि प्रावि तह अध्ययन भएको, वि.स.२०६५ मा निमावि र २०७५ सालमा मावि तह अनुमति प्राप्त गरेको हो । अब हामी प्लस टु सञ्चालनको योजना बनाइरहेका छौँ ।’ प्रधानाध्यापक खत्रीले भने ।

बाँके जिल्लाकै उत्कृष्ट शैक्षिक थलोको रूपमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलसँगको सहकार्यमा नौलापुर स्कुललाई उत्कृष्ट शैक्षिक थलो बनाउनका लागि अभिभावक, बुद्धिजीवीहरूको सहयोग आवश्यक रहेकोमा जोड दिए । उक्त अवसरमा बृहत् अभिभावक तथा शैक्षिक प्रदर्शनी–२०८१ आयोजनासमेत गरिएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले सामाजिक समस्या, विकृतिका कारण र असर, दाइजो प्रथा, सजिव र निर्जिव वस्तु, स्वच्छ वातावरण, विभिन्न जलप्राणी, मानव शरीर, सोलार कुकर र थारू पोशाक प्रदर्शनी गरेका थिए । कार्यक्रममा विद्यालय सेवा क्षेत्रका अभिभावक, विद्यार्थी, शिक्षक तथा त्यस क्षेत्रका राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २२ गते बिहीबार