धनगढी ।
कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा स्वरोजगारका लागि युवा युवतीलाई ड्राइभिङ तालिम प्रदान गरिएको छ । गयश्वर ड्राइभिङ ट्रेनिङ सेन्टरको सहकार्य र धनगढी उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा एक महिना सञ्चालन भएको तालिमको बुधबार समापन गरिएको छ ।
तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सुदूरपश्चिम प्रदेश सभा सदस्य डम्मरीकुमारी महरा (रक्षा)ले प्रमाणपत्र प्रदान गरिन् । सो अवसरमा बोल्दै महराले एक महिनाको तालिमले स्वरोजगार बनाउन मद्दत पुग्ने बताइन् । उनले भनिन, ‘बेरोजगार छु भन्ने युवाहरूको वितृष्णा र मानसिकतालाई चिर्न जरुरी रहेको छ । सिकेका सीपहरूलाई सह िरूपमा सदुपयोग गर्न जरुरी छ ।’
उनले युवाहरू सक्षम भएर र कुलतमा नलागे सफल हुने बताउँदै भनिन्, ‘अहिले सामाजिक सञ्जालको दुरुपयोगले नेताहरूले केही गरेनन् भन्ने मानसिकता रहेको छ । अहिले देशमा थुप्रै कामहरू भएका छन् । युवाहरूले सकारात्मक सोचका साथ अघि बढन जरुरी छ ।’ धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले युवायुवतिहरूलाई सक्षम बनाउन वडाबाटै विभिन्न तालिमहरू सञ्चालन गरिरहेको बताए । उनले भने, ‘अहिले वडामा कम्प्युटर, ड्राइभिङ, व्यूटीपार्लर लगायतका विभिन्न तालिमहरू युवा युवतीहरूलाई दिइरहेको छ ।’
वडा सदस्य बिन्द्राकुमारी बमले स्वागत गरेको कार्यक्रमलाई वडा सचिव सूर्यबहादुर कार्कीले सञ्चालन गरेका थिए । तालिम समापनमा सो वडाका सदस्यहरू, प्रशिक्षक सुरज शिवाकोटी र प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । एक महिनासम्म दिइएको तालिममा ७२ जना सहभागी रहेको प्रशिक्षक शिवाकोटीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्