कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको छ । बुधबार प्लानिङ बवाईज युनाइटेड क्लब काठमाडौँलाई पेनाल्टी सुटआउटमा हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो ।
दोस्रो हाफको ४७औँ मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका श्याम बिडारीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ५६औँ मिनेटमा प्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाडौँका ओम प्रकाश चौधरीले बराबरी गोल फर्काए । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा प्लानिङलाई ४–३ ले हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै क्लबले १–१ को बराबरी गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा आयोजक कोहलपुर रेसिङ साहारा क्लबका जर्सी नम्बर ४ का ललित राना मगर, जर्सी नम्बर ६ का सरोज मल्ल, जर्सी नम्बर ११ का निराजन शाही र जर्सी नम्बर १६ का क्षितिज थापाले गोल गरेका थिए । क्लबका जर्सी नम्बर ७ का खेलाडीले पेनाल्टी मिस गरेका थिए ।
आयोजक क्लबलाई फाइनल यात्रा तय गर्न आयोजक कोहलपुर रेसिङ साहारा क्लबका गोलकिपर अमानत शेषले महत्वपूर्ण भूमि खेले । उनले विपक्षी प्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाडौँका जर्सी नम्बर २१ का विदेशी खेलाडी फ्लोरोड र जर्सी नम्बर २ का राजेश शाहीको पेनाल्टी प्रहार रोकेका थिए ।
प्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाडौँतर्फबाट भने कप्तानसमेत रहेका जर्सी नम्बर ११ का फागुराम थारू, जर्सी नम्बर २३ का ओमप्रकाश चौधरी र जर्सी नम्बर ८ का पुजन थापाले गोल गरेका थिए । आफ्नो टिमलाई फाइनल यात्रा तय गराउन भूमिका खेलेका कोहलपुर रेसिङ साहारा क्लबका गोलकिपर अमानत शेष म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार रूपैयाँ प्राप्त गरे । शेषलाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रसान्त विष्ट र कोहलपुर नगरपालिकाका उप–प्रमुख संगीता सुवेदीले नगदसहित ट्रफी हस्तान्तरण गरेका थिए ।
यस्तै आयोजक क्लबका गोलकिपर शेषलार्ई मुख्यमन्त्री कोहलपुर गोल्डकपका संयोजक कर्ण बस्नेतले व्यक्तिगत रूपैयाँ पाँच हजार रूपैयाँ पुरस्कार प्रदान गरे भने कोहलपुर रेसिङ साहारा क्लबका खेलाडी ललित राना भाटलाई राम्रो प्रदर्शन गरेको भन्दै खेलप्रेमी तथा भूतपूर्व भारतीय सेना तिलक खड्काले व्यक्तिगत ११ सय रूपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरेका थिए ।
म्यान अफ द म्याच पुरस्कार वितरणपछि बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले कोहलपुर गोल्डकपले सिंगो बाँके जिल्लाई फुटबलमार्फत चिनाउन भूमिका खेल्ने बताएका थिए । प्रतियोगिता मर्यादित रूपैयाँ सम्पन्न हुने आशा व्यक्त गर्दै उनले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।
कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले कोहलपुर गोल्डकप नगरपालिकाको प्रतियोगिता भएको बताइन् । उनका अनुसार गोल्डकप मार्फत नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको छ । उपप्रमुख सुवेदीले कोहलपुरमा फुटबलको माहोल सिर्जना गर्न गोल्डकपले सहयोग गरेको बताइन् ।
कोहलपुर रेसिङ साहारा क्लबका गोलकिपर अमानत शेष टिमलाई जिताउन भूमिका खेल्न पाउँदा आफूलाई खुसी लागेको बताए । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि प्रतियोगिता सुरु भएको हो । घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रूपैयाँ र द्वितीय हुने टिमले चार लाख रूपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्