टीकापुर ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टीलाई माओवादीमा समाहित हुन आह्वान गरेका छन् । कैलालीको टीकापुरमा मंगलबारदेखि सुरु भएको थारू राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले थारू समुदायको नेतृत्व गर्ने राष्ट्रिय शक्ति माओवादी अब फेरि आफ्नो वर्ग र समुदायमा फर्किने प्रतिबद्धतासहित रुपान्तरणको दिशामा अघि बढेको बताए । उनले थारू समुदायकै मुक्तिका लागि भनेर फरक शक्ति आवश्यक नपर्ने उल्लेख गर्दै रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि माओवादीमा समाहित हुन आह्वान गरे ।
‘टीकापुर घटनामा थुप्रै जालझेल भएको मलाई थाहा छ,’ उनले भने, ‘थारूको बच्चा हो छुटाउनुपर्छ भनेर रेशम चौधरीलाई जोखिम उठाएर छुटाएको हुँ । तर, अहिले रेशम कताकता छन् । रेशमले पनि माओवादीमै आउनु उचित हुन्छ ।’ जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा स्पष्ट गरेको पनि उनले जानकारी दिए ।
उनले टीकापुर विद्रोह थारू समुदायको अधिकारका लागि भएको बताएका छन् । ‘टीकापुर थारू विद्रोह थारूहरूको अधिकारका लागि भएको हो,’ उनले भने, ‘म त्यसको सम्मान गर्न चाहन्छुु ।’ अर्को प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग मिलेर सरकार चलाउँदा दुवै पार्टीको रोग सरेको बताए । ‘कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर जाँदा अलिअलि कांग्रेस र अलिअलि एमालेको रोग स¥यो,’ उनले भने, ‘अहिले त्यो रोगको उपचार गरिरहेका छौँ । रोगको उपचार जनताको घरदैलोमा गएर हुन्छ भनेर हामी सोहीअनुसार अगाडि बढेका छौँ ।’
प्रचण्डले अब कांग्रेस र एमालेसँग रोग सर्नेगरी एकता गर्ने पक्षमा नरहेको बताए । अध्यक्ष प्रचण्डले भ्रष्टाचारको विरुद्ध अभियान सुरु गर्दा माओवादीलाई सरकारबाट बाहिर राखिएको बताउँदै भने, ‘त्यो अभियानले जनतामा आशा जगाउँदै गएको थियो । तर, हामीलाई सरकारबाट बाहिर पारियो । बाहिर आएपनि सुशासन, सामाजिक न्याय र विकासको मुद्दा जनतामा ल्याएर आएका छौँ ।’
प्रतिक्रिया दिनुहोस्