वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ र ८ मा पर्ने देशकै ठूलो शमशेरगन्ज माधेवास चक्ला वनबाट दीगो संरक्षणका साथै रोजगारी पनि सृजना भइरहेको छ । शमशेरगन्ज सव डिभिजन वन कार्यालय अन्तर्गत पर्ने दुई हजार पाँच सय ७८ हेक्टरमा फैलिएको शमशेरगन्ज–माधेवास वन क्षेत्रलाई चक्लाबन्दी वन सम्बद्र्धन प्रणालीमा रही वनको दीगो व्यवस्थापनका साथै र रोजगारी सृजना र राजस्व संकलन भइरहेको पाइएको हो ।
उक्त चक्ला वनमा गरिएको सम्बद्र्धनको कार्यक्रमबाट वार्षिक १० करोड ७४ लाख १४ हजारबढी राजस्व संकलन भएको र ५० हजार आठ सय १३ कार्यघण्टा रोजगारी सृजना भइरहेको तथ्यांक वन कार्यालयसँग छ । वन सम्बद्र्धन कार्यक्रम अन्तर्गत उमेर पुगेका रूखहरूलाई निश्चित मापदण्डमा रही कटान गर्ने र नयाँ रूखहरू हुर्कनको लागि उपयुक्त वातावरण निर्माण गर्न वैज्ञानिक विधिमा आधारित विधिहरू अपनाइने गरिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार नयाँ बिरुवाहरूलाई आवश्यताअनुसारको संख्या, गुणस्तर र प्रजाति सम्मीश्रण गरी हुर्कन मद्धत गर्ने गरिएको छ ।
जसका लागि चक्ला वनको रुपमा घोषित उक्त वनमा विभिन्न ७ वटा खण्डमा विभाजन गरिएको उनले जानकारी दिए । ती ७ खण्डलाई पनि प्रत्येकलाई ८ वटा उपखण्डमा विभाजन गरी हरेक खण्डलाई वार्षिकरुपमा पालैपालो उमेर पुगेका रूखहरू हटाउने र नयाँ रूखहरूलाई हुर्काउन आवश्यक व्यवस्थापन मिलाउने गरिएको उनले बताए । यसरी व्यवस्थान गरिएको र व्यवस्थापन गर्न बाँकी खण्डको स्थलगत अवलोकनको क्रममा गुप्ताले भने, ‘जुन खण्डमा सम्बद्र्धनको काम गरेका छौँ त्यहाँ नयाँ पुस्ताका रूखहरू प्रशस्त हुर्किरहेका छन् । सम्बद्र्धनको काम गर्न बाँकी क्षेत्रमा त्यस्ता नयाँ पुस्ताका रूखहरू कम छन् । यसैबाट यो कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्न सकिन्छ ।’
यसरी सम्बद्र्धनको काम गर्दा वनबाट काठ र दाउरा बिक्री गरिन्छ । साथै, रूख छपान र कटानमा रोजगारीको सृजना भइरहेको शमशेरगन्ज सव डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्मा लम्सालले जानकारी दिए । आर्थिक वर्ष २०७३–७४ बाट सुरु भएको उक्त सम्बद्र्धनको कार्यक्रमबाट २०८२–८३ सम्म ५६ करोड चार लाख ७५ हजारबढी राजस्व संकलन हुने अनुमान गरिएको छ । काठ र दाउरा बेचबिखनबाट आएको सबै रकम सरकारको राजस्वमा जम्मा हुने गरेको लम्सालले बताए ।
शमशेरगन्ज सव डिभिजन वन कार्यालयले वन संरक्षणका लागि रूखहरूको व्यवस्थापनका साथै आगलागी नियन्त्रणका लागि पनि काम गर्दै आएको जनाएको छ । त्यसका लागि चक्ला वनको हरेक खण्डलाई छुट्याउने गरी अग्निरेखा निर्माण गरिएका छन् भने १७ जना अग्नी नियन्त्रक वर्षभरी नै खटाइने गरिएको वरिष्ठ वन अधिकृत लम्सालले बताए ।
क्षेत्रफलका हिसाबले शमशेरगन्ज–माधेवास चक्ला वन देशकै सबैभन्दा ठूलो चक्ला वन रहेको र उक्त वनमा गरिएको अभ्यास सफल भएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख गुप्ताको दाबी छ । १० वर्षमा हुने समीक्षापछि बाँकेमा संरक्षणको दायरामा आउन नसकेको करिब ३० हजार हेक्टर वनमा पनि प्राथमिकताअनुसार चक्ला वनको अवधारणमा काम गर्न सकिने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
यद्धपि वन सम्बद्र्धन कार्यक्रका लागि पर्याप्त बजेट नहुनु, जनशक्तिको अभाव, चोरी निकासी, तथा वन डढेलोजस्ता चुनौतीहरू भने रहेका गुप्ताले बताएका छन् ।
सालका नयाँ बिरुवा हुर्काइँदै
शमशेरगन्ज–माधेवास चक्ला वनमा मात्रै नभइ शमशेरगन्ज सव डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने त्रिशक्ति सामुदायिक वनमा सालका नयाँ बिरुवाहरू हुर्काइँदै छन् । सामुदायिक वनका अध्यक्ष उमा ओली बस्नेतले सालका नयाँ बिरुवाहरूलाई सव डिभिजन वन कार्यालयमार्फत हुर्कनका लागि उपयुक्त वातावरण निर्माण गरिएको बताइन् । पूर्वपश्चिम राजमार्ग छेउमै पर्ने उक्त वनमा भएका उमेर पुगेका र अन्य कुकाठका रूखहरू हटाएर सालका बिरुवाहरूका लागि हुर्कने वातावरण तयार गरिएको छ ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताका अनुसार सालको एउटा बिरुवा वयस्क हुन कम्तिमा ८० वर्ष लाग्ने र कम्तिमा १० वर्षको भएपछि सहजै हुर्कन सक्ने भएकोले त्यतिन्जेलसम्मका लागि हेरचाह र संरक्षणमा विशेष ध्यान दिइन्छ । सालका बिरुवाहरू उम्रिएका ठाउँमा अन्य झारपातहरू हुर्कन नदिने र आगलागी तथा वन्यजन्तुको पहुँचमा पुग्न नदिन विशेष निगरानी गर्ने गरिएको गुप्ताले बताए ।
गुप्ताले भने, ‘पछिल्लो समय सालका रूखहरू विस्थापित भएर अन्य काठ नहुने बिरुवाहरू बढ्दै गएका छन् । त्यसकारण सालको नयाँ पुस्ताको विकास गराउन हामीले त्रिशक्ति सामुदायिक वनमा पनि वन सम्बद्र्धनको कार्यक्रम चलाइरहेका छौँ ।’
प्रतिक्रिया दिनुहोस्