कर्णालीका २ प्रतिशत नागरिकको मात्रै डिम्याट खाता



वीरेन्द्रनगर ।

कर्णाली प्रदेशमा शेयर बजार तथा वस्तु विनिमय बजारका लागि २ प्रतिशत जनसङ्ख्याले मात्र डिम्याट खाता खोलेका छन् । वित्तीय साक्षरता ५९.७ प्रतिशत रहेको कर्णालीमा २ प्रतिशतले मात्रै डिम्याट खाता खोलेको पाइएको हो ।
नेपाल धितोपत्र बोर्डको आयोजना र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको समन्वयमा सम्पन्न धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना अभिवृद्धि कार्यक्रममा यस्तो बताइएको हो ।

शेयर बजारजस्ता विषयवस्तु कर्णालीका लागि नौलो भएका कारण न्यून मात्रामा डिम्याट खाता खोलेको पाइएको छ । धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटाले कर्णालीमा वित्तीय साक्षरता दर ५९.७ प्रतिशत रहेको तर डिम्याट खाता खोल्ने जनसङ्ख्या ३ प्रतिशत पनि नपुगेको बताए ।

नेपालभर ६५ लाख बढीले डिम्याट खाताबाट शेयर बजारमा लगानी गरिरहेको बेला कर्णालीमा यो सङ्ख्या निकै कम रहेको उनले जानकारी दिए । लगानी तथा रोजगारीका अवसर जुटाउन शेयर बजार लगायतका बारेमा सचेत हुन जरुरी रहेको उल्लेख गर्दै शेयर बजारले लगानीको ठूलो अवसर जुटाउने उनले जानकारी दिए ।

‘धितोपत्र बोर्डले प्रदेशस्तरका पत्रकारहरूलाई यसबारेमा सचेतीकरण गराएको छ । आर्थिक पत्रकारितामा शेयर बजारले पनि क्रमशः स्थान पाउँदै गएको छ’ उनले भने, ‘आगामी दिनमा यसलाई थप प्राथमिकता दिन आग्रह छ ।’
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले धितोपत्रबारे पत्रकार मात्र होइन, यहाँ अन्य सर्वसाधारणले पनि पर्याप्त मात्रामा जानकारी नपाएको बताइन् । उनले प्रदेशको आर्थिक विकासका लागि लगानी र पुँजी परिचालन गर्न धितोपत्रबारे अभिमुखीकरण आवश्यक रहेको भन्दै नयाँ विषय भएकोले यसलाई सञ्चारमाध्यममार्फत सचेतना फैलाउन गरिएको कार्यक्रमले टेवा पुग्ने उल्लेख गरिन् ।

नेपाल धितोपत्र बोर्डका राजु विसीले अहिले यसको सचेतनाका लागि प्रदेश स्तरमा अभिमुखीकरण गराउँदै आएको जानकारी दिए । कार्यक्रममा बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटा, दौलतकुमार राजवंशी, राजु विसी, नेपाल स्टक एक्सचेन्जका मिलन मगरलगायतले धितोपत्र, शेयर बजार लगायतका वारेमा अभिमुखीकरण गराएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार