मुख्यमन्त्री कोहलपुर गोल्डकपमा प्लानिङ ब्वाईज सेमिफाइनलमा प्रवेश



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर–२ स्थित तेह्र बिगाह खेल मैदानमा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप सञ्चालन भइरहेको छ । कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा फागुन १७ देखि सुुरु भएको गोल्डकप सञ्चालन भइरहेको हो । गोल्डकपको तेस्रो दिन सोमबार एउटा खेल सम्पन्न भएको थियो । गोल्डकपको तेस्रो दिन भएको क्वाटर फाइनल खेलमा राईनो फुटबल क्लब गण्डकीलाई प्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाडौँले पराजित गरेको थियो । खेलमा राईनोलाई २–० गोलले पराजित गर्दै प्लानिङ ब्वाईज युनाइटेड क्लबले सहज जित हासिल गर्यो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेका थिए । तर, दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको सुरुदेखि नै राईनोमाथि प्लानिङ ब्वाईज हाबी भएको थियो । उसले राईनोलाई खेल अवधिभर दबाबमा राखेको थियो । दोस्रो हाफको ४७औँ मिनेटमा गोल गर्दै प्लानिङ ब्वाईज युनाइटेड क्लबका जर्सी नम्बर २८ का विदेशी खेलाडी एलेक्सले टिमलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा मैदान प्रवेश गरेका प्लानिङ ब्वाईजका जर्सी नम्बर १४ का सरोज कार्कीले गोल गरेर सहज जित दिलाए ।

खेलमा प्लानिङ ब्वाईज युनाइटेड क्लबका एलेक्स म्यान अफ र म्याच घोषित भए । उनले टिमलाई जिताउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले नेपालको फुटबल प्रेम महत्वपूर्ण रहेको बताएका थिए । आफूले नेपालमा इन्जोए गरिरहेको पनि बताए । उनलाई कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी र कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष डम्बरबहादुर खड्का र कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चिन्तामणी धितालले नगद पाँच हजारसहित म्यान अफ म्याच संयुक्त रूपमा प्रदान गरेका थिए ।

मिडिया कुराकानीमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष डम्बरबहादुर खड्काले गोल्डकपले कोहलपुरलाई चिनाउन भूमिका खेलेको बताए । उनले गोल्डकपमा स्वदेशी र विदेशी खेलाडी सहभागी हुनु सकारात्मक रहेको बताए । ‘गोल्डकप कोहलपुरको पहिचान बनेको छ । यसलाई निरन्तरता दिनुपर्छ । यो गोल्डकपलाई थप व्यवस्थित बनाउनुपर्छ,’ उनले भने ।

प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल मंगलबार दिउँसो ३ः३० बजे अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुटबल क्लब सुर्खेतबीच हुने खेल संयोजक कर्ण बस्नेतले बताए । क्वाटर फाइनल समीकरण सकिएसँगै बुधबारदेखि सेमी फाइनल समीकरण सुरु हुने संयोजक बस्नेतले बताए । प्रतियोगिता मर्यादित रूपमा भइरहेको र दैनिक दर्शकहरूको समेत उपस्थिति उल्लेख रहेको उनको भनाइ छ ।

सोमबार गोल्डकपको तेस्रो क्वाटर फाइलन खेल जित्दै प्लानिङ ब्वाईज युनाइटेड क्लब सेमिफाइनल प्रवेश गरेको छ । यसअघि आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब कोहलपुर र राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल प्रवेश गरिसकेका छन् । कोहलपुर रेसिङ साहारा फुटबल क्लबले २–० गोल अन्तरले लुम्बिनी फुटबल क्लब घोराही दाङ पराजित भएको थियो । आइतबार राइजिङ स्टार फुटबल क्लब नवलपरासीले पेनाल्टी सुटआउटमा ४–३ अन्तरले भारतको साहारा फुटबल क्लब लखनउलाई पराजित गरेको थियो ।

२–० गोल अन्तरले पराजित भएको राईनो फुटबल क्लब गण्डकी, भारतको साहारा फुटबल क्लब र लुम्बिनी फुटबल क्लब घोराही दाङ प्रतियोगिताबाट बाहिरिएका छन् । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रूपैयाँ र द्वितीय हुने टिमले चार लाख रूपैयाँ पुरस्कार पाउनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार