श्यामलाल पोखरेल । बुटवल ।
नेपाली कांगे्रसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांगे्रसलाई जीवन्त बनाउन मतभेदको अन्त्य गर्नुपर्ने बताएका छन् । मतभेद हटेमा कांगे्रस सधैभर जीवन्त हुने उनले दाबी गरे । कांगे्रसप्रति जनतालाई थप आर्कषित गर्न जीवन्त भाइब्रेन्ट डेमोक्रेटी पार्टी बनाउनु पर्नेमा देउवाले जोड दिए ।
सोमबार रूपन्देहीकोे भैरहवामा कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय सभापतिहरु र क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहमा बोल्दै पार्टीभित्र नमिलका कुरालाई आपसमा छलफल गरेर मिलाउन सकिने सभापति देउवाको भनाइ छ ।
उनले कांग्रेसलाई जीवन्त भाइब्रेन्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने उल्लेख गरे । देउवाले भने, ‘हाम्राबीचमा अनेक किसिमका मतभेदहरु हुन सक्छन्, कतिपय कुराहरु नमिलेका हुन सक्छन् । ती सबै कुरालाई आपसमा छलफल, मेलमिलाप, विश्वास र कुराकानी गरेर मतभेद हटाउनुपर्छ ।’ कांग्रेसलाई हिजोभन्दा अझ ठूलो पार्टी बनाउनुपर्ने उनको भनाइ छ ।
देशमा लोकतन्त्र, प्रजातन्त्र भएका कारण समावेशी, समानुपातिक र विपक्षी दल सहितको व्यवस्था बनेको बताउँदै सभापति देउवाले भने, ‘लोकतन्त्रमा प्रतिपक्षी पार्टीको ठूलो भूमिका हुन्छ ।’ कांगे्रसका उपसभापति पूर्णबहादुर खड्काले अब गल्ती नगर्ने गरी कांगे्रसलाई सुधार्ने बताउँदै नीतिगत रूपमा कांगे्रसलाई सुधार गर्नुपर्ने बताए । लोकतन्त्रको पहरेदार कांगे्रसको बलमा संविधान बनेकाले सबै पार्टी र दशैकै अभिभावक कांग्रेस भएको उनले जिकिर गरे ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रूपन्देहीको आतिथ्यमा सुरु भएको कार्यक्रम आज मंगलबारसम्म सञ्चालन हुने र यो कार्यक्रममा ३ सय बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको स्थानीय कांग्रेस नेता सुशील गुरुङले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्