कोहलपुर नगरपालिकाले निःशुल्क रूपमा आँखाको शल्यक्रिया गरेर आँखा देख्न सक्ने भएपछि खत्रीको मुहारमा अहिले सुखीको सिमा नै छैन् । बर्षौँदेखि देख्न छाडेको आँखाले जब एक्कासी देख्न पाउँदा उनी दंग छिन् । डा.सागर रुइतले आँखाको टेप खोल्दिँदै सोधे, ‘पहिलेको भन्दा राम्रो देखिएको छ, चिन्नु भोनि उहाँलाई ? खत्रीले हाँस्दै भनिन्, ‘उम राम्रोसँग देखिन्छ, उहाँलाई चिनेँ, ज्वाइँ हुनुहुन्छ ।’
गणेश रावत । कोहलपुर ।
बाँके कोहलपुर–९ की रेवतीकुमारी खत्रीको देब्रे आँखाको दृष्टि गुमेको एक दशक पुग्यो । उनी विगत एक दशकदेखि दायाँ आँखाको दृष्टिको भरमा संसार नियाल्ने अर्थात हेर्ने गर्थिन् । उमेरले ५६ वर्ष कटेकी खत्री आर्थिक रूपले विपन्न भएकै कारण आँखाको शल्यक्रिया गर्न अस्पतालसम्म पुग्न सकेकी थिइनन् ।
तर, कोहलपुर नगरपालिकाले निःशुल्क रूपमा आँखाको शल्यक्रिया गरेर आँखा देख्न सक्ने भएपछि खत्रीको मुहारमा अहिले सुखीको सिमा नै छैन् । बर्षौँदेखि देख्न छाडेको आँखाले जब एक्कासी देख्न पाउँदा उनी दंग छिन् । डा.सागर रुइतले आँखाको टेप खोल्दिँदै सोधे, ‘पहिलेको भन्दा राम्रो देखिएको छ, चिन्नु भोनि उहाँलाई ? खत्रीले हाँस्दै भनिन्, ‘उम राम्रोसँग देखिन्छ, उहाँलाई चिनेँ, ज्वाइँ हुनुहुन्छ ।’
उनी अहिले नगरपालिकाले आँखा शल्यक्रिया गरिदिएपछि स्पष्ट आँखा देख्न सक्ने भएको बताउँछिन् । आर्थिक अभावले आँखाको शल्यक्रिया गर्न नसकेर पीडा लुकाइ बसेकी खत्री नगरपालिकाले निःशुल्क उपचार गरिदिएपछि दुवै आँखाले खुल्ला संसार निहाल्न सक्ने भएकी छन् । उनले नगरपालिकालाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै कामहरू गर्दै जान नगरपालिका जनप्रतिनिधिलाई आग्रह गरिन् । अस्पतालसम्म जान आर्थिक अवस्थाले नभ्याएर उपचारबाट बञ्चित भएका उनी जस्ता ४ सयभन्दा धेरैका लागि शिविरले राहत प्रदान गरेको छ ।
मंगतु थारुको पनि समस्या उस्तै थियो । उनको दाहिने आँखा धमिलो देखिने र मान्छे चिन्न गाह्रो हुने गरेको उनी बताउँछन् । लामो समयदेखि उपचारका लागि छोराले मजदुरी गरेर जुटाएको रकमले उपचार गर्ने सोचेका उनी नगरपालिकाले निःशुल्क शल्यक्रिया गरिदिएपछि धेरै सहज भएको उनको भनाइ छ ।
घरखर्च जुटाउन हम्मेहम्मे हुने गरेका उनलाई उपचार खर्च जुटाउन थप समस्या थियो । तर, त्यो सबै अहिले टरेको छ । नगरपालिकाले यातायात खर्चसहित खाजा तथा आँखाको समेत निःशुल्क उपचार गरिदिएर उज्यालो संसार राम्रोसँग देख्न पाउँदा सर्वसाधारण नागरिकको खुसीको सिमा छैन् ।
‘उहाँहरूलाई कहिले अप्ठ्यारो नपरोस्’ थारुले भने, ‘हामीलाई यस्तो आँखा देख्ने बनाइदिनु भयो, हामीलाई जन्मदिने आमाबुबा जस्तै यी डाक्टरहरू हुनुहुन्छ’ उनले भने, ‘डाक्टरहरूको सधैँ जय होस् ।’ तिलगंगा आँखा अस्पतालको विशेषज्ञ टिमलाई बोलाएर कोहलपुर नगरपालिकाले नगरपालिकाभित्रका ४ सयभन्दा धेरै नागरिकलाई निःशुल्क शल्यक्रिया गरिदिएको हो । तिलगंगा आँखा अस्पतालको समन्वयमा र नगरपालिकाको अािर्थक सहयोगमा शिविर सञ्चालन गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।
आधारभूत आवश्यता पूरा गर्ने स्थानीय सरकारको कर्तव्य भएको उनले बताए । विशेषगरी ज्येष्ठ नागरिकहरूको आँखाको समस्या समाधन गर्न तिलगंगा आँखा अस्पातलको गुणस्तरीय सेवा कोहलपुरमा प्रदान गरी उज्यालो संसार देखाउन पाउँदा खुसी लागेको जानकारी दिए ।
स्क्रिनिङ तथा शल्यक्रिया सहितको सेवाका लागि अस्पतालसँग अनुरोध गरेर सम्झौता भइ आँखाको विशेषज्ञ उपचार सेवा दिएको बताए । ५ सय जनाको शल्यक्रिया गर्ने लक्ष्य रहेको उनले बताए । नगरपालिकाभित्र रहेका सबै वडाका नागरिकहरूलाई शिविर सञ्चालन गरेर नगरपालिकाले निःशुल्क शल्यक्रिया गरिदिने भएपछि बिरामीहरूको घुइँचो लागेको थियो ।
‘आँखाका बिरामीहरूलाई विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहका लागि तिलगंगाको टिमलाई गरिएको आग्रह स्वीकार भएको छ’ नगर प्रमुख आचार्यले भने, ‘तिलगंगाकै विशेषज्ञ टिम आएर चेकजाँच गर्ने भएकाले आँखामा समस्या भएका बिरामीले लाभ लिएका छन् ।’ कोहलपुरमा अस्थाइ रूपमा बस्दै आएका अन्य जिल्ला र पालिकाका स्थानीयले समेत उपचार सेवा लिएको उपप्रमुख संगीता सुवेदीले बताइन् । उनले ज्येष्ठ नागरिकलाई नगरपालिकामा सञ्चालित स्वास्थ्य बीमामा आबद्ध हुन आग्रह समेत गरिन् ।
नगर अस्पतालमा आवश्यक सबै व्यवस्थाका साथ तयारी गरेर आँखा स्वास्थ्य सेवा प्रदान गरिएको कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले जानकारी दिए । शिविरमा आँखाको स्क्रिनिङ तथा शल्यक्रिया गरिएको उनले बताए । महाकुम्भ अर्थात महोत्सवका रूपमा आँखा शिविरलाई लिएको बताए । बिहानदेखि साँझसम्म नागरिकहरूले सेवा लिएका थिए । नगरपालिकामा नै गुणस्तरीय र निःशुल्क सेवा पाउँदा स्थानीय खुसी भएको उनले बताए ।
विशेषज्ञ टिमले पाँच दिनसम्म आँखाको स्क्रिनिङ र अन्य तीन दिन शल्यक्रिया गरेको उनले मिसन टुडेलाई बताए । ९ गतेबाट सुरु भएको शिविर १ देखि १५ वटै वडामा सञ्चालन भएको थियो । शल्यक्रिया मात्र नभइ बिरामीलाई खाजा खर्चसहित घरसम्म पु¥याउने व्यवस्थासमेत मिलाइएको स्वास्थ्य शाखा प्रमुख ठकुरीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्