के एसईईको परीक्षा केन्द्र ‘सेटिङ’मा तोकिन्छन् ?



नगर प्रमुख र प्रजिअजस्ता राज्यका दुई फरक तर जिम्मेवार निकायका प्रमुखहरूको बाझाबाझमा नागरिकहरूको चिन्ता भने परीक्षा प्रणालीलाई नै चुनौती दिने गरी के प्रशासक र कर्मचारीहरूले परीक्षा केन्द्र तोक्दा नै अनुचित चलखेल गरेर वा घुस खाएर तोक्छन् ? भन्ने चिन्ता उत्पन्न गराएको छ । हुन त नीजि विद्यालयहरूले आफ्ना विद्यार्थीहरू धेरै पास गराउन, राम्रो नतिजा ल्याउन र त्यसैलाई विज्ञापनको रूपमा प्रचार गरेर अरु विद्यार्थीहरू आकर्षित गर्न पैसा तिरेर परीक्षा केन्द्रहरू आफू अनुकुल विद्यालयमा पार्न लगाउँछन् भन्ने चर्चा चोक चौतारामा हुने गरेको थियो ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँके कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बिहीबार मात्रै सरुवा भएका बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले ‘अनुचित चलखेल’ गरेर माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा केन्द्र तोकेको भन्दै फेसबुक र सार्वजनिक कार्यक्रममै आरोप लगाएपछि अहिले यो विषय चर्चामा छ ।

यस प्रकरणपछि विशेषगरी के एसईई लगायतका परीक्षा केन्द्र नै सेटिङमा तोकिन्छन् ? र प्रजिअले त्यसरी साँठगाँठ गरेर केन्द्र तोक्न सक्छन् त ? भन्ने प्रश्न नागरिकहरूले उठाइरहेका छन् । यसमा नगर प्रमुख आचार्यले कुन–कुन परीक्षा केन्द्र ‘अनुचित चलखेल’ गरेर तोकिएका छन् भन्ने खुलाएका छैनन् । के का आधारमा उनले प्रमुख जिल्ला अधिकारीलाई नीजि विद्यालयसँग ‘राम्रै सौदाबाजी’ गरेको भने ? किन प्रमुख जिल्ला अधिकारीलाई ‘नैतिक रूपमा भ्रष्ट’ जस्तो गम्भीर आरोप लगाए ? नगर प्रमुख आचार्यले यसको जवाफ दिनुपर्ने हुन्छ ।

नभए ‘अनुचित चलखेल’ गरेर एसईईको परीक्षा केन्द्र तोकिएको भनेर नगरपालिकाको नगर प्रमुखजस्तो व्यक्तिले आरोप लगाउनु तर त्यसको स्पष्ट आधार नदिएमा नागरिकहरू भ्रममा पर्छन् । आधारहीन आरोप मात्रै लगाउनु स्थानीय सरकारको प्रमुख जस्तो व्यक्तिका लागि अशोभनीय र अक्षम्य विषय पनि हो ।

अर्काेतिर, साँच्चै नगर प्रमुखले भनेजस्तो बेथिति छ भने पनि त्यसलाई उठाइसकेपछि तथ्यपूर्ण रूपमा सञ्चारमाध्यममार्फत जानकारी गराउनु नगर प्रमुख आचार्यको दायित्व हुन आउँछ । यता एसईईको परीक्षा केन्द्र तोक्ने मुख्य निकाय तथा जिल्ला परीक्षा समन्वय समितिको सदस्यसचिव रहने शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले एक प्रेस विज्ञप्ति जारी गर्दै नगर प्रमुख आचार्यको आरोपलाई अफवाह भनेको छ । उक्त विज्ञप्ति इकाइबाट जारी भएपनि बाँकेबाट सरुवा भएर जाँदैगर्दा प्रजिअ रिजालको निर्देशनमा जारी भएको बुझ्न कठिन छैन् । प्रजिअले भने आफूनिकट सञ्चारमाध्यमबाट पनि उक्त आरोपको खण्डन गरेका छन् । नगर प्रमुख आचार्यलाई आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।

नगर प्रमुख र प्रजिअजस्ता राज्यका दुई फरक तर जिम्मेवार निकायका प्रमुखहरूको बाझाबाझमा नागरिकहरूको चिन्ता भने परीक्षा प्रणालीलाई नै चुनौती दिने गरी के प्रशासक र कर्मचारीहरूले परीक्षा केन्द्र तोक्दा नै अनुचित चलखेल गरेर वा घुस खाएर तोक्छन् ? भन्ने चिन्ता उत्पन्न गराएको छ । हुन त नीजि विद्यालयहरूले आफ्ना विद्यार्थीहरू धेरै पास गराउन, राम्रो नतिजा ल्याउन र त्यसैलाई विज्ञापनको रूपमा प्रचार गरेर अरु विद्यार्थीहरू आकर्षित गर्न पैसा तिरेर परीक्षा केन्द्रहरू आफू अनुकुल विद्यालयमा पार्न लगाउँछन् भन्ने चर्चा चोक चौतारामा हुने गरेको थियो । तर, यसको पुष्टि हुने गरी कुनै तथ्य बाहिर आउन सकेको थिएन ।

यद्यपी गतवर्ष बाँके जिल्लामा अनुचित चलखेल गरेर परीक्षा केन्द्र तोकिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेको शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका पूर्वप्रमुख रामसुरेश यादव बताउँछन् । उक्त विषयमा अख्तियारले छानबिन गर्दा प्रमाण नभेटिएपछि निवेदन खारेजीमा परेको हाल सेवा निवृत्त उनी बताउँछन् ।

नेपालगन्जका एकजना पूर्वप्रधानाध्यापकले भने नगर प्रमुख आचार्यले सही विषयको उठान गरेको र यस विषयमा सार्वजनिक वृत्तमा छलफल हुनुपर्ने बताए । उनले आफू प्रधानाध्यापक हुँदा नीजि विद्यालयका सञ्चालकहरू आफ्नो विद्यालयको केन्द्र त्यहाँ नपारिदिनुप¥यो भनेर जिल्ला शिक्षा कार्यालय धाउने गरेको मिसन टुडेसँको कुराकानीमा बताए ।

उनले आफूले भोगेको अनुभव सुनाउँदै भने, ‘एकपटक एउटा विद्यालयमा परीक्षा सुरु भएर प्रश्नपत्र बाँड्नुभन्दा पहिले नै विद्यार्थीहरूले उत्तर लेखिरहेको भेटिएको थियो । त्यो चिट चोराउनका लागि सुरु देखि नै सेटिङ गरिएको थिएन भनेर कसरी पत्याउने ?,’ उनले भने । ती प्रधानाध्यापकले यस्तो सेटिङको पुष्टि गर्न प्रमाणहरू नपुग्ने हुँदा थाहा पाएका र असल नियत भएका शिक्षकहरू चुप लागेर बस्नुपरेको बताए । आफूले परीक्षा केन्द्रका लागि हुने अनेक सेटिङहरूको उदाहरणहरू दिनसक्ने तर तिनलाई प्रमाणित गर्न नसक्ने हुँदा समाचामा नाम उल्लेख नगरिदिन ती प्रधानाध्यापकले आग्रह गरे ।

उनले चुनौती दिँदै भने, ‘नीजि विद्यालयका ‘ए’ प्लस ल्याउने विद्यार्थीहरूले परीक्षा हल बाहिरीइसकेपछि त्यही पेपर फेरि हल गर्न लगाउँदा अधिकांशले पचास प्रतिशत प्रश्नको उत्तर पनि लेख्न सक्दैनन् भन्ने मेरो दाबी छ । नीजि विद्यालयले चिट चोराउन सहज केन्द्र बनाउनका लागि शिक्षा कार्यालयका कर्मचारीलाई घुस खुवाउँछन् । यो प्रमाण पु¥याउन नसकिने भएकोले मात्रै बाहिर आएको छैन् ।’

ती प्रधानाध्यापकले प्रमुख जिल्ला अधिकारी नै केन्द्र यस्तो सेटिङमा जोडिने नजोडिने भने शंकाको विषय रहेको बताए । ‘यद्यपी एउटा स्थानीय सरकारको प्रमुखले नै सार्वजनिकरूपमा आरोप लगाएपछि यस विषयमा पनि आशंका बढेको छ । जे भएपनि यो बेथिति हाम्रो अप्रमाणित सत्य हो । नगर प्रमुख आचार्यले बाहिर ल्याउने हिम्मत गरेका मात्रै हुन्,’ ती प्रधानाध्यापकले भने ।

मिसन टुडेले कुराकानी गरेका अरु केही शिक्षक र प्रधानाध्यापकले आरोपमा आंशिक सत्यता रहेको तर सिडीओे कै मिलोमतो हुनेमा भने शंका व्यक्त गरे । उनीहरूले परीक्षा केन्द्र सहज होस् भनेर नीजि र सामुदायिक सबै विद्यालयका प्रधानाध्यापकहरू कसरतमा लाग्ने गरेको बताए । त्यसमा पैसाका हिसाबले नीजि विद्यालयहरूले वर्चस्व जमाउने गरेको शिक्षकहरूको भनाइ छ । ती शिक्षकहरूले पनि माध्यमिक तहको शिक्षाको गुणस्तर सुधार गर्ने हो यो विषयमा निष्पक्ष छानबिन भएर सत्यतथ्य बाहिर आउनुपर्ने बताएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका पूर्वप्रमुख यादव भने परीक्षा केन्द्रका लागि नै चलखेल हुने वा अनुचित लेनदेन हुने कुरामा सत्यता नरहेको बताउँछन् । उनले भने, ‘प्रअहरूले आफ्नो विद्यालयको परीक्षा केन्द्र सहज ठाउँमा गरिदिनुप¥यो भन्नु स्वभाविक हो । तर, केन्द्र तोक्दा माथिबाट आएको परिपत्र र मापदण्ड पालना गराउँदा सबैले चाहेजस्तो गरी केन्द्रहरू नतोकिन सक्छ । त्यसैको असन्तुष्टि बाहिर आएको हुनसक्छ ।’

नगर प्रमुख आचार्यले केही परीक्षा केन्द्रहरू आफूले भनेअनुसार मिलाइदिन भनेको र त्यसो गर्न नसकिएपछि आफूलाई आधारहिन आरोप लगाएर चरित्रहत्या गर्न खोजेको हाल बाँकेबाट सरुवा भएर गइसकेका रिजालको तर्क छ ।
जिल्ला परीक्षा समन्वय समितिको सदस्य सचिवको रूपमा रहेका शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका निमित्त प्रमुख लोकबहादुर शाही पनि प्रजिअको तर्कलाई समर्थन गर्छन् । ‘हामीसँग नगर प्रमुखले यस विषयमा केही सुझाव, सल्लाह दिएको मलाइ जानकारी छैन् । तर सिडीओे साबसँग उहाँको कुरा भएको रहेछ । तर सिडीओे साबले नियमानुसार हुने बताउनुभएको रहेछ । त्यसपछि उहाँ (नगर प्रमुख)ले आफूसँग समन्वय भएन । मैले भनेको अनुसार केन्द्र तोकिएन भन्ने कुरालाई नै इगोको रूपमा लिनुभएको जस्तो लाग्छ ।’

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका पूर्वप्रमुख यादव पनि प्रजिअले समितिको बैठकमा सदस्यहरूले ल्याएको प्रस्तावमाथि छलफल गर्ने र उपयुक्त देखिएमा सदर गर्नेबाहेक प्रत्यक्ष भूमिका नखेल्ने बताउँछन् । ‘उहाँलाई गुनासो, सुझाव वा आफ्नो धारणाका बारेमा कुराहरू आउने, सरसल्लाह हुने हुनसक्छ । त्यस्तो केही विषय आएको छ भने उहाँले बैठकमै उठाउने हो । त्यहीँ छलफल हुन्छ, सकेसम्म कतैबाट विरोध नआउनेगरी केन्द्रहरू सिफारिस गरिन्छन्,’ यादवले भने ।

परीक्षा केन्द्रहरू सिफारिसको निर्णय गर्नुअघि नगर प्रमुख आचार्यले प्रमुख जिल्ला अधिकारी रिजाललाई केही परीक्षा केन्द्रहरूबारे चासो व्यक्त गरेको र आफूले नगर प्रमुखको भूमिका परीक्षा केन्द्र तोक्नेमा नरहेको बताएको प्रजिअले मिसन टुडेसँग बताएका छन् । यसले पनि नगर प्रमुख र प्रजिअबीच परीक्षा केन्द्रका लागि कुरा भएको तर कुरा नमिलेपछि नगर प्रमुखले आरोप लगाएको स्पष्ट हुन्छ ।

यसरी तोकिन्छ एसईई परीक्षा केन्द्र

एसईईको परीक्षा केन्द्र तोक्नका लागि जिल्लामा एउटा जिल्ला परीक्षा समन्वय समिति रहन्छ । जसले काम गर्ने विधि माध्यमिक शिक्षा उत्तीर्ण (एसईई) परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८(संशोधन सहित) रहेको छ । जिल्ला परीक्षा समन्वय समितिमा जिल्लाका प्रमुख जिल्ला अधिकारी संयोजक, जिल्लामा रहेका तीनवटै सुरक्षा निकायका प्रमुखहरू सदस्य र शिक्षा विकास तथा समन्वय इकाइको प्रमुख सदस्य सचिव रहन्छन् ।

यो समितिले निर्देशिकाका अलावा परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०, सानोठिमी भक्तपुरले जारी गरेका परिपत्रका आधारमा पनि काम गर्छ । यसवर्ष पनि माघ २ गते परीक्षा नियन्त्रण कार्यालयले एक परिपत्र जारी गरेको थियो । त्यसैका आधारमा बाँके जिल्लाको जिल्ला परीक्षा समन्वय समितिले माघ २९ गते बैठक बसी परीक्षा केन्द्रहरू तोकी परीक्षा नियन्त्रण कार्यालयमा सिफारिस गरी पठाएको छ । कार्यालयले सिफारिसमा भएका परीक्षा केन्द्रहरू नै सदर गरी पठाउने सम्भावना बढी हुने सम्बद्ध कर्मचारीहरू बताउँछन् ।

बाँके जिल्लामा ३६ वटा परीक्षा केन्द्र तोकिएकोमा कोहलपुर नगरपालिकामा मात्रै १० वटा परीक्षा केन्द्रहरू तोकेर सिफारिस गरिएको छ । यसरी परीक्षा केन्द्रहरू तोक्दा विद्यार्थीहरूको सङ्ख्या, विद्यालयदेखि परीक्षा केन्द्रसम्मको दुरीलाई मुख्य आधार बनाइने गरिएको छ । जसमा आवश्यक परेको बेला शिक्षा विकास तथा समन्वय इकाइका कर्मचारी र सुरक्षा निकायहरूले स्थलगत निरीक्षण गरेर परीक्षा केन्द्र तोक्ने गर्दछन् । समितिको संयोजक रहने प्रमुख जिल्ला अधिकारीले इकाइले तयार गरेको सुचीमा बैठकमा छलफल गर्ने, आवश्यक परेको ठाउँमा हेरफेर गर्ने र सहमति गरी सदर गर्ने काम गर्छन् ।

यस वर्ष बाँकेमा पनि यसैगरी केन्द्रहरू तोकिएका शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख लोकबहादुर शाही बताउँछन् । उनले केन्द्र तोक्दा विद्यालय, शिक्षक वा जनप्रतिनिधि कसैसँग समन्वय गर्नुपर्ने व्यवस्था निर्देशिकामा नरहेकोले त्यो गर्नुपर्ने आवश्यकता पनि नरहेको बताए । ‘निर्देशिकामा कहीँ पनि जनप्रतिनिधिसँग वा स्थानीय तहसँग वा शिक्षकसँग समन्वय गर्नु भनेको छैन । हामीले विद्यार्थीको तथ्यांक हेर्ने हो, पायक पर्ने ठाउँ हेर्ने हो र सुरक्षाको व्यवस्थाको सहजता हेर्ने हो,’ शाहीले मिसन टुडेसँग भने ।

तर, माघ २ गते परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको परिपत्रमा अघिल्लो वर्ष केन्द्र रहेको विद्यालयमा उही विद्यालय यसवर्ष पनि नपर्नेगरी परीक्षा केन्द्र तोक्नु भनेको छ । जुन कुरा कोहलपुरसहित बाँकेमा कार्यान्वयन भएन । यसमा कर्मचारीहरूले परिपत्रमा राखिएको ‘सम्भव भएसम्म’ भन्ने शब्दको आड लिएका छन् । ‘सबै केन्द्रहरू उलटपुलट गर्न त सम्भव नै हुँदैन । परिपत्रले पनि सम्भव भएसम्म भनेको छ । त्यसकारण हामीले सम्भव भएका विद्यालयहरू नदोरिने गरी गरेका छौँ । सबैलाई फरक केन्द्र गर्न सकिएन,’ इकाइ प्रमुख शाहीले मिसन टुडेसँग भने ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले आफूले नीजि तथा संस्थागत विद्यालयको केन्द्र सामुदायिक विद्यालयमा र सामुदायिक विद्यालयको केन्द्र नीजि तथा संस्थागत विद्यालयमा गर्न सुझाव दिएपनि त्यसलाई नमानिएको कोहलपुरमा शनिबार आयोजित एक कार्यक्रममा बताएका थिए । इकाइ प्रमुख शाहीका अनुसार नीजि तथा संस्थागत विद्यालयमा पर्ने केन्द्रहरू साटफेर गर्न पनि प्राविधिक हिसाबले सम्भव नभएकोले त्यसो गर्न नसकिएको बताउँछन् । शाहीले भने, ‘विद्यार्थी सङ्ख्या यति बनाउनु भनेर तोकेको हुन्छ । त्यसमा नीजि र सरकारी अलग अलग गर्ने हो कसरी मिलाउन सकिन्छ ? त्यो व्यहारिक हुन सक्दैन ।’

कोहलपुरका मेयरलाई प्रश्न : प्रमाण कहिले सार्वजनिक गर्नुहुन्छ ?

यही फागुन १६ गते कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले सामाजिक सञ्जाल फेसबुकमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई विभिन्न संगीन आरोप लगाए । नगर प्रमुख आचार्यले प्रजिअ रिजाललाई एसईई परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदाबाजी गरेको, राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति भएर नैतिक रूपमा भ्रष्ट भएको र केही गलत प्रवृत्तिका पात्रसँगको साँठगाँठ र हिमचिम गरेको आरोप लगाएका थिए ।

अधिकारको चरम दुरुपयोग गरि सौदाबाजी गर्दै विभिन्न विद्यालयका परीक्षा केन्द्रहरू हेरफेर गर्ने बहानामा अनुचित चलखेल गरेको नगरप्रमुख प्रमुख आचार्यको दाबी थियो । स्थानीय सरकारका प्रमुख जस्तो गरिमामय पदमा रहेका नगर प्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत संगीन आरोप लगाएपछि हाल बाँकेबाट सरुवा भइसकेका प्रजिअ रिजालले नगर प्रमुखलाई चुनौती दिँदै भनेका थिए, ‘प्रमाण लिएर आइज’ ।

नगर प्रमुख आचार्य र प्रजिअ रिजालबीचको यो विषय चर्चाको शिखरमा छ । उनले फेसबुकमा लेखेको चार दिन बितिसकेको छ । रिजालले चुनौती दिएजस्तै नगर प्रमुख आचार्यले प्रमाण पेश गर्न सकेका छैनन् । यस विषयमा मिसन टुडे दैनिकले नगर प्रमुख आचार्यलाई प्रश्न सोध्यो ? नगर प्रमुख ज्यू, प्रमाण कहिले सार्वजनिक गर्नुहुन्छ ?

नगर प्रमुख आचार्यले जवाफ दिँदै भने, ‘प्रमाणको विषयमा त मैले मुख्यमन्त्री ज्यूलाई साक्षी राखेर भनिसकेको छु । उहाँ (तत्कालीन सिडीओे रिजाल)ले नगरपालिकाको निर्णयविरुद्ध एउटा विद्यालयमा भएको परीक्षा केन्द्र अर्को विद्यालयमा लिएर राखिदिनु भएको छ । त्यो भन्दा ठूलो प्रमाण के हुन्छ ?’

तपाईँले भने जस्तै प्रजिअ रिजाल भ्रष्ट नै हुन् त भन्ने मिसन टुडेको प्रश्नमा उनले भने ‘मैले धेरै ठाउँमा भनिसकेको छु । फेसबुकमा जे लेखेको छु । त्यही अडानमा कायम छु । तपाईँलाई अहिले त्यो भन्दिनँ ।’ रिजालको अध्यक्षतामा बसेको परीक्षा केन्द्र निर्धारण समितिको निर्णयले कोहलपुरमा आतंक सिर्जना गरेको नगर प्रमुख आचार्यले जिकिर गरे ।

यस्तै आइतबार बसेको कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकको निर्णयका विषयमा प्रश्न गर्दा नगर प्रमुख आचार्यले नगर प्रमुखका हैसियतमा आफूले फेसबुकमा लेखे पश्चात् उत्पन्न सम्पूर्ण परिस्थितिका विषयमा कार्यपालिकालाई बिफ्रिङ गरेको जानकारी दिए । उनका अनुसार प्रजिअ रिजालको निर्णयले कोहलपुर नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि सुरुवात गरेको रचनात्मक र उत्कृष्ट निर्णयलाई चुनौती दिएको र यो विषय सच्चिनै पर्छ ।

कार्यपालिका बैठकले कोहलपुर नगरपालिकाले कायम गरेका र सिडीओेको अध्यक्षतामा बसेको बैठकले उल्ट्याएको निर्णयका विषयमा पुनःविचार गर्न अनुरोध गर्ने निर्णय गरेको नगर प्रमुख आचार्यले जानकारी दिए । ‘अहिले भएको परीक्षा केन्द्र हेरफेरको जुन विषय छ । उक्त निर्णय सच्याउनको लागि अनुरोध गर्ने निर्णय भएको छ’ नगरप्रमुख आचार्यले मिसन टुडेसँग भने ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार