नेपालगन्ज ।
आज सोमबारबाट सुरु गर्ने घोषणा गरिएको ल्ुम्बिनी कप महिला फुटबल प्रतियोगिता करिब दुई महिनापछि सरेको छ । आयोजकले केही प्राविधिक कारणले प्रतियोगिता २०८२ साल वैशाख ५ देखि १५ गतेसम्म सञ्चालन गर्नेगरी सार्नुपर्ने अवस्था आएको जानकारी दिएको हो ।
प्रतियोगिता सुरु गर्ने भनेर घोषित मितिभन्दा एक दिनअघि आयोजित पत्रकार सम्मेलनमा आयोजक अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले मैदानको स्तरोउन्नतीका लागि समय लाग्ने भएको, बाँकेको घरेलु टिमको लागि प्रशिक्षणको काम पूरा नभएको र सहभागी हुने टिमको टुंगो नलागिसकेकोले प्रतियोगिता सार्नु नै उपयुक्त हुने निष्कर्षमा पुगिएको जानकारी दिए ।
यसका साथै कोहलपुरमा आयोजित मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको मिति आफूहरू भन्दा पछि घोषणा गरिएपनि जुध्न गएकोले पनि केही समयपछि प्रतियोगिता गर्ने निर्णय गरिएको उनले बताए । शाहले अब लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको मिति जुध्ने गरी बाँके जिल्लामा फुटबलका अरु प्रतियोगिताहरू नगरिदिन पनि शाहले अनुरोध गरेका छन् ।
माघ महिनामा मेयर कप फुटबल र निजी विद्यालयहरूको प्रतियोगिता भएका कारण नेपालगन्ज रंगशालाको स्तरोन्नति गर्नुपर्ने भएको र त्यसका लागि पनि समय लाग्ने भएको शाहले बताए । ‘हामी प्रतियोगिता आयोजनामा गुणस्तरमा सम्झौता नगरौँ भन्ने पक्षमा छौँ । त्यसकारण पनि मैदानलगायत अन्य तयारी गुणस्तरीय होस् भन्ने हेतुले काम गरिरहेका छौँ,’ शाहले भने ।
अन्तरालले बाँके जिल्ला फुटबल संघको सहकार्यमा आयोजना गर्न लागेको प्रतियोगिताका लागि एक करोड ३५ लाख खर्च हुने अनुमान गरिएको र अहिलेसम्म सरकारी निकाय र निजी क्षेत्रबाट आर्थिक सहयोगको लागि आश्वासन प्राप्त भएको शाहको भनाइ छ । यद्यपि महिला फुटबललाई लिएर सरकार तथा निजी क्षेत्रको ध्यानाकर्षण हुन नसकेको उनले बताए ।
प्रतियोगितामा नेपालका ६ र छिमेकी राष्ट्र भारतका २ टिम गरी ८ टिमको सहभागिता रहने शाहले जानकारी दिए । जसमा एउटा टिम बाँके जिल्लाकोसहित कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई प्रतिनिधित्व गर्ने टिम सहभागी हुने उनले बताए । बाँकी टिमहरूमा विभागीय तथा ‘ए’ डिभिजन खेल्ने क्लबहरूको सहभागिता गराउने प्रयास भइरहेको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्