बुटवल ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई दुर्घटनाबाट जोगाउन सबै अटाउने मौलिक व्यवस्था ल्याउनु पर्ने बताएका छन् । राजालाई अभिभावकीय जिम्मेवारीमा राख्ने गरी राजादेखि माओवादीसम्म अटाउने व्यवस्था ल्याउनु पर्नेमा उनले जोड दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार बुटवलमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले गणतन्त्रको नाममा देश लुटिएको बताए । गणतन्त्रको नाममा कांगे्रस, कम्युनिस्टहरूले देशलाई कंगाल बनाएको आरोप लगाउँदै देशलाई निकास दिन यो व्यवस्था बदल्नु पर्ने बताए ।
सांसदसमेत रहेका अध्यक्ष लिङ्देनले सांसदलाई पूर्णसमानुपातिक बनाउन पर्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था गर्नुपर्ने उनको तर्क छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री दुई कार्यकाल भन्दा प्रधानमन्त्री हुन नपाउने कानुनी रूपमा व्यवस्था हुनुपर्ने बताए ।
संघीयता खारेज गर्नुपर्ने बताउँदै धेरै र महंगा सांसद जनताले पाल्न नसक्ने बताउँदै उनले प्रदेश खारेज गर्नुको अर्को कुनै विकल्प नभएको उल्लेख गरे । विदेशीसँग हात थापेर प्रदेश पाल्न सकिँदैन । जनताको चाहाना विपरीत ल्याइएको संघीयता भित्रको प्रदेश संरचनाबाट कांगे्रस, कम्युस्टिहरूलाई कार्यकर्ता पाल्न र भ्रष्टाचार गर्न सजिलो भएको उनले बताए ।
राष्ट्रिय सभा, जिल्ला समन्वय खारेज गरेर सांसदहरूको प्रतिनिधि सभाको सांसद सङ्ख्या घटाउनु पर्ने उनको धारणा थियो । उनले कांगे्रस, एमालेको सरकारले संविधान संशोधन गर्न नसक्ने दाबी गर्दै भ्रष्टाचार र भ्रष्टचारीलाई जोगाउन रातारात बनाइएको सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको बताए ।
अध्यादेशबाट देश चलाउन नपाइने बताउँदै अध्यादेश पास गर्नका लागि कांगे्रस, एमालेले सांसद खरिदमा लागेको उनले आरोप लगाए । कांगे्रस, कम्युनिस्टबाट देश बन्छ भन्नु मूर्खता भएको बताउँदै कांगे्रस, एमाले नसच्चिए उनीहरू सक्किने उनको भनाइ थियो । देशलाई अगाडी बढाउन यो व्यवस्था परिवर्तन गरी राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गर्नुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेय, धुर्वबहादुर प्रधान, महामन्त्री धवलशमसेर राणाले जनताको अवस्था परिवर्तन गर्न यो व्यवस्था परिवर्तन गर्नुपर्ने बताए । देशले राजासहितको प्रजातन्त्र खोजेको बताउँदै राजा नभएर राजसंस्था चाहिएको उनीहरूले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र कार्कीले कांगे्रस, एमालेबाट देशमा परिवर्तन सम्भब नहुने बताए । उनले अब राजा बिनाको देश कल्पना पनि गर्न नसकिने बताउँदै अपमान गरेर फालिएका राजा नआउँदासम्म देशले निकास नपाउने जिकिर गरे ।
उनले यो व्यवस्था बाधक रहेको बताउँदै राजासहितको प्रजातन्त्र आवश्यक रहेको उल्लेख गर्दै संघीयता खारेज गर्नुपर्ने बताए । प्रदेश खारेज गरेर शिक्षा, स्वास्थ्य निःशुल्क गराउन सकिने तर्क गर्दै राजासहितको प्रजातन्त्र ल्याउन र प्रदेश खारेज गर्न सबै राष्ट्रबादी शक्ति एक ठाउँमा हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्